सावधान ! यसरी झुक्याउला एनटीसीले

काठमाण्डु टुडे २०७० पुष ३० गते ९:३० मा प्रकाशित

NTCकाठमाण्डु– तपाईं मोवाइलबाट इन्टरनेट चलाउनु हुन्छ ? यदि चलाउनु हुन्छ भने पक्कै पनि नेपाल टेलिकमको जीपीआरएस सर्भिसको बारेमा जानकारी हुनुपर्छ ।

नेपाल टेलिकमको प्रिपेड मोवाइलबाट इन्टरनेट चलाउँदै गर्दा कहिलेकाहीँ तपाईंसँग थोरै ब्यालेन्स हुँदा पनि लामो समयसम्म इन्टरनेट चल्ने गरेको होला ।

पैसा नहुँदा पनि इन्टरनेट चल्यो भनेर खुसी हुने गर्नुभएको छ भने, खुसी नभए हुन्छ ।

किनकी तपाईंले यस्तो अवस्थामा चलाएको इन्टरनेटको शुल्क मोवाइलमा रिचार्ज गरेपछि आफैँ काटिन्छ ।

नेपाल टेलिकमले मोवाइलको नेटवर्क अपग्रेड गरेदेखि यस्तो अवस्था आएको हो । जीपीआरएस सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन भन्दै गरिएको अपग्रेडपछि अहिले एनटीसी नयाँ सिस्टम परीक्षणका क्रममा छ । जसका कारण यस्तो प्रभाव देखिएको हो ।

मोवाईल सेवा निर्देशनालय पुल्चोकका डेपुटी म्यानेजर अमुल प्रधानकाअनुसार हाल एनटीसी मोवाइलमा जीपीआरएसको बिलिङ सिस्टम ‘नेट टु रियल टाईम’ अनुसार भइरहेको छ ।

यस सिस्टममा तपाईले इन्टरनेट चलाउँदै गर्दा तपाईंको ब्यालेन्स तत्कालै काँटिदैन । जब तपाईंले इन्टरनेट डिस्कनेक्ट गर्नुहुन्छ, त्यसको केही समयपछि मात्रै तपाईंले कति समय इन्टरनेट चलाउनु भयो, त्यो अनुसारको ब्यालेन्स काटिन्छ ।

यस्तो गर्दा तपाईंले आफूसँग भएको ब्यालेन्स भन्दा बढि पैसाको नेट चलाउनु भयो भन्ने कुरा नेपाल टेलिकमको सिस्टमलाई पत्तो नै हुँदैन । सिस्टममा तपाईंले चलाउनु भएको इन्टरनेटको डाटा बारे तबमात्रै जानकारी प्राप्त हुन्छ, जब तपाईंले इन्टरनेट डिस्कनेक्ट गर्नुहुन्छ ।

फोन गर्दाजस्तो तपाईंको ब्यालेन्स सकिएपछि आफैं डिस्कनेक्ट हुँदैन ।

यस्तो अवस्थामा कहिलेकहिँ तपाईंले आफूसँग भएको ब्यालेन्स भन्दा बढी पैसाको नेट चलाउनु भयो भने, त्यो क्रेडिटको रुपमा बस्ने गरेको छ । यस्तो क्रेडिट ४५ रुपैयाँभन्दा बढि भएपछि सो शुल्क नतिरेसम्म तपाईंको मोवाइलमा जीपीआरएस सेबा नै काटिने छ ।

फाइदाभन्दा घाटा बढी
नेपाल टेलिकमको प्रिपेड मोवाइलमा जीपीआरएस सुविधाको उपभोग गर्ने अधिकांश उपभोक्ताहरु किशोर–किशोरी त्यसमा पनि विद्यार्थीहरु बढि छन् । उनीहरु अधिकांशको नियमित कमाई नहुने हुनाले आफूसँग भएको रकम अनुसार फोन र इन्टरनेट चलाउने गरेका छन् ।

