
काठमाण्डु, २४ पुस- एकीकृत नेकपा माओवादीको पार्टी इतिहासमा आन्तरसंघर्षका कयौं निर्णायक मोडहरु छन् । जसमध्ये धोवीघाट गठबन्धन पनि एक चर्चित परिघटनाका रुपमा रहेको छ ।
२०६४ वैशाखमा मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मिलेर गरेको गठबन्धनलाई एकीकृत माओवादीमा धोवीघाट गठबन्धनका नाममा चिनिन्छ ।
सोही गठबन्धनबारे एक नेताले अध्ययन थालेका छन् । उनी हुन् पूर्वपोलिट्ब्युरो सदस्य गोपाल किराँती । किराँती अभिव्यक्ति र व्यवहारका कारण बेलाबेला चर्चामा आइरहने माओवादी नेता हुन् ।
संविधानसभा निर्वाचनमा पार्टीले अनपेक्षित पराजय भोगेपछि बसेको पूर्वपोलिट्ब्युरो बैठकमा नेता बाबुराम भट्टराईलाई सभामुख र अर्का नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रपतिमा प्रस्ताव गरेर उनले सबैको ध्यान आफूतर्फ तानेका थिए । पछिल्लो समय उनी अनौठो अध्ययनमा लागेका छन् ।
त्यो हो माक्र्स, लेनिन र माओकालीन समयमा धोवीघाट गठबन्धन भएकी भएनन् भन्ने । किराँतीले आफूले गर्न लागेको अध्ययन र त्यसको कारणबारे काठमाण्डु टुडेलाई यस्तो बताए ।
संविधानसभा निर्वाचनपछि हाम्रो पार्टी र पार्टी नेतृत्वमा रुपान्तरण मुख्य मुद्धा बनेर आएको छ । मेरो बुझाइमा पार्टी हारका लागि मुख्य नेताले सबैभन्दा बढी रुपान्तरणका साथै योग्यता र खुबीको विकास गर्नुपर्छ । अरु सहायक नेताहरुले बढी धैर्यता र त्यागको भावना देखाउन सक्नुपर्छ ।
रुपान्तरणकै सन्दर्भमा म भने धोवीघाट गठबन्धनको अध्ययनमा लागेको छु । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा कार्लमाक्र्ससँग एंगेल्सले, लेनिनसँग स्तालिनले र माओसँग चाओ एन लाओले संघर्ष गरेको हामी पाउँछौं । उनीहरुले संघर्ष गर्नुपर्दा धोवीघाट गठबन्धन गरेकी गरेनन् होला म त्यसको अनुसन्धानमा जुटेको छु ।
अनुसन्धान थालेको बल्ल तीन दिन भएको छ, त्यस क्रममा केही पुस्तहरु पढें र केही साथीहरु तथा कम्युनिष्ट आन्दोलनका जानकारहरुसँग छलफल गरें । भर्खरै अध्ययन थालेको हुनाले निष्कर्षमा पुग्ने बेला त भएको छैन । तर सैद्धान्तिक रुपमा कतैबाट हेर्दा पनि इतिहासका पानामा अहिलेसम्म धोवीघाट भेटिरहेको छैन ।
तर म धोवीघाट खोज्न छाड्दिन, किनभने नेपालमा क्रान्ति सम्पन्न नभएसम्म म र मजस्ता अरु धेरैलाई धोविघाटको भूतले सताइरहन्छ । धोवीघाटकै कारण पार्टी फुट्यो । त्यतिमात्र होइन, कम्युनिष्ट पार्टीका एक मात्र संस्थापकलाई समेत आफ्नो स्वार्थको हतियार बनाउन धोवीघाटमा उभ्याइयो ।
धोवीघाटले किरण र बादल नामका एंगेल्स बाहिरिए अरु दुईवटा एंगेल्स (बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ)लाई धोवीघाटको धमिराले खाइरहेको छ ।
उकालीमा बर होइन, पिपलु
हामी सानोछँदा गाउँघरमा गोठालो र घाँस–दाउरा जाँदा एउटा गित खुब चल्तीमा थियो । कहिले काहीं रेडियोमा पनि बजेको सुनेको छु । त्यो हो ‘उहालीमा बर होइन पिपलु, लानेभन्दा फकाउने सिपालु’ ।
केटी लाने त हिरो नै भइहाल्यो । तर भनिन्छ केटी फकाइदिने चाहिं झन् सिपालु हुनुपर्छ । किनभने फकाइदिनेले नानाथरी कुरा गरेर मञ्जुर गराइदिएपछि मात्र भगाउनेले भगाउने हो ।
यो नेपाली समाजको अनुभवका आधारमा मैले भन्दैछु । अर्को पनि भनाइ छ, धामीभन्दा झाँक्री सिपालु हुनुपर्छ ।’ तर हाम्रोमा केटी लानेभन्दा केटी फकाउने कमजोर भए धामीभन्दा झाँक्री झन् काम नलाग्ने भए । अनि कसरी पार्टी बन्छ ? केटी फकाउने र झाँक्रीको भूमिकामा रहेका नेताहरुले आफूलाई सनक चढ्ने बित्तिकै धोवीघाट गर्न भएन नि ?