२० वर्षमा पनि सडक बनेन

काठमाण्डु टुडे २०७० माघ १६ गते ७:१० मा प्रकाशित

उदयपुर, १६ माघ – सप्तरीको कद्माहा र उदयपुरको सदरमुकाम गाईघाट हुँदै छिमेकी पहाडी जिल्ला खोटाङ जोड्ने मुख्य सडकखण्डहरु अहिलेसम्म व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या रहँदै आएको छ ।

विसं २०५१ मा नै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीद्वारा उदयपुरको बोक्सेमा उद्घाटन गरेर निर्माण गर्न सुरु गरिएको उक्त सडकखण्डहरु अहिलेसम्म पनि सदरमुकाम गाईघाटबाट ३७ किमि दूरी टाहासम्म राम्ररी व्यवस्थित हुन सकेको छैन ।

नेपाल सरकार तथा सडक डिभिजन कार्यालय लाहानको प्रत्यक्ष संलग्नतामा निर्माण कार्य सुरु भएको उक्त सडकखण्ड अहिलेसम्म व्यवस्थित हुन नसक्दा उदयपुरदेखि पहाडी क्षेत्रसम्म सञ्चालन हुने यातायातका साधन हिउँदमा मात्र केही समय सुचारु हुने गरे तापनि वर्षायाममा भने बन्द हुँदै आएको यातायात व्यवसायीहरु बताउँछन् ।

सदरमुकाम गाईघाट बजारबाट पहाडी गाविस आँपटारको फोक्सिङ्टारसम्म कच्ची सडकका रुपमा निर्माण भएको गाईघाट–दिक्तेल सडकखण्डमा अहिलेसम्म ग्राभेलिङ हुन नसक्दा सो क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना सवारीका साधन जोखिम मोलेर सञ्चालन गर्नुपरिरहेको उनीहरुको भनाइ छ ।

उदयपुर जिल्लाको आँपटार गाविसको फोक्सिङ्टार क्षेत्रभन्दा अगाडि सडक निर्माण कार्य बढ्न नसकेपछि सडक निर्माण कार्यसमेत अधुरो अवस्थामा रहेको यातायात व्यवसायीहरु बताउँछन् ।

उदयपुरको खाँबु गाविसको छामलिङ क्षेत्रमा सबैभन्दा बढी सडक भत्किएर जीर्ण अवस्थामा रहेको खाँबु–६ का स्थानीय वीरबहादुर खत्रीले बताए ।

साउनेदेखि खाँबुको छाम्लिङसम्म झन्डै सात किलोमिटर सडकखण्ड अहिले जीर्ण बनेको छ यातायात व्यवसायीहरु बताउँछन् । बीस वर्ष अगाडि सुरु भएको उक्त सडकखण्डले अहिलेसम्म पनि पूर्णता नपाउँदा खोटाङवासीले समेत हैरानी पाएका छन् ।

मुख्य गरेर खोटाङको सदरमुकाम दिक्तेलसम्म लक्षित गरेर निर्माण सुरु गरिएको १५७ किलोमिटर लम्बाईको उक्त सडकखण्ड अहिलेसम्म उदयपुरको सदरमुकाम गाईघाटबाट ३७ किलोमिटरको दूरीसम्म मात्र कच्ची सडकका रुपमा निर्माण भएको छ ।

समयमै उक्त सडकखण्ड निर्माण हुन नसक्दा अहिले खोटाङको तल्लो क्षेत्रका ४० गाविसका डेढ लाख जनताले सास्ती भोग्नुपरेको खोटाङ फाक्टाङ–४ का पूर्णप्रसाद सुवेदी बताउँछन् ।

यस्तै उदयपुरको पहाडी र मध्य उत्तरी क्षेत्रका गाविसका जनताले समेत सडकको उचित व्यवस्थापनको अभावमा सास्ती भोग्न परिरहेको उदयपुर आँपटार दुई रसुवाका केदार राईको भनाई छ । देशमा २० वर्षभित्र ठूला–ठूला परिवर्तनहरु भइसके पनि उक्त सडकखण्ड भने अहिले पनि जस्ताको तस्तै रहेको खाँबु उच्चमाविका प्राचार्य कुलबहादुर खत्रीले बताए ।

राज्यको उचित ध्यान जान नसक्दा र सरकारको उपेक्षाका कारण अहिलेसम्म पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन नसकेको यस क्षेत्रका जनताको धारणा रहेको पाइन्छ ।

सडक निर्माण कार्यलाई अगाडि बढाउँदै भत्किएका सडकखण्डसमेत मर्मत गर्न पर्ने यातायात व्यवसायीहरु बताउँछन् । अहिले सदरमुकाम गाईघाटदेखि गाईघाट–दिक्तेल सडकखण्डको फोक्सिङ्टारसम्मको ३७ किमि कच्ची सडकखण्डमा दैनिक बीसौँको सङ्ख्यामा ठूला तथा साना सवारी साधन सञ्चालन हुँदै आएको यातायात व्यवसायीहरु बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us