पार्टी सप्रिन्छ भने आमा र म शिवनगरमा गाई पालेर बस्न तयार छौं : प्रकाश

काठमाण्डु टुडे २०७० माघ १६ गते ९:२७ मा प्रकाशित

Praksdh-dahalप्रकाश दाहाल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र पुत्र हुन् ।

नेपाली सञ्चारमाध्यमले खुवै पछ्याइरहेका उनले सामाजिक सञ्चालहरुमा पनि राम्रो स्थान पाइरहेका हुन्छन् ।

विभिन्न कारणले चर्चामा आइरहने उनले केन्द्रीय समिति बैठकमा केही नेताले पार्टीको हारमा प्रकाशको समेत हात रहेको बताएपछि केही दिनअघि विज्ञप्ति निकालेर प्रचण्डको सचिवालय छाडेको घोषणा गरे ।

बेलाबेलामा विवादमा परिरहनुको कारण, आगामी दिनको उनको योजना, पारिवारिक र राजनीतिकलगायत वियषयमा केन्द्रित रहेर प्रकाशसँग काठमाण्डु टुडेका लागि दयानिधि भट्टले गरेको कुराकानी :

तपाईंले केही दिनअघि एउटा विज्ञप्तिमार्फत पार्टी हेर्डक्वाटर छाडेको  घोषणा गर्नुभयो किन ?

राजनीतिमा लागेदेखि पार्टी हेर्डक्वाटर छाडेसम्मको अवस्थाबारे मैले विज्ञप्तिमै प्रकाश पार्ने कोसिस गरेको छु । म २०५८ सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भएको हुँ । त्यसयता अधिकांश समय केन्द्रीय कार्यालयमा रहेर काम गरें ।

यो अवधिमा मैले पार्टीमा आफ्नो क्षमताले भ्याएसम्म योगदान दिएको छु । जारी केन्द्रीय समिति बैठकमा मेरो बारेमा केही नेताहरुले कुरा उठाउनुभएछ, मेरो नाम जोडेर बुवाको आलोचना भएको थापा पाएपछि केन्द्रीय कार्यालय छाड्न उपयुक्त हुने ठानेर यो निर्णय लिएको हुँ ।

के कुरा उठेछ तपाईंका बारेमा केन्द्रीय समिति बैठकमा ?

प्रकाश केन्द्रीय कार्यालयमा बसेका कारण पार्टी हारेको हो भन्ने कुरा उठाइएको रहेछ । मेरो उद्देश्य पार्टी अध्यक्षलाई सहयोग गर्ने हो । त्यति हँदाहुँदै पनि केन्द्रीय समितिमा कुरा उठेपछि त्यहाँ बसिरहन उपयुक्त ठानिन र यो निर्णय लिएँ ।

केन्द्रीय समितिमै कुरा उठ्नुमा केही न केही कारणले त काम गरेकै होला, तपाईंमाथि लागेका सबै आरोप झुठा हुन् त ?

पछिल्लो समय मबाट केही कमीकमजोरी र सीमा रहन गए । जुनकुरामा मैले विभिन्न माध्यमबाट पटकपटक स्वीकार गर्दै पनि आएको छु । जबसम्म केन्द्रीय समितिमा जसले प्रश्न उठाउनुभयो, उहाँहरुले किन त्यस्तो भन्नुभयो भन्नेबारेमा मलाई थाहा हुने कुरा भएन ।

मलाई लाग्छ कि जसले कुरा उठाए उनीहरुले आफ्नो हारको वास्तविक कारण ढाकछोप गर्न यस्तो कुरा गरे होलान् । के त्यसो भए जितेको भए मलाई उनीहरुले मलाई जस दिन्थे त ? यस्तो आरोपमा कुनै तुक छैन ।

तपार्ईं आफैंलाई चाहिं पार्टी हारमा आफ्नो गतिविधि पनि धेरथोर रुपमा जिम्मेवार छ भन्ने लाग्छ कि लाग्दैन ?

मैले अघि पनि भनिसकें म कुनै रहरले हेर्डक्वाटरमा बसेको होइन । पार्टीले निर्णय नै गरेर हेर्डक्वाटरमा राखेको हो । करिब १५ वर्षदेखि म जस्तोसुकै संकटका बेलामा पनि पार्टीले खटाएको ठाउँमा काम गर्दै आएको सबैलाई थाहै छ । तत्कालीन शाही सेनाले बम वर्षा गर्ने बेलादेखि बुवा प्रधानमन्त्री भएका बेलामा समेत म सँगै छु । के म बिनायोगदान जसरी सत्तामा पुगेपछि मात्र मोजमस्ती गर्न बुबासँग बसेको मान्छे हुँ र ? Prakshs4पार्टी हार्नुमा पार्टी नेता र कार्यकर्ताका क्रियाकपाल जिम्मेवार छ । पार्टीमा ठेकेदारी प्रथा बढ्दै गएको छ । के यसो हुनुमा पनि प्रकाश दाहाल जिम्मेवार छ ? मेले त आफूले गरेको कमजोरी स्वीकार गरिसकेको छु । त्यसका लागि कारबाहीसमेत भोगिसकेको हुँ । मेरो बारेमा टिप्पणी गर्नेहरुलाई आग्रह छ कि अरुका बारेमा कुरा उठाउनुअघि आफ्नो अनुहार पनि एकपटक ऐनामा हेर्नुस् । अरुलाई गाली गरेर कोही पनि आफू रुपान्तरण हुने होइन । पार्टी हार्नुमा नेतादेखि कार्यकर्ता सबै जिम्मेवार छन् ।  यस्तो बेलामा एक अर्का माथि दोष थोपरेर आफू पानीमाथिको ओभानो भन्न छाडेर सबै रुपान्तरण हुनुको विकल्प छैन । त्यसो हुँदा हामी सबै र पार्टीले जित्छ, देश र जनताले जित्छ ।

तपाईंले व्यक्तिगत जीवनमा गरेको कमजोरीले पार्टी र समाजमा केही पनि असर गरेको छैन त ?

