विमानस्थलको धावनमार्ग निर्माण सुरू

काठमाण्डु टुडे २०७० माघ १६ गते २:२१ मा प्रकाशित

इलाम, १६ माघ – इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलले १४ वर्षपछि गति लिएको छ । नेपाल नागरिक तथा उड्डयन प्राधिकरणले ६ करोड ५० लाखको लागतमा विमानस्थलमा धावनमार्ग निर्माणको काम थालेको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल आयोजनाका प्रमुख रामहरि महर्जनका अनुसार आगामी साउन मसान्तसम्ममा ७६० मिटर लम्बाई र ६० मिटर चौडाई भएको धावनमार्ग निर्माण हुनेछ ।

पहिले ग्रासी रनवे तयार पार्ने र त्यसपछि मात्रै पूर्वाधारको काम थालिने प्राधिकरणले जानकारी दिएको छ । अहिले कटिङ, फिलिङ र ग्याविङको ६० प्रतिशत काम पूरा भइसकेको बताइएको छ ।

विमानस्थल निर्माणका लागि जिल्ला विकास समिति, इलाम नगरपालिका र जिल्लाका ४८ वटै गाउँ विकास समिति, सांसद विकास कोष तथा अन्य दातामार्फत ३२६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

उक्त जग्गा प्राधिकरणले आफ्नो स्वामित्वमा लिएपछि ठेक्कामार्फत विमानस्थलको काम थालेको हो । दुई करोड २६ लाख मुआब्जा वितरणपछि विमानस्थल आसपासका तीन दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

विमानस्थल निर्माणपछि ट्वीनअटर जहाज अवतरण गर्न सकिने र पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ तथा भारतको दार्जिलिङ तथा सिक्किमका यात्रुलाई समेत हवाई यात्राका लागि सहज हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us