भारतलाई फकाउँदै नेकपा–माओवादी

काठमाण्डु टुडे २०७० माघ १३ गते १३:३३ मा प्रकाशित

cpn_maoistकाठमाण्डु, १३ माघ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरु भारत विरोधी नभएको बताएका छन् । रिपोटर्स क्लवले सोमबार आयोजना गरेको साक्षत्कारमा बोल्दै गजुरेलले आफूहरुले पञ्चशीलको आधारमा भारतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन चाहेको बताए ।

‘भारतमा थुप्रै दल छन, १ अर्ब ३० करोड जनता छन्, फेरि एउटै दलले राज्यको नेतृत्व पनि गरिरहँदैन अनि हामीले कसको विरोध गर्ने ?’ गजुरेलले भने, ‘हामी कुनै राष्ट्रको विरोधी होइनौं भारतसँग समानताको आधारमा असल सम्बन्ध बनाउनु पर्छ ।’

गजुरेलले भारतलाई धेरै दोष दिनुभन्दा पनि आफूहरुले नै नेपालका विकास गर्न नसकेको स्विकार गरे । भारतसँगको सुमधुर सम्बन्धबाट जति फाईदा लिन सक्नु पर्ने हो त्यो नेपालले लिन नसकेको उनको दावी छ ।

नेपालको हितको लागि भारत र चिनसँगको सम्बन्ध राम्रो हुनु पर्ने धारणा राख्दै गजुरेलले भारत र भारतका १ अर्ब ३० करोड जनतासँग सुमधुर सम्बन्ध र सहायोग लिएर नेपालको विकास गर्न चाहेको बताए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपाल र भारतबीचको सम्बन्ध अरु भन्दा फरक र प्रगाढ रहेको भन्दै सुरक्षा र आर्थिक विकासको मुद्दामा नेपाल–भारत मिलेर अघि बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा अन्य विभिन्न दलका नेताहरुले समेत आफ्नो धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us