मान्छेबाट कमजोरी हुन्छ , संसारमा हरेक मानिसले आफ्नो जीवनमा सानो ठूलो कमजोरी गरेकै हुन्छ । तर एकपटक कमजोरी गरेको मान्छे त्यसपछि कामै लाग्दैन भन्ने हो भने कोही पनि मानिसको काम लाग्दैन होला । सयमा सय दूधले नुहाएको कोही हुन्छ ? यद्यपि तपाईंले उठाएको मेरो नितान्त व्यक्तिगत मामिला हो । यसमा म केही भन्न चाहान्न । मेरो कारणले पार्टीलाई थोरै घाटा भएको होला, तर मेरै कारणले पार्टी हार्‍यो भन्ने गलत कुरा हो ।

तपाईको गल्तीबाट बुबासहित परिवारका अरु सदस्यमाथि पनि प्रश्न उठ्ने गरेका छन्, यो त पक्कै राम्रो नलाग्ला तपाईंलाई ?

मेरो गल्तीमा मेरो परिवारको के दोष छ र ? नेपालको राजनीतिमा प्रचण्डको प्रभाव र नेतृत्वलाई कसरी कमजोर बनाउने भन्ने ठूलो डिजाइन हुँदै आएको छ । प्रचण्डलाई राजनीतिक, सांगठनिक र वैचारिक हिसाबले कमजोर पार्ने डिजाइनअन्तर्गत मलाई नेपाली मिडियाले हतियार बनाएका छन् । आफूले गरेको गल्तीमा त मैले कारबाही भोगेको छु । आन्तरिक कारबाहीको चरण पार गरेर यहाँ आइपुगेको छु । अब त्यस्तो प्रकारको गल्ती दोहोर्‍याउँदिन र पार्टी छाडेर कतै जान्न ।

तपाईंलाई हतियार बनाइयो कि तपाईं आफैंले मिडियाका लागि मसला जुटाइदिनुभयो ?

मलाई त्यस्तो लाग्दैन । संसारभर कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा प्रचण्डको नेतृत्वमा यो सफलताको दिशामा अघि बढ्यो । यो कुरा नेपालको विकास र परिर्वतन नचाहने देशी विदेशी शक्तिलाई मन परेको छैन ।

नेपालका अधिकांश ठूला मिडिया ती शक्तिको प्रभावमा छन् । प्रचण्ड कमजोर नभएसम्म आफ्नो राजनीतिक प्रभाव बढाउन नसक्ने देखिसकेपछि यो खेल भइरहेको छ । मेरो कारणले बुबामाथि प्रहार भयो भन्ने कुरा विल्कुल झुठ हो  । पार्टी तेस्रोमा झरे पनि समकालीन नेपालमा प्रचण्डको लेवलको नेता कोही छैन । मेरो बुबा भएर यो भनेको होइन ।

यो कुरा हामीले होइन माओवादीका कट्टरविरोधीलाई सोध्नुस् न यही भन्छन् । नेपालको इतिहास नै त्यस्तै छ, राम्रो नेता कोही जन्मियो भने सके भौतिक रुपमै र नसके अरु हिसाबले सिध्याउने खेल हुँदै आएको छ । प्रचण्ड सिध्याउने विरोधीको हत्कण्डाको शिकार मात्र मलाई बनाइएको हो ।

तपाईंको व्यक्तिगत मामला नै सही तर बिना मगरसँगको सम्बन्धका बारेमा केही भन्दिनुस न ?

हामी सगरमाथाबाट फर्किएपछि एउटा साप्ताहिक पत्रिकामा हाम्रोबारेमा नभएको समाचार आयो । सगरमाथा अभियानमै रहेका टिमका साथीमध्ये केहीले काल्पनिक समाचार बनाएर प्रकाशित गरेका हुन् । त्यसले हाम्रो पारिवारभित्र ठूलो विवाद र तरंग ल्यायो । मैले बुबा, आमा र श्रीमतीसहित सबैलाई त्यस्ता कुरामा सत्यता नरहेको र षड्यन्त्र भएको बताएँ । तर सृजना (श्रीमती) ले मानिनन् । Praksh-2उनले छोराको कसम मसँग बस्नै नसक्ने बताइन् र सम्बन्ध विच्छेद गर्ने बताएर घर छाडेर गइन् । बिनाको घरपरिवारमा पनि मेरैजस्तो समस्या आएको थियो । त्यसपछि हामीले यो कदम चालेको हो । तर मैले प्रक्रियामा कमजोरी गरें । उनले डिभोर्स गर्छु भनेपछि मैले दिएको भए हुने थियो । हडबडाएर गरेको गल्तीको सजायँ मेले भोगिसकेको छु । कसैले पनि रहरले गल्ती गर्दैन । मानिसको जीवनमा गल्तीका लागि बाध्यता आउँछ । यो कुरा मैले बारम्बार गर्दै आएको छु र अब त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रण गरेको छु ।

विज्ञप्तिमा हेर्डक्वाटर छाडे पनि पार्टीमै सक्रिय हुने बताउनुभएको रहेछ, अब के गर्नुहुन्छ ?

