कमसल ट्रान्सफर्मरले विद्युत् अनियमित

काठमाण्डु टुडे २०७० माघ १० गते १:४४ मा प्रकाशित

मुगु, १० माघ–गमगाढ वितरण केन्द्र मुगुले ठाउँठाउँमा कमसल विद्युतीय ट्रान्सफर्मर राखेपछि सदरमुकाम गमगढीलगायत अन्य गाउँ बस्तीमा वितरण गरिएको विद्युत् अनियमित भएको छ ।

गमगाढ जलविद्युत् आयोजना निर्माणताका ल्याइएका विद्युतीय उपकरणहरु लामो समयसम्म खुला आकासमुनि रहेकाले ४०० किलोवाट उत्पादन क्षमता रहेको आयोजनामा अहिले ३०० किलोवाट मात्र विद्युत् उत्पादन भइरहेको छ । यस्तै विभिन्न ठाउँमा राखिएका १० वटा ट्रान्सफर्मरमध्ये सातवटा जलेर काम नलाग्ने अवस्थामा रहेको गमगाढ जलविद्युत् वितरण केन्द्रका कर्मचारी धनञ्जय फडेराले बताए । मौसम चिसो भएकाले बिहान–बेलुकी आगो ताप्ने हिटर, विद्युत्बाट खाना पकाउने गरेका कारण बेलाबेला विद्युत् आपूर्तिमा अवरोध हुनुका साथै भोल्टेजसमेत कम हुने गरेको फडेराको भनाइ छ ।

‘अहिले १० वटा ट्रान्सफर्मरले मुस्किलले धानेका छन्, कम क्षमताका ट्रान्सफर्मरले विद्युत्को लोड धान्न सकिरहेका छैनन् त्यसैले बिहान–बेलुकी आगो ताप्ने हिटर प्रयोग नगर्न उपभोक्तालाई आग्रह गर्दछौं’ फडेराले जानकारी दिए ।

बढी क्षमताका ट्रान्सफर्मरका लागि धेरै पटक नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखी पठाए पनि बजेट अभाव भएको भन्दै प्राधिकरणले कुनै चासो नदेखाएको फडेराको भनाइ छ । विद्युत् आउने जाने गरिरहेकाले सरकारी तथा गैरसरकारी कार्यालय तथा निजीरुपमा प्रयोग गरिरहेका कम्प्युटर, फोटोकपी मेसिनलगायत अन्य विद्युत्मार्फत सञ्चालन हुने उपकरणहरु बिग्रन थालेकामा उपभोक्ता चिन्तित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us