आफ्नै गाविस भवन पुग्न बास बस्नुपर्ने

काठमाण्डु टुडे २०७० माघ ५ गते ४:५२ मा प्रकाशित

सोलुखुम्बु, ५ माघ-आफ्नै गाविसको भवनसम्म पुग्नका लागि बास बस्नुपर्छ भन्ने कुरा सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बु जिल्लाको वाकु गाविस–४ सिबुचेका नागरिकले गाविस भवनसम्म पुग्नका लागि नै बास बस्नुपर्दछ ।

त्यस्तै हिँड्न सक्नेलाई एक दिन वा १२ घण्टा लाग्ने नत्र अरूलाई भने बास नै बस्नुपर्ने वाक–४ सिबुचेका पासाङ नुरु शेर्पाले बताए ।

भोट हाल्न जाँदा बास बस्नु परेको, गाविसको सिफारिस लिएर घर फर्कंदा तीन दिन लागेको, गाविस सचिव नभेट्दा दुई दिनसम्म फर्केर आउनु परेको, यी र यस्ता थुप्रै समस्या यहाँका स्थानीय बासिन्दाले भोगिरहेका छन् ।

उनीहरुका लागि आफ्नै गाविस भवन टाढा भएकै कारण सिबुचेलाई जुभिङ गाविस–८ सँग गाभ्न चाहिरहेका छन् सिबुचेवासी । उनीहरु भन्छन्–‘सिबुचेलाई जुभिङसँग गाभेको खण्डमा हाम्रा सारा समस्या हट्ने थिए ।’

उनीहरुका अनुसार जुभिङ गाविसमा पुग्नका लागि डेढ घण्टादेखि तीन घण्टाभन्दा बढी समय लाग्दैन । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि पनि जुभिङ गाविसमै निर्भर हुनु परेका कारण पनि उनीहरु जुभिङ गाविससँगै गाभिन चाहना सबै स्थानीयको रहेको सिबुचेका फुरतेम्बा शेर्पाले बताए ।

वाकु गाविस–४ को यो बस्तीलाई जुभिङ गाविससँग गाभ्नका लागि अहिले आएर मात्र महसुस भएको होइन, पञ्चायतकालीन समयदेखि नै पटक–पटक गाउँ भेला गरी निर्णयसमेत गरेर पठाएको स्मरण गर्छन् सिबुचेका पासाङ नुरु शेर्पा । तर हालसम्म भएका प्रयासहरु सबै खेर गएका छन् ।

उनीहरुका अनुसार सिबुचेलाई जुभिङसँग गाभ्न सकेको खण्डमा राज्यबाट पाउने सेवासुविधासमेत प्राप्त गर्न सजिलो हुन्छ । गाविसको कार्यालयदेखि टाढाको दूरीमा रहनु परेको कारण उनीहरुले राज्यबाट लिनुपर्ने सेवासुविधासमेत लिन पाएका छैनन् ।

सिबुचेवासीले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता जस्ता पञ्जीकरणसम्बन्धी कामहरु गरेका छैनन् भने मालपोत करसमेत बुझाएका छैनन् । दुर्गम गाविसका यी मानिसले राज्यको नागरिकको हैसियतले पाउनुपर्ने सेवासुविधा पनि पाएका छैनन् ।

हालसम्म दुर्गम भेगका जनताका लागि सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको चामल र नुनको स्वाद यहाँका बासिन्दाले लिन नपाएको स्थानीय बासिन्दा पासाङ नुरु शेर्पाले बताए ।

सिबुचेका फुरतेम्बा शेर्पा भन्छन्–‘हामीलाई राज्यले पनि उपेक्षा गरिरहेको छ । हाम्रो पिर मर्कालाई बुझेर जुभिङ गाविसमा गाभ्न आवश्यक छ । हो वास्तवमा सरकारले वाकुको सिबुचेलाई हेरेको छैन । गाविसबाट प्रदान गरिने सेवा सुविधा सिबेचेसम्म पुग्दै पुग्दैनन् ।’

भौगोलिक विकटताले जेलिएको वाकुको सिबुचेलाई राज्य पुनःर्सरचनाका क्रममा जुभिङ गाविसमा गाभ्नुपर्ने उनीहरुको जोड हो ।

यदि अबको राज्य प्रणालीमा पनि प्रशासनिक सुगमताका लागि भौगोलिक विकटतालाई सहजता बनाउने प्रयत्न गरिएन भने यहाँका जनताले वास्तविक परिवर्तनको महसुस गर्न सक्ने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us