मेरो जीवन र सम्पत्ति भनेको पार्टीबाहेक केही छैन । यो पार्टी निर्माण गर्न हामीले ठूलो मात्रामा रगत पसिना बगाएका छौं । पार्टी निर्माणका क्रममै हाम्रो व्यक्तिगत सम्पत्ति बेचिएको हो । यो कुरा पार्टीमा सबैलाई थाहा छ । कतिपय कमरेडले प्रकाश र सीता दाहाल पुख्र्यौली सम्पत्तिमा गएर खेतीपाती गरेर बसे हुन्छ भन्नेहरु हाम्रै पार्टीभित्र पनि छन् ।

के त्यसो भन्नेहरुले हाम्रो पुख्र्यौली सम्पत्ति देखाउन सक्छन् ? चरम संकटकालको समयमा तपाईंका छोराछोरीहरु कहाँ के गर्दै थिए हामीलाई थाहा छैन ? हामी त जीवन हत्केलामा खारेर युद्धमा लडिरहेका थियौं । अहिले पनि तपाईंका छोराछोरी आन्दोलनमा छन् कि व्यापारमा छन् ? छातिमा हात राखेर भन्नुस् न ।

तपाईंकै पार्टीभित्रका मान्छेहरुले पनि प्रकाश र सीता दाहाल तपाईंहरुको पुख्र्यौली थलो चितवनको शिवनगरमा गाई पालेर बस्नुपर्छ, त्यसो गर्‍यो भने पार्टी राम्रो हुन्छ भन्छन्, के त्यसको लागि तयार हुनुहुन्छ ?

यदी आमा र म शिवनगर गएर गाई पालेर बस्दा पार्टीलाई फाइदा पुग्छ र जनताको हितमा हुन्छ भने हामी त्यो गर्न तयार छौं । तर त्यसो भन्नेहरुले पनि एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुपर्‍यो । यो पार्टीमा सबैभन्दा बढी योगदान गर्ने महिला कोही छ भने सीता दाहाल हो । किनभने, कसैको पनि सफलताका पछाडि सकैन न कसैले सहयोग गरेको हुन्छ  । बुबालाई यो तहमा ल्याउन आमाको ठूलो भूमिका छ ।

सीता दाहाल नभइदिएको प्रचण्ड प्रचण्ड हुने थिएनन् र प्रचण्ड नभएको भए नेपालमा गणतन्त्र आउने थिएन । त्यसैले सीता र प्रकाशतिर मात्रै औंला ठड्याउनु भनेको आफ्नो आङमा भैंसी नदेख्ने अर्काको टाउकोमा जुम्रा देख्ने प्रवृत्ति हो । मैले अघि पनि भनें यदी पार्टीले म र आमालाई चितवन पठाउँदैमा पार्टी राम्रो हुन्छ, नेपालमा परिवर्तन संस्थागत हुन्छ, घाइते, बेपत्ता र सहिदका सपना पूरा हुन्छन् भने हामी त्यसका लागि तयार छौं । पार्टीभन्दा बाहिर हाम्रो केही छैन । अन्तिम श्वास रहँदासम्म पार्टीमै रहन्छौं ।

तपाईंले केही दिनअघि फेसबुकमा केही साथीहरुसँग मिलेर खेतीपाती गर्न लागेको सार्वजनिक गर्नुभएको थियो, के गर्न लाग्नुभयो ?

पार्टीको हेटौंडा महाधिवेशनले ल्याएको कार्यदिशा अनुसार सानो व्यवसाय गर्ने सोचमा छु । अध्ययन गरिरहेको छु । केही विज्ञहरुसँग भेटेर सल्लाह लिने काम गरें । उनीहरुले कृषि र पशुपालनमा राम्रो हुने सुझाव दिएका छन् । अर्ग्यानिक तरकारी खेती, माछा पालन, बाख्रा पालन वा बंगुर पालनमध्ये एउटा काम गर्ने सोचमा छु । त्यसका लागि केही ठाँउमा भाडामा लिन जग्गा पनि हेरें । हामी दुई/तीन जना साथीहरु मिलेर यो काम गर्न खोज्दैछौं ।

तपाईंले निकालेको विज्ञप्तिमा सानै उमेरदेखि राजनीतिमा लागें जसले गर्दा पढाई पनि बिग्रियो, भन्नुएको रहेछ । यति धेरै दुःख गरियो तर दुःख अनुसारको जस लिन सकिएन भन्ने लाग्दैन ?

हामी केही लिने उद्देश्यले पार्टीमा लागेको होइन ।  त्यसैले जस पाइएन भन्ने चिन्ता लाग्दैन । नेपालबाट राजतन्त्र उन्मुलन गर्न र मुलुकको आमुल परिवर्तन गर्न राजनीतिमा लागेको हो । कम पढेकै कारण हाम्रै कयौं नेताले पनि मलाई हेप्ने गरेका छन् । तर मलाई गर्व छ, मुलुकको राजनीतिक परिवर्तनको आन्दोलनमा थोरै भए पनि योगदान गर्ने अवसर पाएँ । यसमा पछुताउनु पर्ने कारण छैन । गणतन्त्र ल्याउन मैले खेलेको भूमिकाको एक दिन इतिहास र जनताले मूल्याङ्कन गर्नेछन् ।

तपाईंको पढ्ने उमेर नै छ, पढे हुँदैन ?

