एमाले भित्र शक्ति बाँडफाँडमा सहमति भएको ज्ञावालीको खुलासा

काठमाण्डु टुडे २०७० माघ ८ गते ८:५७ मा प्रकाशित

pradip gyawaliकाठमाण्डु, ८ माघ – नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले पार्टी नेताहरुबीच शक्ति बाँडफाँड भएको खुलासा गरेका छन् ।

रिपोटर्स क्लवले बुधबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै ज्ञाववालीले आन्तरिक सहमतिको लागि संसदीय दलको नेता, आगामी पार्टी अध्यक्ष, राष्ट्रपति र सरकारमा नेतृत्व गरेर जाने नेताको विषयमा शक्ति बाँडफाड भइसकेको खुलासा गरेका हुन् ।

‘पार्टी भित्र चार पदमा आन्तरिक सहमति भईसकेको छ,’ ज्ञावालीले भने, ‘आगामी माघ १० गतेबाट बस्ने केन्द्रीय समितिको बैठकले व्यक्ति चयन गर्नेछ ।’ यद्यपी कसले के जिम्वेवारी पाउने सहमति भएको भन्ने विषयमा ज्ञावालीले केही खुलाएनन् ।

ताजा जनादेश आईसकेकोले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषय उठ्नु स्वभाविक भएको भन्दै उनले यस विषयमा संविधानसभामा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताए । ‘ताजा जनादेशको सम्मान गर्नु पर्छ,’ ज्ञावालीले भने, ‘संविधानसभाले अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गरेमा हामीलाई त्यो स्विकार्य छ ।’

ठूला दल भएकोले काँग्रेसले आगामी सरकारको नेतृत्व गर्नु स्वभाविक भएको भन्दै उनले तत्काल आन्तरिक समस्या समाधान गरेर सहमतिको प्रस्ताव ल्याउन काँग्रेसलाई सुझाव दिए  ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनको विषयमा संविधानसभा भित्र छलफल गर्न सकिने स्पष्ट पारे ।

पार्टीले वर्तमान राष्ट्रपति र उपराष्ट्रपति नै संविधान जारी नहुन्जेलसम्म कायमै रहनु पर्ने अडान राखिरहेको बेला लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषय सडक र पार्टी भित्र उचालेर विवादित बनाउनु भन्दा संविधानसभामा छलफल गर्नु नै उपयूक्त हुने तर्क गरे ।

यद्यपि उनले संविधानमा नयाँ संविधान जारी नहुन्जेल पदावधी कायम रहने भन्ने स्पष्ट ब्यवस्था रहेकोले नयाँ निर्वाचन भने आवश्यक नरहेको तर्क गरे ।

यस्तै एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले नयाँ जनादेश आईसकेकोले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने तर्क गरे । राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा ठूला दलहरुले नै प्रश्न उठाईसकेपछि हुँदैन भनु जायज नहुने उनको भनाई छ ।

आफ्नो पार्टी सरकार भन्दा १ वर्षभित्र संविधान निर्माणमा केन्द्रित हुने स्पष्ट पार्दै उनले विषयगत समितिहरुबाट पूर्व सहमतिलाई सूचीकृत गरेर नयाँ संविधानसभाले ग्रहण गर्नु पर्ने बताए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले संविधान नबनेसम्म राष्ट्रपति राखिरहने कुरा तर्क संगत नभएको भन्दै एक पटकलाई एक वर्षसम्म अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने प्रस्ताव संविधानसभाबाट पारित गरेर अघि बढ्नु उपयूक्त हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us