आमाको किरियामा बसे पाँच छोरी

काठमाण्डु टुडे २०७० माघ ३ गते ९:३५ मा प्रकाशित

महोत्तरी, माघ – महोत्तरी जिल्लाको गौरीवास गाविसमा छोरा नभएका एक महिलाको किरियामा पाँच छोरी बसेका छन् । गौरीवास गाविस–२ बस्ने चण्डीमाया आलेको छोरा नभए पनि उनको मृत्युपछि उनका पाँच छोरी नै किरियामा बसेका हुन् ।

नेपालमा हिन्दू परम्पराअनुसार बुबाआमाको मृत्युपछि छोराले किरिया बस्ने चलन छ । छोरा नभए भाइभतिजा र भाइभतिजा पनि नहुनेको नजिकका कुनै पुरुष किरियामा बस्ने गर्छ तर गौरीवासमा पुरुष कोही नभएको चण्डीमायाको पाँच छोरी नै किरिया बसेका छन् ।

गत पुस २४ गतेका दिन मृत्यु भएकी ७५ वर्षीया चण्डीमायाका पाँच छोरी पविमाया क्याप्छाकी, ओममाया सुस्लिङ, मनु रखाल, प्रमिला राना र कान्छीमाया राना छोरासरह नै आमाको किरियामा बसिरहेका छन् ।

मृतक चण्डीमायाका छोरीलाई आमाको मृत्युपछि पुरुष मान्छे कोही नभएको खण्डमा छोरीले पनि किरिया बस्न सक्ने स्थानीय पुरेत झलकमान दाहालले बताएपछि मृतककी सात छोरीमध्ये पाँच छोरी सामूहिक रुपमै आमाको किरिया बसेको गौरीवासका महिला सञ्जालका अध्यक्ष रमा विष्टले बताईन् ।

बुबाआमाको किरियामा बस्ने जोसुकैले पनि सेतो कपडा पहिरिनुपर्ने चलन रहे पनि आमाको किरियामा बसेका पाँच छोरीको पहिरन भने सामान्य नै छ ।

गौरीवासमा पाँच छोरी आफ्नी आमाको किरिया बसेको कुराले ठूलो चर्चा पाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us