लमजुङका किसान आर्गनिक कफी खेतीतर्फ

काठमाण्डु टुडे २०७० माघ ४ गते १:५४ मा प्रकाशित

coffee-1लमजुङ, ४ माघ – केही वर्ष पहिले उत्पादन भएर पनि बजार समस्याले पेसा परिवर्तन गर्ने मनस्थितिमा पुगेका लमजुङका कफी किसान विस्तारै उत्पादित कफीले बजार पाउन थालेपछि हौसिएका छन् ।

पछिल्लो समयमा लमजुङमा उत्पादित कफीले देशका विभिन्न सहर र विदेशमा समेत बजार पाउन थालेपछि किसानलाई हौसला मिलेको हो ।

विशेष गरी लमजुङबाट अगार्निक कफीको माग बढी हुने गरेकाले आफूहरुलाई हौसला मिलेको किसानहरुले बताएका छन् ।

लमजुङको धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, भार्ते, विचौर, परेवाडाँडा, सुन्दरबजार, दुराडाँडा, जीता, कुन्छा, भोर्लेटार, गाउँसहर, खुदी, सिम्पानी, घनपोखरा, भुलभुलेलगायतका गाविसका किसानहरु अहिले कफीखेतीतर्फ आकर्षित भएका छन् ।

कफीखेतीबाट आम्दानी बढ्न थालेपछि अन्य खेती हुने जग्गा जमिनमा पनि किसानले कफीको बिरुवा रोप्न थालेका छन् । सेपिलो सीमान्तकृत र भिरालो ठाउँमा कफीखेती राम्रो हुने र लमजुङको धरातलीय स्वरुप पनि त्यस्तै भएकाले लमजुङका कफीखेतीका राम्रो सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उपयुक्त हावापानी, भू–बनोट र बढ्दो मागका कारण धान फल्ने खेतमा पनि अहिले कफीखेती विस्तार भएको छ ।
अहिले लमजुङका विभिन्न भागमा किसानले आफ्नै घरमा कफी पल्र्पर मेसिन राखेर प्रशोधन पनि गर्न थालेका छन् ।
कफीखेती गर्ने किसानको पहलमा लमजुङमा कफी व्यवसायी संघ पनि गठन भएको छ ।

संघको पहल र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा विभिन्न गाविसका किसानले सहकारी संस्थामार्फत कफीखेती विस्तार गरेका छन् । कफीखेतीका लागि कृषि विकास कार्यालयले बिरुवा खरिदमा ५० प्रतिशत अनुदान दिने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको करिब २०० हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेको र वार्षिक ४५ मेट्रिक टन उत्पादन हुँदै आएको कृषि कार्यालयका बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us