त्यो पनि सोच बनाइरहेको छु । प्राइभेट परीक्षा दिने तयारीमा छु । व्यवसाय, राजनीति र पढाईलाई एकैसाथ अघि बढाउने सोचमा छु । म पढ्छु, कम्तिमा बीए पाससम्म गर्छु ।

कुन विषय बढ्नुहुन्छ ?

मैले आइएमा राजनीतिशास्त्र पढेको हुँ । राजनीतिशास्त्रमै बीए पास गर्छु । पढाई छोडेको १६ वर्ष भइसक्यो । लामो ‘ग्याप’ को कारण केही गाह्रो त होला । तर प्रयास गर्ने हो भने असम्भव केही छैन ।

आफ्नाबारे बाहिर भइरहेका नकारात्मक टिप्पणीका विषयमा कहिले काँही घर परिवारमा कुरा हुँदैन ?

कुरा हुन्छ । मानिसहरुले जसरी समाधानको उपाय देखाइरहेका हुन्छन्, त्यो चाँही सही होइन भन्ने निष्कर्ष आउँछ । विरोधका लागि विरोध गर्नेहरुको पछि लाग्न छोडिसकें । पार्टीभित्रैका पनि आफूले गर्दा पार्टीलाई कति क्षति भएको छ, भन्नेबारे कहिल्यै नसोच्ने खाली आफू मात्रै राम्रो, अरु बिग्रिएको भन्छन् ।

जसले केन्द्रीय समितिमा प्रकाशका कारण चुनाव हारें भनेर रोइकराई गरिरहेका छन्, तिनीहरु नै मंसिर ३ गतेसम्म बुबाकहाँ आएर ‘म त १० हजार भोट अन्तरले जित्छु कमरेड’ भन्थे । जब ४ गते आयो, ५ र ६ गते भयो, अनि प्रकाशले गर्दा हारियो भने । के प्रकाशले कसैको चुनाव क्षेत्रमा गएर जनतालाई भोट नहाल भनेको थियो ? प्रकाशले गर्दा हारेको भन्नेले किन मंसिर ३ गते नै प्रकाशलाई हेर्डक्वाटरबाट हटाउनुपर्छ नभनेको ? अब त प्रकाशले प्रचण्डको निजी सचिवालय छोडिसक्यो, म पनि हेरौंला नी पार्टी कस्तो बनाउनुहुँदो रहेछ ।

Prakash-3गोपाल किराँतीले एउटा पत्रिकामा खेलै लेखेर प्रकाशलाई हुम्ला वा ताप्लेजुङ पठाउनुपर्छ भन्नुभएको रहेछ, केन्द्रीय समितिबाट निर्णय गर्नुस् हुम्ला जान तयार छु । त्यसपछि तपाईंहरु पनि के गर्नु हुँदोरहेछ, हामी पनि मूल्याङ्कन गरौंला । आफ्नो छोरालाई कहाँ पठाउनु हुँदो रहेछ, त्यो पनि हेरौंला । त्यसपछि तपाईंको परिवार र तपाईंले के गर्नुहुन्छ, त्यसबारे यो प्रकाशले पनि कुरा उठाउन पाउला नि !

हेर्डक्वाटर छोड्नुपूर्व बुबा आमासहित परिवारमा सल्लाह गर्नुभयो ?

मैले कसैसँग सल्लाह गरेर यो निर्णय लिएको होइन । केन्द्रीय समितिमा कुरा उठ्यो भन्ने सुन्ने बित्तिकै केही कदम चाल्नुपर्‍यो भन्ने सोचें र विज्ञप्ति निकालें ।

यो कुरा बुबालाई कसरी थाहा भयो ?

बुबाले सञ्चारमाध्यमहरुबाट थाहा पाउनुभएको रहेछ । भोलिपल्ट विहान यस्तो समाचार आएको रहेछ, के हो भनेर सोध्नुभयो, त्यसपछि हो भनिदिएँ ।

त्यसमा उहाँको प्रतिक्रिया के थियो ?

खुसी हुनुभयो । राम्रो गरिस् भन्नुभयो । आमाले पनि राम्रो गरिस् भन्नुभयो तर मेरो निकटका केही साथीहरुले भने ठीक गरिनस्, आलोचनाबाट डराएर भाग्ने काम गरिस् आलोचना सामना गर्नुपर्थ्यो भनेका छन् । उनीहरु भन्छन्, तैंले त अध्यक्षसँग बसेर उहाँलाई सहयोग गरेको थिइस्, सुरक्षा हेरेको थिइस्, त्यहाँ बसेर राम्रो काम गरेको थिइस्, तर म यो निर्णयबाट पछि हट्दिन ।

परिवारै छाडेको त होइन नि ?

हाम्रो पारिवारिक सम्बन्ध त कसैले चाहेर पनि खोसिने होइन । कोही कोही मानिसहरु भन्छन् कि, प्रचण्ड र प्रकाश अलग भैदिए हुन्थ्यो । के त्यो संभव छ ? त्यसो भन्नेहरुले आफ्नो छोरा वा बाबु त्याग्न सक्छन् ? आफ्नो छोराको गतिविधिले बाबुआमा खुसी वा दुःखी हुन सक्लान तर कमजोरी ग¥यो भनेर संसारमा कसैले सन्तानै त्यागेको कुनै घटना छ ?

