रवीन्द्रप्रताप शाह पूर्वप्रहरी महानिरीक्षक हुन् । तर यत्तिले मात्र उनको परिचय पूरा नहुने भएको छ । शाह एकीकृत नेकपा माओवादीको सिफारिसमा समानुपातिकतर्फबाट सभासद बनेका छन् । उनी सभासद भएको विषयले एकीकृत माओवादीभित्र एक प्रकारको हलचल नै ल्याइदियो । बाहिर नि त्यसको चर्चा अझै सेलाएको छैन । १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा संघर्ष गरेका नेता–कार्यकर्तालाई उछिनेर शाह कसरी सभासद बन्न सफल भए भन्नेबारे काठमाण्डु टुडेले उनीसँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ शाहसँगको कुराकानीको सम्पादित अंश ।
तपाईंलाई ‘आईजीसाब’ जय नेपाल भन्नुपर्ने कि, ‘कमरेड लालसलाम ?’
म नेपाल प्रहरीको पूर्वमहानिरीक्षक हुँ । ‘रिटायर्ड लाइफ’ बिताइरहेको छु । भर्खरै एकीकृत नेकपा माओवादीको सिफारिसमा सभासद पनि भएको छु ।
पूर्वप्रहरी कर्मचारी भएका कारण जय नेपाल भन्नु पनि अन्यथा हुँदैन । माओवादीको सिफारिसमा सभासद बनेको हुनाले कसैले लालसलाम पनि भन्लान् । कमरेड चाहिं अलि भइसक्या छैन कि ! (लामो हाँसो….) यहाँ धेरैथरी कमरेड छन् ।
चित्रबहादुर केसी पनि कमरेड, एमाओवादी पनि कमरेड, नेकपा–माओवादी पनि कमरेड, एमाले पनि कमरेड, नेकपा संयुक्त पनि कमरेड, भक्तपुरको नेमकिपा पनि कमरेड अनि सिपी मैनाली पनि कमरेड कति पर्लैका कमरेड हुन् ?
तपाईं सभासद बन्नुभयो, अब ‘माननीय ज्यू’ भन्ने कि ‘आईजीसाब’ ?
चिन्न त दुवैबाट चिन्ने हो । म संविधानसभामा जाँदा पनि धेरैले मलाई ‘आईजीसाब’ भनेर नै बोलाउँछन् जस्तो लाग्छ ।
धादिङमा सामान्य परिवारमा हुर्केको मान्छे, प्रहरीमा भर्ती हुँदा संगठनको प्रमुख र देशकै संविधान लेख्ने ठाउँमा पुगौंलाजास्तो लागेको थियो ?
इन्सपेक्टरमा भर्ती हुँदा संगठनको प्रमुख नै हुन्छुुजस्तो त लागेको थिएन । पछि आफ्नो वृत्तिविकास राम्ररी हुँदै एसएसपी भएपछि भने म पनि आईजीपी हुनसक्छु भन्ने लाग्न थाल्यो ।
मलाई परिस्थिति र ईश्वरले साथ दियो । तर, राजनीति गर्छु भन्ने चाहिं असोज १७ गतेसम्म पनि थिएन । असोज १८ गते समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको हो क्यारे । त्यसअघि राजनीतिमा लाग्छु भन्ने कल्पना पनि गरेको थिइन ।
आफ्नो नाम समानुपातिक सभासदको अन्तिम सूचीमा परेको पहिलोपटक कसरी थाहा पाउनुभयो ?
पुस १५ गते एमाओवादीका पदाधिकारीहरु निर्वाचन आयोग पुगेर सूची बुझाएपछि पत्रकार साथीहरुले रवीन्द्रप्रतापको नाम छ कि छैन भनेर बुझेछन् । उनीहरुले नै फोन गरेर मलाई भनेका हुन्, तपाईं पर्नुभएछ भनेर ।
कस्तो लाग्यो खबर सुनेपछि ?
