खासाका सामान किन्न भारतीयहरू नेपाली बजारमा

काठमाण्डु टुडे २०७० माघ १ गते ११:३१ मा प्रकाशित

कञ्चनपुर, १ माघ – भारतीय नागरिकहरू चिनियाँ लत्ताकपडा किन्न पश्चिमी सीमावर्ती बजार महेन्द्रनगर आउने गरेका छन् ।

शीतलहर बढेसँगै चिनियाँ समान किन्न महेन्द्रनगर बजार आउने भारतीय नागरिकको संख्या बढेको छ । सस्ता र गुणस्तरीय सामान पाइने भएकाले महेन्द्रनगर आएको भारतको बरेली निवासी चटक सिंहले बताए । 

सिंहका अनुसार महेन्द्रनगरको सीमावर्ती भारतीय बजारमा चिनियाँ सामान पाइँदैनन् । ‘महेन्द्रनगरमा चिसोका न्यानो लुगाहरू छानिछानी किन्न पाइन्छ,’ उनले भने, ‘मखमली कपडा, न्यानो लुगा र कस्मेटिक सामान महेन्द्रनगरबाटै किन्न सहज हुन्छ ।’

नेपाली सीमावर्ती बजारका व्यापारीलाई समेत भारतीय ग्राहकले व्यापार बढाइदिएका छन् । ‘महेन्द्रनगरमा चाइनिज सामान बढी पाइने भएका कारण भारतीय ग्राहक बढी आकर्षित हुन्छन्,’ महेन्द्रनगरका व्यापारी धनसिंह धामीले भने ।

विभिन्न प्रकारका विदेशी सामान महेन्द्रनगरमा पाइने हुँदा भारतीयहरू सामान किन्न महेन्द्रनगर आउने गरेको कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान उपाध्यक्ष जनकराज भट्टले बताए ।

सिद्धनाथ इम्पेक्सका प्रोप्राइटर समेत रहेका भट्टले भारतीयले प्रायजसो चिनियाँ सामान मन पराउँछन् । सामान्य अवस्थाभन्दा हिउँदमा कारोबार बढेको व्यापारी भट्टले बताए ।

उनका अनुसार भारतीय ग्राहकले चाइनिज ज्याकेट, टाउजर, झोला, जुत्ता, मखमली कपडा, कम्मल, सल, कस्मेटिक सामान, इलेक्ट्रोनिक सामान (जस्तैः घडी, छाता, टर्च) खरिद गर्ने गरेका छन् ।

‘महेन्द्रनगरमा रहेका फेन्सी पसलको झन्डै ५० प्रतिशत सामान भारतीय उपभोक्तामा निर्भर हुने गरेका छन्,’ उनले भने । भारतको उत्तरखण्ड, नैनिताल, देहरादुन, युपी, खटिमा, बरेलीलगायत टाढा–टाढाबाट भारतीयहरू महेन्द्रनगर बजारमा आउने गरेका छन् ।

‘हिउँदे सामान किन्न आउने भारतीयले होटलमा खाना–नास्ता खाँदा होटलको कारोबार समेत बढेको छ,’ उनले भने ।

पश्चिमी सीमामा रहेको वनबसा पुल २४ सै घण्टा खुला नहुँदा महेन्द्रनगर आवतजावत गर्ने ग्राहकलाई अप्ठ्यारो हुने गरेको छ । पुल सधैँ खुला भए अरु बढी भारतीय ग्राहक महेन्द्रनगर आउँथे ।

पश्चिमी सिमानाका गड्डाचौकीबाट दैनिक हजारौँको सङ्ख्यामा भारतीय महेन्द्रनगर भित्रिने गरेको इलाका प्रहरी कार्यालय गडड्चौकीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक धर्मराज अवस्थीका अनुसार दैनिक एक हजारभन्दा बढी भारतीय नागरिक नेपाल भित्रिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us