जतिसुकै कुलंगार भएपनि बाबुआमालाई आफ्नो सन्तानको माया लाग्छ । बाबुछोरा नै अलग्निुपर्छ भन्नु मानवीय हिसाबले पनि ठीक होइन । के बाबुछोरा भनेको भाडामा लिन मिल्ने चिज होर, यो मन परेन अर्को व्यवस्था गरौं भनेर ? सभ्य समाजले कमजोरी गर्नेलाई सही बाटो ल्याउने हो, भीरबाट धकेलेर लडाउने त होइन नि ।

पार्टीले फेरि हेर्डक्वाटरमै बस्न भन्यो भने के गर्ने नि ?

हामी पार्टी लाइनप्रति प्रतिबद्ध मान्छे । दुःखमा डगमगाउने र सुखमा मात्तिने काम कहिल्यै गरिएन । १५ वर्षदेखि निरन्तर इमान्दारिताका साथ काम गर्दै आएको छु । पार्टी निर्णयविपरीत अहिलेसम्म केही गरेको छैन । अब पनि गर्दिन । पार्टीले कुन न कुनै जिम्मा त देला, यदि पदाधिकारीले तपाईंको खाँचो हेर्डक्वाटरमै छ, यहीँ बस्नुस् भने भने त्ययसमा पुनर्विचार गर्न सक्छु । तर म हेर्डक्वाटर बस्ने मनस्थितिमा छैन ।

तपाईंलाई मानिसहरुले पूर्वराजा ज्ञानेन्द्र पुत्र पारससँग तुलना गर्ने गरेका छन्, त्यसबारे के भन्नुहुन्छ ?

मैले यसको सामान्य जवाफ अघि नै दिइसकेको छु । बुबालाई कमजोर बनाउन मलाई माध्यम मात्र बनाइएको छ । जहाँसम्म पारससँग तुलना गरिएको कुरा छ, उनको र मेरो केही कुरा मिल्दैन । न हाम्रो पृष्ठभूमि मिल्छ, न स्वभाव मिल्छ, केका आधारमा मानिसहरु त्यस्तो कुरा गर्छन् । त्यो बारे उनीहरुलाई नै सोध्नुस् । पारस भनेको २ सय ४० वर्ष लामो सामन्ती राजतन्त्रको पृष्ठभूमिमा मोजमस्तीका साथ हुर्किएको युवा हो ।

हामी गरिब जनताको कोखमा जन्म लिएर झुपडीमा हुर्किएर आएको मान्छे हो । त्यँहीबाट भिन्नता देखिन्छ नि ! अर्को कुरा प्रकाश दाहालले गायक प्रवीण गुरुङलाई जसरी गाडीले किचेर कहिल्यै मान्छे मारेको छ ? डिस्कोमा गएर कहिले गोली चलाएको छ ? आरोप लगाउनेहरुले त्यसको पुष्टि गर्न सक्छन् ? कुन तस्करीको घटनामा प्रकाश समातिएको छ ? प्रकाश दाहाल कस्तो भन्ने कुरा पार्टीका सबै नेता कार्यकर्तालाई थाहा छ । पार्टी बाहिरका पनि मसँग संगत गर्नेहरुलाई थाहा छ । भ्रममा पर्नेहरु परिरहुन् । एक दिन कुरा बुझ्छन् ।

तपाईंले विज्ञप्तिमा थोरै प्रष्टीकरण र धेरै कुण्ठा व्यक्त गर्नुभएछ है ?

त्यहाँ कुण्ठा पोखेको छैन, प्रकाश दाहाल कहिल्यै निराश र कुण्ठित हुने मान्छे होइन । मैले भएकै कुरा लेखेको छु । अहिले पार्टीले चुनाव हा¥यो, अनि मैले गर्दा हारेको भन्ने ? चुनाव जितेको भए के प्रकाशले गर्दा जितेको भन्थे ? चुनाव हारेपछि आफूलाई लोकप्रिय देखाउन मेरो नाम जोडेर कोही उम्किन सक्छ ? यस्तो हावादारी कुरा कसैले पत्याउँछ ? मैले सत्य कुरा लेखेको हो ।

मलाई आरोप लगाउनेहरु म पूर्णकालीन भएर पार्टीमा काम गर्दा जागिर खाइरहेका थिए, कोही नाचगानमा थिए । उनीहरुले आफ्नो आत्मालाई सोधुन न पार्टीमा प्रकाश दाहाल कहिले आएको हो र म कहिले आएको हो भन्ने । उहाँहरुलाई परिस्थितिले नेता बनायो । म प्रचण्डको छोरा भएको कारण पछि परें । तर मलाई कुनै पद र प्रतिष्ठाको लोभ लालसा केही छैन । केही चाहिंदैन, निस्वार्थ रुपले पार्टीमा योगदान गर्दै आएको छु, र आउने दिनमा पनि गर्छु । यो सबै जनताका लागि गरेको हो । जनताबाहेक हाम्रो आफ्नो भन्नु केही छैन ।

त्यसो भए प्रचण्डको छोरा भएकै कारण पछि परेको भन्ने पीडा छ तपाईंमा ?

