संसद बैठक : कुन नेताले के भने ?

काठमाण्डु टुडे २०७० माघ १२ गते १०:२० मा प्रकाशित

New Banesworeकाठमाण्डु, १२ माघ – व्यवस्थापिका संसदको पहिलो बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

मंसिर चार गते निर्वाचन सम्पन्न भएपछि पहिलो पटक आइतबार संसद बैठक बसेको हो ।

पहिलो बैठकमा अहिले प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सिफारिसमा राष्ट्रपति रामवरण यादवले आह्वान गरेअनुसार संसद वैठक बसेको हो । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सुरुमै राष्ट्रपतिको वैठक आह्वानको पत्र पढेर सुनाएका थिए ।

कुन नेताले के भने संसदको पहिलो बैठकमा ?

व्यवस्थापिका संसदको पहिलो बैठक सुरु भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु बैठकमा सबै नेताहरुले एक वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुशील कोइराला, सभापति तथा संसदीय दलका नेता नेपाली कांग्रेस

संविधानसभा बैठकमा बोल्दै संसदको पहिलो दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले दलहरुबीचको विश्वासको संकटले मुलुक अहिले यो अवस्थामा आइपुगेको भन्दै अब दलहरुले भुलेर पनि उक्त बाटो लिन नहुने बताएका छन् ।

अहिलेको पहिलो आवश्यकता लोकतान्त्रिक संविधान भएको भन्दै कोइरालाले सबै मिलेर जनातको विश्वासलाई परिणाममा परिवर्तन गर्नुपर्ने बताए । सबै पार्टीहरुले जनतामा एक वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धता गरको भन्दै कोइरालाले आफ्नो प्रतिबद्धता नभुल्न सबैलाई आग्रह गरे ।

सबै पार्टीसँग मिलेर सरकार गठनको प्रयासमा आफू रहेको भन्दै कोइरालाले सहमतीय सरका गठन आफ्नो प्राथमिकता भएको बताए । विगतको संविधानसभामा धेरै विषयमा छलफल भएको र कतिपय विषय मिलिसकेको भन्दै कोइरालाले नमिलेका विषयलाई अब टुंग्याएर अघि बढ्नुपर्ने बताए ।

झलनाथ खनाल, अध्यक्ष नेकपा एमाले

व्यवस्थापिका संसदको बैठकमा बोल्दै दोस्रो ठुलो दल एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्ने बताएका छन् ।

उनले निर्वाचनमार्फत नयाँ जनादेश आएकाले राष्ट्रपति र उपराष्ट्रपति पनि नयाँ बन्नुपर्ने बताए । देशले शक्तिशाली सरकारको माग गरेको भन्दै खनालले चाँडै नै नयाँ सरकार बनाउनुपर्नेमा जोड दिए ।

उनले अघिल्लो संविधानसभाले संविधानका धेरै विषयमा सहमति गरिसकेको भन्दै नमिलेका विवादहरु सके सहमति नसके प्रक्रियामा लगेर छिटो संविधान निर्माणमा लाग्नुपर्ने बताए ।

उनले बहुपहिचानमा आधारित संघियता मात्रै यो मुलुक सुहाँउदो रहेको दावी गरे । विश्वमै कहिँ नभएको संविधानसभाको दोस्रो चुनाव नेपालमा भएको भन्दै खनालले अर्बौं बजेट खर्च भइरहेको स्थानीय निकायको निर्वाचन पनि अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

निकै चुनौतीका बीच संविधानसभा निर्वाचन सम्पन्न भएको भन्दै खनालले अब संविधान निर्माणमा सबै मिलेर लाग्नुपर्ने बताए ।

उनले देश लोडसेडिङको जर्जर मारमा परेको भन्दै अब बन्ने सरकारले लोडसेडिङ अन्त्य गर्न लाग्नुपर्ने बताए । खनालले देशमा अझै पनि सिमास्तम्भ हराउने क्रम नरोकिएको भन्दै त्यसतर्फ गम्भीर बन्न पनि सबैलाई आग्रह गरे ।

पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष एकीकृत माओवादी

व्यवस्थापिका संसदको पहिलो बैठकमा बोल्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीसहितका संविधानसभा बाहिर रहेका शक्तिलाई पनि संविधान निर्माण प्रकृयामा सहभागी गराउन पहल गर्नुपर्ने प्रचण्डले बताएका छन् ।

आफ्नो पार्टीको पहिलो प्राथमिकता सरकार, राष्ट्रपति तथा उपराष्ट्रपति नभएको भन्दै प्रचण्डले संविधान निर्माण पहिलो प्राथमिकता भएको स्पष्ट पारे । एमाओवादी सरकारमा नजाने भन्दै प्रचण्डले प्रतिपक्षमा बसेर संविधान निर्माणको काममा लाग्ने बताए ।

उनले एमाओवादीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने दावी गरे । एमाओवादीले आफ्नो सरकार त्यागेरै भएपनि संविधानसभा चाहिन्छ भनेको भन्दै प्रचण्डले छ महिनाभित्र मस्यौदा बनाएर एक वर्षभित्र संविधान बनाउन पूरै एकसुत्रिय एजेण्डन्डामा आफूहरु रहेको भन्दै एक वर्ष भित्रमा संविधान निर्माण गरिछाड्नेमा जोड दिए ।

अघिल्लो संविधानसभामा तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले परिणाम नहेरी जनताको अधिकार स्थापित गराउने प्रयास गरेकाले अहिलेको उपलब्धी भएको प्रचण्डको भनाइ थियो । उनले पहिलो संविधानसभाले गरेका निर्णयको स्वामित्व लिँदै यो सदनले एक वर्षमा संविधान जारी गर्नुपर्ने प्रचण्डले बताए ।

‘यो सभाले हिजो संविधानसभाले गरेको ऐतिहासिक निर्णयको स्वामित्व दिनेछ र लिनुपर्नेछ ।’ प्रचण्डले भने, ‘संविधानको ६ महिनाभित्र संविधान मस्यौदा दिने छौं र एक वर्षमा संविधान दिनेछौं भन्ने प्रतिवद्धता गरेका छौं । त्यसो गर्नेछौं भन्ने विश्वास छ ।’

अघिल्लो संविधानसभा चुनावमा एकीकृत माओवादीले ठुलो दलको हैसियतमा सहमतीको प्रयास गरेको भन्दै प्रचण्डले अहिले पनि ठुलो दलको हैसियतमा कांग्रेसले त्यसको अग्रसरता लिनुपर्नेमा जोड दिए । उनले पहिले नै ८० प्रतिशत भन्दा धेरै काम सकिएको भन्दै त्यसको स्वामित्व लिइ अघि बढ्नुपर्ने बताय । प्रचण्डले कुनै दललाई सानो र कुनैलाई ठुलोको व्यवहार गरे त्यो राम्रो नहुने उनले चेतावनी दिए ।

बैठकलाई सम्बोधन गर्दै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले एक वर्षभित्र पहिचानसहितको संविधान निर्माण गर्ने बताए । उनले अहिले पनि पहिचान पक्षधरहरुले नहारेको बताए । मधेशका नेताले अन्तरिम संविधान पनि जलाएको स्मरण गराउँदै गच्छदारले पहिचान विरोधि संविधान निर्माण भए नमान्ने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us