एक शिशुमा तीन आमाको दावी

काठमाण्डु टुडे २०७० माघ ३ गते २:४६ मा प्रकाशित

three-Mothers-One-Childरुपन्देही, ३ माघ- बुटवल नगरपालिका १३ हात्तीसुँड सुकुमबासीबस्तीमा गत पुस २५ गते जन्मेका एक बालकलाई तीनजना महिलाले दाबी गरेका छन्। संयोगले तीनैजना महिलाको उमेर ३२ वर्ष र उनीहरूका पतिको उमेर ३५ वर्ष छ।

हात्तीसुँडकी लक्ष्मी राईले बालकलाई आफूले जन्म दिएको र गरिबीका कारण पालनपोषण गर्न नसकेकाले सुकुमबासीबस्ती बुद्धनगरकी जयकुमारी रोकालाई ‘उपहार’ दिएको बताइन्। जयकुमारीले पनि आफू र पति सन्तवीर घर्तीमगर नि:सन्तान भएका कारण लक्ष्मीले बालक जन्माएपछि छिमेकीलाई साक्षी राखेर आफूलाई धर्मछोरा बनाउन दिएको बताइन्।

कपिलवस्तुकी राजमती हरिजनले पनि पुस २३ गते लुम्बिनी अञ्चल अस्पतालमा जन्माएर पुस ३० गते हराएको आफ्नो छोरो यही भएको दाबी गरेकी छन्। उनीहरूले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक दिनेश आचार्यसमक्ष यस्तो दाबी गरेका हुन्। राजमतीले हराएको छोरा खोज्ने क्रममा यस्तो विवाद उत्पन्न भएको हो।

प्रहरीले बुद्धनगरमा सुत्केरी नभएकी जयकुमारीसँग शिशु भएको जानकारी पाएपछि जयकुमारी र लक्ष्मीलाई बालकसहित कार्यालयमा ल्याएको थियो। बालक पहिचान गर्न आग्रह गर्दा राजमतीले भनिन्, ‘सक्कलले चिनेकी हुँ। मैलेभन्दा देउरानीले अझ राम्रोसँग ख्याल राखेकी रहिछिन्। यो मेरै छोरा हो।’ उनकी देउरानी फूलमतीले पनि आफ्नो भतिजो उही भएको दाबी गरिन्।

लक्ष्मीले यसअघि एक छोरा र तीन छोरी जन्माएकी थिइन्। अघिल्ला चार सन्तानका बाबु विष्णु राई हुन्। राई केही वर्षअघि बेपत्ता भएपछि लक्ष्मीले विष्णु क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन्। यी बालकका बाबु क्षेत्री हुन्। क्षेत्री पनि चार महिनादेखि बेपत्ता भएपछि आफूले ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्दै आएको लक्ष्मीले बताइन्।

प्रहरी नायव उपरीक्षक आचार्यले लक्ष्मीका छिमेकीसँग बुझ्दा उनी सुत्केरी भएको बयान सही भएको बुझिएकाले तत्कालका लागि बालक लक्ष्मी र जयकुमारीकै जिम्मामा दिने निर्णय गरिएको बताए। राजमतीको दाबीका बारेमा डीएनए परीक्षण गर्नुपर्ने भएकाले बालकको उपयुक्त उमेर नहुँदासम्म पर्खिनुपर्ने उनले बताए।

राजमती सुत्केरी हुँदा गरिएको शल्यक्रियाको टाँका फुकाउन कपिलवस्तुबाट बुटवल आएकी थिइन्। उपचारका लागि पालो कुरेर बसेका बेला एक अपरिचित महिला नाटकीय शैलीमा उनको छोरा बोकेर बेपत्ता भएकी थिइन्। यसबारे प्रहरीले खोजी गरिरहेको जनाएको छ। – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us