मलाई कहिले काहीं के लाग्छ भने बुबा शिक्षक हुनुहुन्थ्यो, बरु शिक्षककै छोरा हुन पाएको भए खुसी हुने थिएँ कि ? बरु बिहान–बेलुका हलो जोतेर दुई छाक जोहो गर्ने काम गरेको भए पो हुन्थ्यो कि भन्ने तर्कनाहरु आउँछन् । आफ्नो र परिवारका बारेमा अनावश्यक समाचार आएको बेला त्यस्तो सोच बलियो भएर आउँछ । केही चटपटे पत्रपत्रिकाका मानिसहरुलाई हाम्रो बारेमा अनावश्यक कुरा नलेखी निन्द्रै लाग्दैन ।

ए भनेपछि तपाईंको समाचार लेखेरै मिडिया चलाएका छन्, भन्न खोज्नुभएको हो ?

हो भए नभएको चटपटे समाचार बेचेर केही मान्छे कमाउ धन्दामा लागेका छन् । मेरो बारेमा भए/नभएका समाचार लेखेर उनीहरुले घर चलाएका छन् । त्यसमा मलाई खुसी पनि लाग्छ । मेरै कारणले केही पत्रिका चलेका छन्, विचराहरुको चुल्हो बलेको छ भन्ने चाहिं हुन्छ ।

आफ्नो बारेमा समाचार लेख्नेहरु भेट्दा के कुरा हुन्छ ?

मैले त्यस्तो नभएको कुरा किन लेखेको भनेर प्रश्न गर्छु । म पत्रकारिताको विद्यार्थी त होइन तर यति कुरा थाहा छ कि पत्रकारिताको सिद्धान्तले कसैका बारेमा समाचार लेख्नुछ भने उसको भनाइ त्यसमा राखिनुपर्छ । अरुलाई सस्तो उपदेश दिन र नभएको कथालाई समाचार बनाएर पस्कन जान्नेले पत्रकारिताको सिद्धान्त ख्याल गर्नुपर्दैन ?

जवाफ चाहिं कस्तो आउँछ नि ?

कोहीले म नभएको बेला काम गर्ने ‘केटाहरु’ले लेखिदिएछन्, अब त्यस्तो हुँदैन भन्छन् । अनि फेरि लेख्न छाड्दैनन् । कोही चाहिं तपाईंले हामीलाई पार्टीभित्रको र खास गरी लाजिम्पाटको सूचना दिनुभएन त्यसैले लेखियो भन्छन् । ए बाबा म उनीहरुको रिपोर्टर हुँ कि पार्टीको कार्यकर्ता ? मैले सूचना दिनुपर्छ भन्ने के छ ? सूचना दिने पार्टीको छुट्टै निकाय छ । पार्टीका सूचना दिनकै लागि भनेर प्रवक्ता राखेको हुन्छ ।

फेरि हाम्रो प्रवक्ताले हरेक शनिबार नियमित पत्रकार भेटघाट गरेर पार्टीको गतिविधि र समसामयिक विषयबारे आधिकारिक धारणा सार्वजनिक गरिरहनुभएको छ । उहाँलाई सोध्नु पर्‍यो नि समाचारका लागि । अरु कयौैं नेताहरु पनि हुनुहुन्छ, उहाँहरुलाई सोध्नु पर्‍यो नि ? प्रचण्ड, बाबुराम, नारायणकाजी र पोष्टबहादुर बसेको बैठकमा प्रकाश दाहाल सहभागी भएको हुन्छ र उहाँहरुबीच भएको भित्री कुरा मैले दिने ?

पार्टीको सूचना कहाँबाट लिने भन्ने समेत थाहा नपाउनेले के मिडिया चलाउनु ? हुँदै नभएको कुरा लेखेर कमाउन त पापै लाग्छ नि ?  प्रकाश पार्टीको भित्रि सूचना बाहिर दिएर खाने मान्छे होइन । कतिले त पैसा माग्छन् । पैसा देऊ नभए तिम्रो विरोधमा समाचार लेख्छु भन्छन् । यस्तालाई के भन्ने ।

अरु नेताका छोराछोरी विदेश गएर पढे, मैले पढ्न पनि पाइन, कामको मूल्याङ्कन पनि भएन भन्नुभएको छ, को हुन् उनीहरु ?

म कसैलाई व्यक्तिगत रुपमा मान मर्दन हुने गरी नाम लिन चाहन्न । त्यस्ता मान्छेहरु छन् । कोही यस्ता नेता छन्, जसले आफ्नो सन्तानको नाम थरसमेत फेरेर विदेशमा पढाए । उनीहरु नै ठूला कुरा गर्छन । सबैका बारेमा सबैलाई थाहा छ । नाम लिइरहनु जरुरी छैन । अहिले पनि पढाईलाई नै मुख्य ठान्नेहरु छन् । युद्धकालमा पनि विदेश पढे, डिग्री हासिल गरे । अहिले नेता पनि उनीहरु नै भएका छन् ।

उनीहरुले पढ्न हुने थिएन भन्ने मेरो कुरा होइन, तर ममाथि बढी प्रहार गर्नेहरु उनीहरु नै छन् । त्यस्तालाई पनि नेता मान्नुपर्दा कहिले काहीं दुःख लाग्छ । जनताका छोराछोरीलाई बुर्जुवा शिक्षा पढ्न हुन्न भनेर आन्दोलनमा होम्ने । उनीहरु भटाभट सहिद हुने । अनि आफ्नालाई चाहिं विदेशको डिग्री चाहिने ? अहिले पनि कतिपय नेताजीहरुका छोराछोरी महँगा स्कुलमा पढिरहेका छन् ।