एक मनले जिन्दगीमा कहिले पनि नपाउने पद पाएँजस्तो लाग्यो, खुसी पनि भएँ । फेरि एक मनले राजनीति गर्ने सोच थिएन, भनेर धेरै खुसी भएजस्तो पनि महसुस भएन । पाउँदै नपाउने कुरा पाउँदा मानिस जति खुसी हुन्छ नि, त्यस्तो चाहिं भएन ।
सोच्दै नसोचेको पेशामा म कसरी होमिने ? भोलि कस्तो भूमिका खेल्ने ? त्यो भूमिका निभाउन सक्छु कि सक्दिन ? म आफ्नो जीवन प्रहरी सेवामा बिताएको मान्छे, आजसम्म राजनीति गरेकै छैन ।
त्यसैले त्यो भूमिकामा फिट हुने/नहुने भन्ने कुराचाहिँ पछि परीक्षण होला । त्यसमा म सफल पनि हुनसक्छु, असफल पनि हुनसक्छु । त्यसकारण मलाई खुसीको साथसाथै चिन्ता पनि छ ।
प्रहरी प्रमुख भइसकेको मान्छे, हुन त पहिले नै सेलिब्रेटी हुनुहुन्थ्यो, सभासद बनिसकेपछि थप चर्चामा आउनुभयो नि ?
समाजमा विभिन्न किसिमका मान्छे हुन्छन् । यहाँ हरेक व्यक्तिको नकारात्मक पक्षको कल्पना गरेर त्यसलाई प्रचार–प्रसार गर्ने चलन छ । कतिपय साथीहरुले यो सोचेकै थिएनन् होला म कुनै समय एमाओवादीबाट सभासद बन्छु भनेर ।
एमाओवादीभित्रकै कतिपय व्यक्तिले डाहा, ईष्र्याले मलाई अनेक लान्छाना लगाए होलान । कतिपय अरु साथीले अर्कै विचारधारा बोकेको मान्छे माओवादीमा लाग्यो पनि भने । मेरो ‘इमेज’मै धक्का पुग्ने गरी नकारात्मक प्रचार भएको छ ।
तपाईं आजको दिनमा माओवादी होइन ?
सभासद भएको नाताले होइन भन्न त सक्दिन, तर औपचारिक रुपमा पार्टी सदस्यता लिएको छैन ।
अब लिनुहुन्छ ?
खै, अहिलेसम्म कसैले लिनुपर्छ पनि भनेको छैन ।
सभासद हुन निकै मोटो रकम खर्चनुभयो भन्ने चर्चा पनि छ नि !
मलाई ‘इन्ट्रेष्ट’ नै नभएको विषयमा किन पैसा खर्च गर्नु ?
सबैले त्यस्तै भन्छन् त ?
भन्नेले त भन्छन् नि । अरुको ‘इमेज’ नै ध्वस्त बनाउन खोज्ने थुप्रै मान्छेहरु यहाँ सक्रिय छन् ।
एमाओवादीले ३ सय ३५ जनाको सूची निर्वाचन आयोगमा बुझाएको थियो, त्यहाँ जनयुद्धमा योगदान गरेका र सभासदका लागि योग्य धेरै नेता–कार्यकर्ता थिए, तर तपाईं जनयुद्ध दबाउन भूमिका खेलेको मान्छे चाहिं छानिने, उनीहरु बाहिरिने भयो, यसले आशंका त भएकै छ नि ?
मान्छेले विभिन्न कोणबाट सोच्लान, त्यो स्वभाविकै होला । तर मलाई जुन पेशामा रुची नै छैन, त्यसमा पैसा खर्च ग¥यो भन्नु त मिथ्या आरोप मात्र हो । जहाँसम्म म परेँ अरु किन परेनन् भन्ने कुराको जवाफ मैले दिने होइन । य
सबारे पार्टीका शीर्ष नेतालाई सोध्नु राम्रो होला । अहिले म ५४ जनामा पर्दा विरोध गर्नु त्यति स्वभाविकजस्तो लाग्दैन । उहाँहरुले ३ सय ३५ जनाको सूची बुझाउँदा नै विरोध गर्नुपथ्र्यो । एमाओवादीले शतप्रतिशत सिट जितेको भए म स्वतः पर्थें त ।
३ सय ३४ जनामात्रै लड्ने भिड्ने त होइन नि माओवादीमा लडेका मान्छे नपरेर म ३ सय ३५ मा पर्नु पनि ठीक थिएन नि ! त्यो हिसाबले सोच्ने हो भने । त्यही बेलामा सबैले विरोध गरेको भए हुन्थ्यो । सायद मेरो नाम काटिन्थ्यो होला, मलाई पनि आनन्दै हुन्थ्यो ।
एमाओवादीका पूराना नेता हेमन्तप्रकाश ओलीले सार्वजनिक रुपमै आफ्नी छोरीको हत्यारा सभासद भएको र आफू नपरेको भनेर टिप्पणी गर्नुभयो नि ?
