खरायो बेचेर १३ लाख !

काठमाण्डु टुडे २०७० माघ ९ गते ११:१० मा प्रकाशित

म्याग्दी, माघ– म्याग्दीको दुई गाउँका कृषकले खरायो बेचेर लाखौं रुपैयाँ गाउँमा भित्र्याएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने राम्चे र हिस्तान गाविसका कृषकले पालेको खरायो पहिलो पटक काठमाण्डुमा निर्यात गरेर गाउँमा नगद भित्रिएको हो ।

समूहगत रूपमा खरायोपालन व्यवसाय सुरु गरेका त्यहाँका कृषकले २०६९ माघ महिनादेखि २०७० पुस मसान्तसम्म छ हजार ५०० किलोग्राम खरायो मासुका लागि काठमाण्डुमा निर्यात गरेका छन् । राम्चे, काफलडाँडा, टिकोट, घराम्दी र औला गाउँबाट प्रतिकिलोग्राम २ सय रुपैयाँका दरले १३ लाख रुपैयाँ बराबरको खरायो काठमाण्डुथित हिमालयन र्‍याविट फार्म एन्ड रिसर्च सेन्टरले गाउँबाटै खरिद गरेर लगेको राम्चे कृषि समूहका सदस्य भक्तबहादुर पुर्जाले जानकारी दिए ।

प्रत्येक तीन/तीन महिनामा व्यापारी गाउँमै आएर खरायो लैजाने गरेको उनले बताए । यसअघि स्थानीयस्तरमा मासुका लागि खरायो पाल्दै आएका कृषकले एक वर्षयता भने खरायोपालनलाई व्यावसायिक बनाउन थालेका छन् ।

चिनचिला र न्यूजील्याड ह्वाइट जातको खरायो पालेका कृषकलाई सङ्गम म्याग्दीद्वारा सञ्चालित लघु उद्यम विकास कार्यक्रमले प्राविधिक र बजारीकरणका लागि सहयोग गरेको छ ।

कुखुरा, बाख्रा, भेडाभन्दा पनि सहज र सस्तो, धेरै लगानी गर्नु नपर्ने, छिटो प्रतिफल प्राप्त हुने र उत्पादन भए जति गाउँबाटै बिक्री हुने भएकाले कृषकहरू यो व्यवसायतर्फ उत्साहित बनेका घराम्दीकी सोभनश्री पुर्जाले बताए ।

उनले खरायो बिक्री गरेर मासिक रु १० हजार आम्दानी गरेको बताउनुभयो । राम्चे र हिस्तानका १०० भन्दा बढी कृषकले खरायोपालन गरेका छन् । खरायोपालन व्यावसायिक बन्न थालेपछि बर्खा मौसममा ग्रामीण सडक अवरुद्ध हुँदा ढुवानी गर्न नसकिने अवस्थामा खरायोको सुकुटी बनाउन कृषकलाई सोलार डायर उपलब्ध गराइएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक सुवेदीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us