‘परिस्थिति र नियतिका कारण संविधानसभाको अध्यक्ष भएँ’

काठमाण्डु टुडे २०७० माघ ६ गते १०:२२ मा प्रकाशित

Surya-Bahadur-Thapaकाठमाण्डु– विगतका विभिन्न कालखण्डमा कार्यपालिकाका विभिन्न तहको जिम्मेवारी सल्हालिसकेका राजनीतिज्ञ सूर्यबहादुर थापाले दोस्रो पटक व्यवस्थापिका–संसद्को उच्च जिम्मेवारी सम्हाल्दै छन् ।

विक्रम संवत् २०१४ मा गठन भएको सल्लाहकार सभाको अध्यक्ष भएका थिए थापा । ५६ वर्षको अन्तरालपछि ८६ वर्षीय थापा संविधानसभाको जेष्ठ सदस्यका रुपमा सोमबार संविधासभाको अध्यक्षको कुर्सीमा आसिन भए ।

‘के गर्नु ! बा आमाले चाँडै जन्माइदिनुभएछ, परिस्थिति र नियतिका कारण यो (संविधानसभाको अध्यक्ष) जिम्मेवारी निर्वाह गर्न आइपुगें । हेर्नुस त ! कसरी परिस्थितिले खोजी खोजी ल्याएको, मेरो रहर थिएन ।’ विगतमा मुटुको बाइपास शल्यक्रियासमेत गरेका अध्यक्ष थापाले भने ।

व्यवस्थापिका–संसद्को भवनमा रहेको पूर्व अध्यक्षकै कोठामा अध्यक्ष पदको पदभार ग्रहण गर्दा उपस्थित सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘यो पद मेरो जीवनका लागि ऐतिहासिक हो, खुसीको कुनै सीमा छैन, विधायिका त भएकै हुँ, अध्यक्ष बन्छुजस्तो लागेकै थिएन । यसका लागि सपना पनि देखेको थिइनँ ।’

अध्यक्ष पदमा बसिरहने विचार गर्नुभएको छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘मेरो शारीरिक अवस्था र क्षमताले यो भ्याउँदैन, अहिले त घटनाक्रमले जिम्मेवारी दिएको हो । यसका लागि योग्य अरु नै छन् । पूर्व अध्यक्ष पनि योग्य मध्येकै एक हुनुहुन्छ ।’

मंसिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनबाट निर्वाचित सभासद्लाई अध्यक्ष थापाले भोलि पद तथा गोपनीयताको शपथ गराउँदै छन् । अध्यक्ष थापाले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिए । यस क्रममा अध्यक्ष थापाबाटै उनकै छोरा सुनिलबहादुर थापाले पनि सभासदको शपथ लिँदै छन् ।

सुनिल धनकुटाबाट निर्वाचित सभासद हुन् । कस्तो संयोग ? अध्यक्ष थापाले भने, ‘के हुन्छ त ? एउटा बहादुरले अर्काे बहादुरलाई शपथ गराउँदछ ।’

‘अध्यक्षको नाम दलहरुले सार्वजनिक गर्न ढिलो गर्नु चिन्ताको विषय हो ।’ थापाले भने, ‘अध्यक्ष हुलबाट छान्ने विषय होइन । योग्य व्यक्ति छान्नुपर्छ ।’

एक वर्षभित्र दलहरुले संविधान जारी गर्दछन् त भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले भने, ‘एक वर्ष होइन, अगावै सार्वजनिक गर्नुपर्छ  । अब नमिलेका विषयमा कुराकानी थाल्न ढिलाइ गर्नुहुन्न । छिटोभन्दा छिटो संविधान जारी गर्न लाग्नुपर्छ ।’

संविधान बनाउने विषयमा दलहरुले सहमति र सहकार्यलाई त्याग्न नहुने र आफ्ना दलगत स्वार्थलाई पन्छाउँदै जनताका स्वार्थलाई ध्यान दिनुपर्ने अध्यक्ष थापाको सुझाव थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us