उहाँको नाम मात्रै सुनेको छु, उहाँसँग मेरो व्यक्तिगत चिनजान छैन । र कुनै रिसइबी पनि छैन । उहाँ एमाओवादीको पोलिटब्युरोतहको नेता हुनुहुन्छ भन्ने सुनेको छु, राम्रै नेता हुनुहुन्छ होला । उहाँकी छोरी मारिएको भन्ने विषय म पहिलोपटक सुन्दै छु ।
मलाई मेरो कार्यकालभर त्यसरी मारिएको भन्ने थाहा छैन । अहिले उहाँले मलाई त्यो आरोप लगाउनुभएको छ, सायद सुरक्षा निकायले गरेको हुनाले म पनि त्यतिबेला सुरक्षा निकायको सदस्य भएको नाताले आरोप लगाउनु भएको होला ।
मलाई कुन आधारमा व्यक्तिगत रुपमा त्यस्तो आरोप लगाउनु भएको हो, मैले बुझ्न सकेको छैन । मैले उहाँकी छोरी मारेको हो कि होइन भन्ने कुरा त फाईल खोजेर हेर्दा नै थाहा हुन्छ नि ।
जनयुद्धकालमा तपाईं प्रहरीको अधिकृत हुनुहुन्थ्यो, त्यो समयमा माओवादी नेता कार्यकर्ता सुरक्षाकर्मीबाट मारिएको, बेपत्ता पाएिको कुरामा तपाईंले नैतिक जिम्मेवारी लिनुपर्दैन ?
व्यक्तिगत रुपमा कसैप्रति खराब भावना राखेर मैले त्यस्तो किसिमको काम केही गरेकोजस्तो लाग्दैन । मैले त्यतिबेला राज्यले दिएको जिम्मेवारी पूरा गरेको हो । त्यसमा राज्य जिम्मेवार छ । हामीेले राज्यको आदेशमा काम गरेको हुनाले त्यसको सबै जिम्मेवारी राज्यले लिनुपर्छ ।
राज्यले दिएको निर्देशन पालना गर्दा त्यसको हिसाबकिताब जागिर छाडेपछि व्यक्तिगत रुपमा लिने हो भने त कसैले पनि सेना प्रहरीमा जागिरै नखाए भयो नि ।
सभासद चयन भइसकेपछि माओवादीका कोही नेतालाई भेट्नु भएको छ ?
कसैलाई भेटेको छैन ।
नेताहरुले यत्रो ‘रिस्क’ मोलेर सभासद बनाए, धन्यावदसम्म त दिनुपर्ने होइन र ?
दिउँला नि अहिले के बित्या छ र ? भेट भइहाल्छ दिउँला नि त ..! म एमाओवादी पार्टी र त्यसका शीर्ष नेताहरुप्रति आभारी छु, किनकी उहाँहरुले मलाई त्यो पदका लागि योग्य ठानेर जिम्मेवारी दिनुभयो ।
तपार्इंकै भाषामा भन्ने हो भने रुची नभएको पद पाउनुभयो, त्यसका लागि सबैभन्दा बढी धन्यावाद कसलाई दिनुहुन्छ ?
म तीनैजना शीर्ष नेतालाई धन्यवाद दिन्छु । मसँग कुरा गर्दा उहाँहरु तीनैजना हुनुहुन्थ्यो । अन्य नेताहरु, जसले मप्रति सद्भाव राख्नुहुन्छ, उहाँहरुलाई पनि धन्यवाद दिन्छु । एमाओवादी पार्टीप्रति आभारी छु ।
तपाईंलाई विगतमा कांग्रेसनिकट भनेर चिनिन्थ्यो, माओवादीकै नेतृत्वमा रहेको सरकारले प्रहरी प्रमुख बनायो, त्यही पार्टीले सभासद पनि बनायो, अब पूरानो सम्बन्ध त भत्कियो है ?