कहिलेकाहीँ थोरै ब्यालेन्समा पनि लामो समयसम्म इन्टरनेट चल्दा उनीहरुलाई आफ्नो ब्यालेन्स क्रेडिटमा गएको पत्तै हुँदैन । जब नेपाल टेलिकमबाट यस्तो ‘Dear Customer, your DATA usage has exceeded Rs. …. So your data service has been barred. please rechage your account to restore Data service . – NT’ एसएमएस आउँछ त्यसपछि मात्रै उनीहरुलाई क्रेडिटमा गएको थाहा हुने गरेको छ ।

थोरै क्रेडिट भए त उनीहरुले रिचार्ज गरेपछि काटिन्छ, तर कतिपय अवस्थामा क्रेडिट नै रिचार्ज गर्ने ब्यालेन्स भन्दा बढि भएमा त्यो क्रेडिटमै रहिरहने गरेको छ ।

यस्तै समस्या भोगेका ललितपुरका एक किशोर भन्छन्, ‘मेरोमा १ सय ५१ रुपैयाँ क्रेडिट छ भनेर म्यासेज आएको छ, यो म्यासेज आएपछि सय रुपैयाँभन्दा बढि रिचार्ज गरेकै छैन, बढि किन गर्नु ? १ सय ५१ रुपैयाँभन्दा बढि रिचार्ज गर्यो भने त्यो पैसा आफैं काटिन्छ रे !’

उनी आजभोलि पैसा यत्तिकै काटिने डरले सय रुपैयाँ भन्दा कम रिचार्ज गर्छन्, जसका कारण उनको मोवाईलमा जीपीआरएस सेवा अवरुद्ध छ भने, टेलिकमलाई १ सय ५१ रुपैयाँ घाटा ।

फोन गर्दाजस्तै आफ्नो ब्यालेन्स सकिएपछि स्वतः काटिने व्यवस्था हुनुपर्ने उनको सुझाव छ । ‘हामी आफूसँग भएको ब्यालेन्स अनुसार मोवाइल प्रयोग गरिरहेका हुन्छौं, उनी भन्छन् ‘नयाँ सुविधाले हामीलाई फाइदाभन्दा बढि घाटा भएको छ ।’

आफ्नो ब्यालेन्स सकिएपछि क्रेडिटमा नेट चल्दैछ भन्ने कुरा तत्कालै आफूलाई जानकारी हुनुपर्ने समस्या भोग्नेहरुको माग छ । पछि अत्यावश्यक कामका लागि गर्ने रिचार्ज पनि यत्तिकै काटिँदा कैयन पटक आफूहरु समस्यामा परेको उनीहरुको भनाइ रहेको छ ।

परीक्षणका क्रममा छौं : टेलिकम
नेपाल टेलिकम मोवाइल सेवा निर्देशनालयका डेपुटी म्यानेजर अमुल प्रधान आफूहरु नयाँ सिस्टम परीक्षणका क्रममा रहेकाले यस्तो समस्या आएको स्विकार्छन् । ‘हामी नयाँ सिस्टम परीक्षणका क्रममा छौं,’ काठमाण्डु टुडेसँग उनले भने, ‘छोटो समयका लागि भनेर हामीले यसको प्रयोग गरेका हौं ।’

उनका अनुसार पहिले जेडटीईको सिस्टम रहेकोमा अहिले ‘नेट टु रियल टाईम’मा चलिरहेको छ, अब छिट्टै सिआरटीबी सिस्टममा जाने तयारी भइरहेको छ ।

‘हामी सिआरटीबी सिस्टममा जाने तयारीमा छौं,’ उनले भने, ‘त्यसको परीक्षण सफल भएपछि पूर्ण रुपमा लागु हुन्छ, त्यसपछि यस्तो समस्या आउँदैन ।’ पछिल्लो एक–दुई दिनदेखि थप समस्या देखिएको भन्दै उनले त्यसको छिट्टै समाधान गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us