बाहिर निजी शिक्षाको विरोध गर्ने र भित्रभित्र पदीय हैसियतको दुरुपयोग गरेर आफ्ना छोराछोरी महंगा स्कुलमा पढाउने ? के गरिब जनताका छोराछोरीले पढ्ने सरकारी स्कुलमा उनीहरुका छोराछोरी पढ्नु हुँदैन ? कित सरकारी स्कुलको गुणस्तर सुधार्न लाग्नुपर्‍यो, कित बोर्डिङमै पढाउने हो भने दोहोरो कुरा गर्नु भएन नि । के हजारौं सहिदहरुको उद्धेश्य केही नेताका छोराछोरीलाई महंगा स्कुल पढाउन हैसियतमा पुर्‍याइदिने मात्र थियो त, एकपटक छातीमा हात राखेर सोच्नु पर्दैन । सहिद र बेपत्ताका छोराछोरीहरु कहाँ पढिरहेका छन् उनीहरुले कहिल्यै मतलब गरेका छन् ?

जसको त्याग, तपस्या र बलिदानले मुलुकलाई र पार्टीलाई यहाँसम्म ल्यायो । ती कसैको उनीहरुलाई मतलब छैन । उनीहरु कहाँ कस्तो अवस्थामा छन्, के गरिरहेका छन् वास्ता छैन । तर उनीहरुको ब्याज खाएर नेताका छोराछोरी महिनामा बीसौं हजार तिरेर राजधानीका रातो बंगला, सेन्ट जेभियर, ग्यालेक्सीजस्ता राजधानीका महंगा स्कुलमा पढाइरहेका छन् ।

के हामीले देखेको सपना यही हो ? अनि प्रकाशले गर्दा पार्टीले हार्‍यो रे । के बुबाले चाहनुभएको भए मलाई संसारको जुनसुकै कलेजमा पढाउन सक्नुहुन्थेन ? तर उहाँले त्यसो गर्नुभएन । किन भने जनताका छोराछोरी मरिरहेका छन्, मैलचाहिं आफ्ना छोराछोरीलाई पढाएर राख्न मिल्दैन, आन्दोलनमै लगाउनुपर्छ भन्ने सोच उहाँमा थियो । जसले हाम्रो परिवारका बारेमा नराम्रा मात्र कुरा गर्छन्, के उनीहरुले यस्तो कुरा कहिल्यै सोचेका छन् ?

कहिले काहीं तिमि पनि पढ बनेर सुझाव दिनुहुन्न नेताहरुले ?

हाम्रा नेताहरुले मलाई अहिलेसम्म त्यस्तो सुझाव दिएको थाहा छैन । सन्दर्भ नमिलेर हो वा अरु कारणले हो जान्दिन । बरु अरु पार्टीका नेताहरु खास गरी काँग्रेसका सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाले पढ भन्नुहुन्छ । उहाँहरुले पहिला पढ्न पाएनौ, अब पढ बाबु भनेर धेरैपटक सुझाव दिनुभएको छ ।

प्रचण्डको सानो घेरा भएको र केही मानिसहरुको मात्रै कुरा सुनेका कारण पनि पार्टी हारेको भन्छन्, तपाईं त सचिवालयमा बसेको मान्छे उहाँको घेरा फराकिलो बनाउन सहयोग गर्नुपर्दैन ?

यो वाहियात तर्क हो । नेपालमा सबैभन्दा ठूलो घेरा भएको नेता नै प्रचण्ड हो । जनस्तरमा उहाँको जस्तो फराकिलो सम्बन्ध कुनै पार्टीका कोही नेताको छैन । अहिले हाम्रो पार्टी तेस्रोमा खुम्चिएको छ । तर तपाईं लाजिम्पाट आएर हेर्नुस् न भेट्न आउनेहरुको लाइन कति हुन्छ ? बिहान ५ बजेदेखि राति १०/११ बजेसम्म बुबाले समाजका सबै तहका सयौं मानिससँग साक्षात्कार गर्नुहुन्छ । Praksभेटघाटका लागि यति सहज नेता अरु को छ ? के हो सानो घेरा भनेको ? फेरि उहाँ बाहिरका केही सीमित मानिसहरुको सल्लाहमा मात्र चल्नुहुन्छ भन्ने कुरा सोह्रैआना झुठ हो ।

उहाँका मुख्य सल्लाहकार भनेको केन्द्रीय कार्यालयको टिम हो । त्यसपछि चाहिएका बेला फरक–फरक विषयका जानकारहरुसँग सल्लाह लिनुहुन्छ । कोही यस्तो गुर्नपर्‍यो, उस्तो गर्नुपर्‍यो भनेर आफैं सल्लाह दिन आउँछन् । उहाँ सबैको कुरा सुन्नुहुन्छ, तर निर्णय आफ्नो पदाधिकारी टिमको सल्लाहमा लिनुहुन्छ । अरु अमुक सल्लाहकार छन् भन्ने कुरा सही होइन । म सधैं बुबासँग हुन्छु, मैले ते देखेको छैन । मैले नदेख्ने तर अरुले देख्ने भएको भए मैले जान्ने कुरा भएन ।

तपाईं चाहिं सल्लाह दिनुहुन्छ कि हुन्न ?