मेरोतर्फबाट भत्किँदैन । एउटा कुरा मैले कहिल्यै पनि काँग्रेसको सदस्यता लिएको छैन । पुलिसमा जागिर खाइयो, पुलिसमा जागिर खाँदा कुनै पार्टीमा लाग्ने भन्ने कुरै भएन । तर, हाम्रो परिवार लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने परिवार हो ।
काँग्रेस पनि लोकतान्त्रिक पार्टी भएकाले त्यसप्रति नजिक भएको भन्ने मान्छेहरुको सोचाई हो ।
काँग्रेसका नेताहरु एमाओवादी कोटाबाट सभासद नबनेको भए हुन्थ्यो, त्यस्तो इच्छा रहेछ सभासद हामी पनि बनाइदिन्थ्यौं भन्न आएका छैनन् ?
म कसैसँग माग्न गएको होइन । प्रस्ताव आएको हो । प्रस्ताव काँग्रेसबाट आएन, एमाओवादीबाट आयो ।
माओवादीमा एक सय एक नेताहरु छन् । उनीहरुका अगाडि तपाईं नभइनहुने मान्छे हुनुहुँदो रहेछ, इच्छा नहुँदानहुँदै पनि सभासद बनाउनुपर्ने होइन ?
इच्छा नहुँदानहुँदै भन्दा पनि, उहाँहरुले मलाई ‘कन्भिन्स’ गर्नुभयो भनौं न । फेरि समानुपातिकमा पार्टीका ‘क्याडर’ मात्रै पर्नुपर्छ भन्ने होइन नि । म गलत पनि हुनसक्छु, तर मेरो विचारमा काँग्रेसबाट पनि त रामेश्वर खनाल, श्रवण मुकारुङ पर्नुभएको छ नि, उहाँहरु पनि भर्खरै काँग्रेस प्रवेश गर्नुभएको हो ।
एमालेबाट महेन्द्र शेरचन सभासद भन्नुभयो । भुवन केसीको नाम पनि उम्मेदवारको सूचीमा थियो ।
उहाँहरु पनि त पार्टीको ‘क्याडर’ होइन । त्यसकारण समानुपातिक भनेको विभिन्न क्षेत्रमा योगदान दिएको मान्छेलाई २६ सिटले मात्रै समेट्न भ्याउँदैन भनेर केही सिट त्यसमा पनि प्रयोग गरिन्छजस्तो लाग्छ ।
माओवादी जनयुद्धमा रहँदा उसको हितमा काम गरेकाले पो तपाईं यो पदका लागि लायक हुनुभएको हो कि ?
होइन । म प्रहरी प्रमुख बन्दा माओवादी र एमालेको सरकार थियो । पछि एमाओवादी र मधेसी मोर्चाको सरकार भयो । म प्रहरी प्रमुख रहेको समयभर सरकार र कर्मचारीका हिसाबले ‘रिलेसन’ हुने नै भयो ।
त्योभन्दा बढी सहयोग पु¥याउनुपर्ने अवस्था पनि रहेन । सहयोग पु¥याउन पर्ने पनि थिएन । उहाँहरुलाई मेरो काम गर्ने ‘स्टाइल’ मन प¥यो होल । मलाई पनि व्यक्तिगत हिसाबले माओवादीका नेताहरुको काम गर्ने तरिका मन पर्छ ।
उहाँहरुलाई ‘कन्भिन्स’ गर्न सजिलो छ । अन्य पार्टीका नेताहरुलाई भन्दा उहाँहरुलाई यो कुरा ठीक, यो कुरा बेठीक भनेर ‘कन्भिन्स’ गर्न सजिलो छ । त्यसैले एकअर्काको कार्यशैली रुचाएर नजिक भएको हुनुपर्छजस्तो लाग्छ ।
संविधानसभामा पूर्वप्रहरी पूर्वमहानिरीक्षक नै चाहिने भए अरु पनि दर्जनभन्दा बढीको हाराहारीमा थिए, तपाई नै किन चाहिएको को त ?
त्यही त उहाँहरुलाई मेरो कार्यशैली मन प¥यो । अन्य साथीहरुले उहाँहरुसँग काम गर्नुभएन । मैले बाबुराम भट्टराई प्रधानमन्त्री र कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा काम गरें । उहाँहरुले मसँग काम गर्नुभयो, मलाई चिन्नुभयो, अरुसंग काम गर्न पाउनु भएन नि त ।
अब संविधानसभामा गएर के गर्नुहुन्छ ?
