मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले राजीनामा नदिने

काठमाण्डु टुडे २०७० माघ १५ गते १:२६ मा प्रकाशित

khilraj regmiकाठमाण्डु, १५ माघ – अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पदबाट राजीनामा नदिने भएका छन् । उनले व्यवस्थापिका–संसदवाट नयाँ प्रधानमन्त्री चयन नभएसम्म सरकार प्रमुखको जिम्मेवारी नछोड्नेसमेत निष्कर्ष निकालेका छन् ।

रेग्मीले राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आह्वान गरेकै आधारमा आफूले सरकार प्रमुखबाट राजीनामा दिनुनपर्ने बताएका हुन् । रेग्मीको यो कदमप्रति राष्ट्रपति डा. रामवरण यादव भने उनले पदबाट राजीनामा दिएर सामान्य शिष्टतासमेत नदेखाएको भन्दै असन्तुष्ट छन् ।

राष्ट्रपतिद्वारा १ चैत २०६९ मा जारी गरेको बाधा अड्काउ आदेशको १५ नम्बर बुँदाबमोजिम संविधानसभा निर्वाचन सम्पन्न भई अर्को मन्त्रिपरिषद् गठन भएपछि मात्र मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारीबाट मुक्त हुने निष्कर्षमा मन्त्रिपरिषद् अध्यक्षको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रपतिद्वारा जारी बाधा अड्काउ आदेशको १५ नम्बर बुँदामा भनिएको छ, ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यतामा गठन हुने मन्त्रिपरिषद्ले संविधानसभाको निर्वाचन सम्पन्न गरी अर्को मन्त्रिपरिषद् गठन भएपछि निज मन्त्रिपरिषद्को अध्यक्ष नरहने व्यवस्था गर्न प्रधानन्यायाधीशले मन्त्रिपरिद्को अध्यको हैसियतले काम गरेको‘।’

राष्ट्रपति कार्यालयले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका वर्तमान मन्त्रिपरिषद्का अध्यक्षले पदबाट राजीनामा दिनैपर्ने वैधानिक व्यवस्था नभए पनि शिष्टाचारका लागि पनि राजीनामा दिए राम्रो हुने जनाएको छ । ‘सरकार प्रमुखको जिम्मेवारी लिएका रेग्मीले आफ्नो मूल जिम्मेवारी पूरा गरे पनि धन्यवाद दिने वातावरणसमेत बनाउन सकेनन्,’ स्रोतले भन्यो, ‘सरकार प्रमुखबाट सहज बहिर्गमनको व्यवस्थापन गर्न रेग्मीले सकेनन् ।’

सरकार प्रमुखको जिम्मेवारीबाट बहिर्गमन हुन र न्यायालय प्रमुखको जिम्मेवारीमा प्रवेश गर्ने विषयमा रेग्मीले व्यवस्थापनमा कुशलता देखाउन नसकेको राष्ट्रपति कार्यालयको बुझाइ छ ।

– राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us