खोरेतको महामारीले झन्डै पाँच प्रतिशतले दूध उत्पादनमा कमी

काठमाण्डु टुडे २०७० माघ १८ गते १०:५३ मा प्रकाशित

बनेपा, १८ माघ– काभ्रेमा खोरेत रोगको महामारी देखिएपछि झन्डै पाँच प्रतिशतले दुग्ध उत्पादनमा कमी आएको छ ।

कात्तिकको अन्तिम सातादेखि काभ्रेमा देखिएको खोरेत रोगबाट ग्रसित २७३ वटा दुहुना गाईबाट दैनिक करिब १० लिटर र २ सय ८६ वटा दुहुना भैँसीबाट आठ लिटर दुग्ध उत्पादनमा कमी आएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

यी पशु बिरामी भइसकेकाले यसबाट दुग्ध उत्पादन घट्ने निश्चित भएको पशु सेवा कार्यालयकी प्रमुख डा सम्झना काफ्लेले भताए ।

उनकाअनुसार दूधको उत्पादनमा देखिएको ह्रासले दैनिक २४ लाख १२ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघका कोषाध्यक्ष दीपक पौडेलले खोरेतको महामारी देखिएका गाविसमा दुग्ध उत्पादनमा ह्रास आएकोे उल्लेख गर्दै रोग नियन्त्रणका लागि सरकारलाई विशेष कार्यक्रम ल्याउन माग गरे ।

‘काभ्रेका जुनजुन गाविसमा खोरेत रोग देखिएको छ, त्यहाँत्यहाँ दुग्ध पदार्थको उत्पादन घट्ने क्रम रहेको छ’ उनले भने ।

खोरेत रोगको सङ्क्रमण नियन्त्रणमा नआए दुग्ध संकलनमा वृद्धि हुने सम्भावना न्यून रहको र निजीस्तरबाट सञ्चालित हिमालय दुग्ध चिस्यान केन्द्र कुशादेवीका सञ्चालक रवीन्द्र हुमागाईंले बताए ।

उनका अनुसार दुई लिटर दुग्ध उत्पादन गर्ने कृषकले सो चिस्यान केन्द्रमा दुग्ध संकलन गर्न बन्द गरेका छन् । ‘मैले पहिले करिब २४ लिटर दुग्ध सङ्कलन गर्थें तर अहिले बीस हजार १२ लिटर मात्रै सङ्कलन गर्ने गरेको छु’ सञ्चालक हुमागाइँले भने ।

कुशादेवी गाविसलगायत जिल्लाका २० वटा गाविसमा देखिएको खोरेत रोगबाट झन्डै एक हजार पाँचसय पशु बिरामी भएको देखिएको छ तर पशु कार्यालयले अझै सबै तथ्यांक नआएको जनाएको छ ।

काभ्रेमा भएको पशुपालनबाट दैनिक करिब तीन लाख लिटर दूधको उत्पादन हुँदै आएको छ । सोमध्ये एक लाख लिटर दूध आन्तरिक रूपमा खपत भएको छ भने अन्य काठमाण्डुमा निर्यात हुँदै आएको छ ।

खोरेत रोगबाट काभ्रेमा मरेका झन्डै ६५ वटा पशुबाट करिब रु २२ लाख ७५ हजारको क्षति भएको पशु कार्यालयले प्रारम्भिक अनुमान गरेकोसमेत जनाइएको छ । सो रोगबाट गाईभँैसी,

पाडापाडी, बाख्रा र बंगुर मरेका थिए । खोरेत रोगको महामारीलाई नियन्त्रणमा ल्याउन पशु सेवा विभाग क्षेत्रीय निर्देशनालय र जिल्ला पशु सेवा कार्यालयले यही माघ १४ गतेदेखि २० गतेसम्म घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us