मेरो भनाइ त्यहाँ कति सुनुवाई हुन्छ, थाहा छैन । तर मेरो ध्यान नेपाल प्रहरीलाई ऐन कानुनबाट बलियो बनाउनुपर्छ भन्नेतर्फ हुनेछ । किनभने राजनीतिक पार्टीका नेताहरुले नेपाल प्रहरीको संगठन र त्यसका पदाधिकारी सबैलाई खेलौनासरह प्रयोग गरे । त्यसबाट प्रहरी संगठन मुक्त हुनुपर्छ । प्
रहरी राजनीति हस्तक्षेपबाट मुक्त भएमा मात्र जनताले सही सेवा पाउँछन् । प्रहरीले हस्तक्षेपमुक्त वातावरणमा सेवा गर्न पाउनु भनेको आम नागरिकलाई न्याय दिनु हो ।
तपाईंलाई यसो गर्नुपर्छ भनेर कसैले सुझाव दिएका होलान नि ?
छैन । अहिलेसम्म कसैले यसो गर्नुपर्छ भनेर सुझाव दिएको छैन । यो सबै मेरो सोचाई हो । भविष्यमा दिए पनि त्यसलाई ग्रहण गरौंला ।
तपाईंलाई कतिपय पूर्वसहकर्मीहरुले जुन पक्षसँग द्वन्द्व भयो, त्यसकै सिफारिसमा सभासद बन्नु हुन्थेन पनि भनेका होलान ?
त्यो भन्नेसँग के लजिक छ ? सधैँ लडेरै बसिरहने हो भने १२ बुँदे सम्झौता किन गरेको ? किन द्वन्द्व बिसाएको ? १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौताको अर्थ त अब झगडा नगरौं, मिलेर देश बनाउँ भन्ने न हो । सम्पूर्ण रुपमा द्वन्द्व बिसाएको ७ वर्ष भइसक्यो ।
अझैपनि पूरानै द्वन्द्व सम्झेर बस्ने हो भने शान्ति सम्झौताको के औचित्य ? कोही एमाओवादीमा जान नहुने, कसैले छोड्न पनि नपाईने त्यस्तो त हुँदैन नि । जहाँसम्म जान नहुने भन्ने कुरा छ, कुनै एकजना व्यक्तिको भनाई सुनेर भएन ।
यदि राज्यले त्यस्तो सोच्छ भने त्यही किसिमको कानुन बनाउनु प¥यो नि । जबकी हामीभन्दा ठूलो शक्ति नेपाली सेनाबाट कुमार फुदुङ जर्साव जाँदाखेरी यो कुरा नउठ्ने, म आज सभासद हुँदा किन त्यो कुरा उठ्ने ? उहाँ पनि अन्तरिम व्यवस्थापिकाको सभासद हुनुभएको हो । डीबी लामा, ध्रुवबहादुर प्रधान, प्रदीपमशेर जवरा सक्रिय राजनीतिमा लाग्नु भएको छ ।
भनेपछि अब राजनीतिमा कसिएरै लाग्नुहुन्छ ?
अझै पनि राजनीतिमा मेरो यही ५ वर्ष होलाजस्तो लाग्छ ।
सभासदबाट राजीनामा दिने मनस्थितिमा हुनुहुन्छ रे ?
त्यो पछिको कुरा हो । अहिलेसम्म त्यस्तो सोचेको छैन । मलाई एमाओवादीले सभासद बनाएको हो, भोलि पार्टीले तपाईंका कारण अप्ठ्यारो प¥यो छोडिदिनुस् भनेको अवस्थामा छोडिदिन्छु ।
तपाईं एमाले नेता केपी ओलीको छिमेकी हुनुहुन्छ, झापाबाट चुनाव जित्नुभयोे, बधाई दिन जानुभएन ?
मैले घरमै गएर बधाई दिएँ, धन्यावाद भन्नुभयो ।
उहाँले चाहिं तपाईंलाई बधाई दिनुभएन ?
त्यो बेला म सभासद भएकै थिइन । खै आजभोलि उहाँको यतातिर चहलपहल देखिँदैन ।
ओलीले त माओवादीलाई गुरिल्ला भन्नुहुन्छ, तपाईं पनि अब गुरिल्ला हुनुभयो होइन ?
