सहमतीय सरकारको संभावना सकियो

काठमाण्डु टुडे २०७० माघ १९ गते १७:०८ मा प्रकाशित

New Banesworeकाठमाण्डु, १९ माघ – संसदमा प्रतिनिधित्व गर्ने सबै दल अब बन्ने सरकारलाई समर्थन गर्न तयार नभएपछि सहमतीय सरकार गठनको संभावना सकिएको छ ।

व्यवस्थापिका संसद बैठकपछि बसेको सर्वदलीय बैठकमा सबै दल सरकारमा सहभागी हुन वा सरकारलाई समर्थन गर्न तयार नभएपछि सहमतीय सरकार गठनको संभावना सकिएको हो । बैठकपछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमती बन्नुमा कुनै पनि दलको दोष नभएको बताए ।

उनले आफूहरुले अन्तिम समयसम्म पनि सहमतिका लागि प्रयास गरेको भन्दै सहमति हुन नसक्नुमा कोही पनि दोषी नभएको बताए ।

यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतीय सरकार गठनको संभावना पहिले पनि नभएको र अहिले पनि नरहेको भन्दै अब बहुमतीय पद्धती सुरु हुने बताए ।

खनालले एमालेले अहिलेसम्म ठोस निर्णय नगरिसकेको भन्दै अरु दलको निर्णय हेरेर एमालेले निर्णय गर्ने बताए । उनले कांग्रेस सभापति कोइरालाको नेतृत्वमा बन्ने सरकारलाई एमालेको समर्थन भएपनि सम्माजनक हैसियत नपाए सरकारमा नजाने बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने आफ्नो पार्टी सरकारमा नजाने र गुण र दोषका आधारमा अब बन्ने सरकारको समर्थन वा विरोध गर्ने बताए ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सभापति सुशील कोइरालाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने प्रतिबद्धता पत्र १६ दलबाट पाएको भन्दै उनकै नेतृत्वमा सरकार बन्ने बताए ।

कोइरालालाई भोट पनि हाल्दैनौं, नयाँ उम्मेदवार पनि ल्याउँदैनौं : प्रचण्ड

बैठकपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमती नहुनुको मुख्य कारण कांग्रेस र एमाले नै भएको दावी गरे ।

उनले प्रमुख दुईदलबीच अझै धेरै कुरा मिल्न बाँकी रहेको भन्दै उनीहरुले धेरै छलफल गर्नुपर्ने बताए । उनले आफ्नो पार्टीले सरकारमा जाने जनादेश नपाएको भन्दै प्रतिपक्षमै बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने र संविधान निर्माणमा केन्द्रीत हुने बताए ।

‘हामी सुशील कोइरालालाई भोट पनि हाल्दैनौं र नयाँ उम्मेदवार पनि ल्याउँदैनौं,’ प्रचण्डले भने, ‘अहिले सरकार भन्दा पनि संविधान निर्माण हाम्रो प्राथमिकता हो । हामी त्यसमै केन्द्रित हुन्छौं ।’

सहमतीय सरकार गठनको संभावना सकिएसँगै संसद सचिवालयले संविधानको धारा ३८ को उपधारा १ बमोजिम सरकार बन्न नसकेको जानकारी राष्ट्रपतिलाई गराएको छ । संसद सचिवालयले  राष्ट्रपतिलाई सहमति हुन नसकेको जानकारी गराएपछि बहुमतीय सरकारका लागि राष्ट्रपति बाट चाल्ने कदम पछि नयाँ प्रक्रिया सुरु हुने नेताहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us