
बेनी, २५ पुस–म्याग्दीको दुर्गम बस्ती निस्कोटमा रहेको उपस्वास्थ्य चौकी विगत ९ महिनादेखि अहेबविहीन अवस्थामा सञ्चालन भैरहेको छ । गत चैतमा निस्कोट उपस्वाथ्य चौकीमा कार्यरत अहेब रेशम सुनवार सरुवा भएर गएपछि अहिलेसम्म उक्त उपस्वास्थ्य चौकी अनमीको भरमा सञ्चालन हुँदै आएको छ ।
स्वास्थ्य चौकी अहेबविहीन बनेपछि सामान्य उपचारका लागिसमेत सर्वसाधारण सदरमुकाम धाउन बाध्य छन् ।
उपस्वास्थ्य चौकीमा दैनिक करिब १२ जनाभन्दा बढी सर्वसाधारण स्वास्थ्यसेवा लिन आउने गरे पनि स्वास्थ्य जाँच गर्न कठिनाइ हुने गरेको अनमी कुमारी पुनले बताइन् । ‘सामान्य रुघाखोकी, पखालाका बिरामीलाई उपचार गर्ने र सुरक्षित मातृत्व, गर्भवती जाँच, खोप लगायतका सेवाहरु दिने गरेका छौं,’ अनमी पुनले भनिन्, ‘‘अलि जटिल प्रकृतिका बिरामीको उपचार गर्न कठिनाइ भएकाले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ र जिल्ला स्वास्थ्य कार्यालयमा पठाउनुपर्ने बाध्यता छ ।’
अहिले उक्त स्वास्थ्यचौकीमा आउने बिरामीलाई अनमी कुमारी पुन र भ्याक्सिनेटर ज्ञानु पुनले सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य चौकीमा एकजना कार्यालय सहयोगीका रुपमा स्थानीय सुनमाया विकलाई गाविसले तलब दिएर राख्दै आएको छ । कार्यालयमा सेवा प्रदान गर्ने कर्मचारीको अभाव भएपछि भ्याक्सिनेटर पुनलाई सरकारले दिने मासिक तीन हजार तलब सुविधामा गाविसका तर्फबाट थप चार हजार दिएर पूर्णकालीन कर्मचारी बनाइएको छ ।
दरबन्दीका कर्मचारी नहुँदा स्थानीय स्रोतबाट राखिएका कर्मचारीको तलब सुविधा जुटाउन कठिनाइ हुने गरेको स्थानीयवासी समाजसेवी लेकबहादुर पुनले बताए । ‘स्वास्थ्य चौकीमा कहिले कुन कर्मचारी आउँछ र जान्छ व्यवस्थापन समितिलाई कुनै जानकारी नै छैन,’ उनले भने, ‘दुर्गम भेगमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राज्यको नजर पुग्नुपर्यो ।’
अहिले कार्यरत कर्मचारीको एक लाख १२ हजार रुपैयाँ तलब अपुग रहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिले जनाएको छ ।