त्यो उहाँको विषय हो । मैले केही भन्ने कुरो भएन त्यसमा ।
तपाईंहरुको घर जोडिएको रहेछ, यति नजिकको छिमेकी मान्छे, कहिलेकाहीं हाम्रो पार्टीमा लागौं भन्ने प्रस्ताव गर्नुभएन ?
त्यस्तो कहिल्यै भन्नुभएन, मलाई भन्दिए हुन्थ्योजस्तो पनि लाग्ने थिएन । किनकी राजनीतिमा मेरै खासै चासो छैन ।
कहिले काहीं चिया खान बोलाउनु हुन्छ कि ?
गएर चिया त खाइएको छ । पहिले त उहाँ पनि आउनु हुन्थ्यो २÷४ वर्षै भयो यता आउनु भएको छैन ।
दलहरुले एक वर्षमा संविधान जारी गर्ने भनेका छन्, तपाईलाई के लाग्छ ?
यस्तै ताल हो भने एक वर्षभित्र बन्लाजस्तो लाग्दैन । तर, बनाउनुपर्छ ।
त्यसका लागि तपाईंको पनि भूमिका हुन्छ नि ?
मेरो मात्रै व्यक्तिगत भूमिकाले के गर्छ र ? पार्टीको भूमिका हुन्छ ।
संविधानसभा विघटन हुँदा तपार्इं प्रहरी प्रमुख हुनुहुन्थ्यो, अहिले नेता भइसक्नुभयो, भन्दिनुस् न त्यो बेला के कारण संविधान बनेको थिएन ?
मलाई के थाहा ? मलाई यतिमात्र थाहा छ, संविधानसभामा पार्टीहरुले ह्विप लगाउने प्रयास नगरेको भए जस्तो भएपनि संविधान बन्थ्यो । भोटिङमा लगेको भए जस्तो भएपनि संविधान आउँथ्यो ।
जेठ १४ गते दिनभर जुन गतिविधि भएका थिगए, त्यो सबै सूचना तपाईंकहाँ आएको थियो होला नि ?
भित्र–भित्र गरेको कुरा हामीलाई के थाहा ?
तपाईं प्रहरी अधिकृत हुँदा गिरिजाप्रसाद कोइरालादेखि अहिलेका धेरै नेतासँग नजिक भएर काम गर्नुभयो । समकालीन नेताहरुमध्ये तपाईंलाई सबैभन्दा मन पर्ने को हो ?
संगत भयो । मलाई एमाओवादी भित्रका केही नेता मन पर्छ, काँग्रेसको पनि केही नेताहरु मन पर्छ । एमालेमा पनि केही नेता छन् मन पर्ने । मधेसवादी पार्टीमा पनि छन् । देशका लागि केही गरौं भन्ने नेताहरु सबै पार्टीमा छन् । नामै त नतोकौं होला । एउटाको नाम लिंदा धेरै जना रिसाउँछन् ।
मधेसी पार्टीको कुरा गरिहाल्नुभयो, विजय गच्छदार गृहमन्त्री र तपाईं प्रहरी प्रमुख हुँदा ठूलो खटपट भएको थियो ? अहिले दुबैजना संगसंगै संविधानसभामा जाँदै हुनुहुन्छ के गर्नु हुन्छ भेट्दा ?
मैले उहाँलाई मान्नु पर्ने हो । मानिरहेको हो । भेट्दा मैले गर्नुपर्ने ‘रेस्पेक्ट’ गर्छु ।
त्यो बेला के भएको थियो ?
कतिपय कुराहरु उहाँका स्वार्थ र मेरा नमिल्ने विषयमा विवाद हुन्थ्यो । जुन बेला थियो त्यही बेला ट¥यो सकियो ।
अन्तिममा केही भन्नुपर्ने छ ?
मेराबारेमा मिडियामा आएका विषय साँचो होइनन् । मलाई पनि यो राजनीतिमा लाग्दिन भन्दाभन्दै पनि नियतीले डोहो¥याएको हो । यसकारण म जानिजानी राजनीतिमा गएको कुरालाई लिएर विभिन्न किसमका टिकाटिप्पणी भएका छन्, ती सही छैनन् । एकपक्षीय ढंगले मलाई बदनाम गर्ने हिसाबले प्रचार भइरहेको छ । ती टिकाटिप्पणीप्रति विश्वास नगर्न आम जनसमुदायसमक्ष आग्रह गर्दछु ।