म मात्र होइन सचिवालयमा रहेका सबैसँग बुबाले कुरा गर्नुहुन्छ । व्यस्तताले गर्दा कहिले काहीं समाचारहरु हेर्न पाउन भएको हुँदैन । त्यस्तो बेलामा हामीले बाहिर यस्तो भइरहेको छ भनेर जानकारी गराउँछौं । तर उहाँको मुख्य सल्लाहकार भनेको पूर्वपदाधिकारी र हालको केन्द्रीय कार्यालयको टिम हो ।

कटवाल प्रकरणमा तपाईंसहित तपाईंको आमाले अहिले नचलाऔं, तीन महिनापछि अवकाश लिएर आफैं जाउन भन्नुभएको थियो रे नि ?

कटवाल प्रकरणमा बुबाले ममीलाई समेत केही भन्नुभएको थिएन । राष्ट्रपतिले सरकारको निर्णय उल्ट्याएर रातारात थमौतीको पत्र बालुवाटारमा पठाएपछि बुबा त्यसरात सुत्नु भएन । उहाँले राति नै विज्ञप्तिको खेस्रा तयार पार्नुभयो । कार्यकारी सरकारले गरेको निर्णय उल्ट्याएर राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको दायरा नाघेका थिए ।

नैतिकताका आधारामा आफू प्रधानमन्त्री पदमा बसिरहनु राम्रो नहुने निष्कर्षमा उहाँ राति नै पुगिसक्नुभएको रहेछ । कटवाल प्रकरण घट्नुमा आन्तरिक कारण नै बढी जिम्मेवार छ । पार्टीभित्रैका एकथरिले बुबामाथि कटवाललाई कारबाहीका लागि दबाब थिएका थिए । कटवाललाई कारबाही नगरेको भए बुबाकै नेतृत्वमा मुलुकले संविधान पाइसकेको हुने थियो  । उहाँजस्तो राष्ट्रवादी र जनताप्रति प्रतिबद्ध व्यक्ति नेपालको इतिहासमै सायदै प्रधानमन्त्री भएको होला ।

त्यो त आफ्नै बुबा भएको कारण भन्नु भएको होला नि ?

म जतिबेला पार्टीको पूर्णकालीन कार्यकर्ता भएँ । त्यतिबेला देखि नै सँगै छु । मलाई कहिल्यै बुबासँग छु भन्ने लागेन । म उहाँलाई छोराको व्यवहार कम र पार्टी कार्यकर्ताको व्यवहार बढी गर्थें । उहाँले पनि मलाई छोरा भन्दा आमकार्यकर्तालाई गर्ने व्यवहार गर्नुभयो । उहाँ मेरो बुबा त हो तर उहाँलाई मैले त्यो रुपमा मात्र हेर्दिन ।

एउटा मुलुक परिवर्तनमा हिंडेको अभियन्ताका रुपमा लिएको छु । उहाँ सामूहिक सम्पत्ति हो मेरो मात्र निजी सम्पत्ति होइन । जसमा सबै नेपालीको बराबर हक छ । बुबाले मलाई कहिल्यै परिवारको समस्याका बारेमा चिन्ता गरेको थाहा छैन । उहाँलाई सधैं देशको चिन्ता छ ।

प्रचण्डकै नेतृत्वमा भएको जनयुद्धले नेपालको राजनीतिमा आमुल परिवर्तन भएको हो । राजतन्त्र हटेर गणतन्त्र आएको छ । त्यो कुरामा मलाई बुवाप्रति गर्व छ । उहाँको नेतृत्वमा मुलुकमा क्रान्ति नभएको भए अहिले पनि देशमा सामन्ती राजतन्त्र हुन्थ्यो ।

तपाईंलाई देशका सबै ठूला मान्छेले फोन गर्छन रे हो ?

म बुबाको सचिवालयमा बसेका कारण मेरा लागि होइन बुबाका लागि फोन आउँछ । म राम्रो रेस्पोन्स गरिदिन्छु । उहाँहरुले पनि मायाँ गर्नुहुन्छ ?

क–कसको फोन आउँछ ?

पार्टीभित्रका सबै नेताको आउँछ, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, झलनाथ खनाल, माधव नेपाल सबैले फोन गर्नुहुन्छ । सबैले मायाँ गर्नुहुन्छ । म पनि उहाँहरुलाई आदर र सहयोग गर्छु ।

बुबासँग बसेपछि आफूले फेसबुकमा लेखेको कुराले उहाँलाई अप्ठेरो पर्ला भन्ने सोच्नु हुन्न है तपाईं ?

म फेसबुकमा आफूलाई चित्त नबुझेका कुरा पोष्ट गरिहाल्छु । मानिसहरु ठान्दा हुन्, प्रचण्डले अह्राएर वा उहाँलाई थाहा भएरै यो सब भइरहेको छ । तर उहाँलाई यो बारेमा केही थाहा हुँदैन । म उहाँको छोरा मात्रै होइन, पार्टीको कार्यकर्ता पनि हुँ । जसरी अरुलाई आफ्नो बारेमा बोल्ने अधिकार छ, त्यसैगरी मलाई पनि छ । चित्त नबुझेको कुरामा प्रचण्ड, बाबुराम, नारायणकाजी जसको भएपनि म विरोध गर्छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us