
कावासोती, २४ पुस – आश्रम भन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ योग, ध्यान, सन्यास, एकान्तबास र जीवनबाट विरक्त भएकाहरुको बस्ने ठाउँ । तर नवलपरासीको कोल्हुवामा रहेको अरबिन्द आश्रम भने हेर्दा र सुन्दा फरक छ ।
भारतको पण्डिचेरीमा रहेको अरबिन्द आश्रमका साधक स्वामी रामचन्द्र दास बीस वर्षअघि नेपाल आई मातृभूमिको सेवामा खटिएका हुन् । उनको पहलमा कोल्हुवामा २० बिघा जमिन खरिद गरी आश्रमको व्यवस्था गरिएको छ ।
आश्रममा १०० गाई छन् । यहाँ साधक साधिकाले आफ्नो हैसियतअनुसारको श्रम गर्ने गर्दछन् भने बालबालिकालाई संस्कृत शिक्षा, योग, ध्यान, समपर्ण र अध्यात्मिक जीवन जिउने कला सिकाइन्छ ।
आश्रममा पालिएका गाई जिल्लाको नमुना पशुपालनभित्र पर्दछ भने यहाँ दुई सय बालबालिकाले आश्रमको आम्दानीले शिक्षा लिने गरेका छन् । विश्वविद्यालयसम्मका विद्यार्थीलाई आश्रमले अध्यापयन गराएको छ । विज्ञानशास्त्र, तथ्याङ्क शास्त्र, अंग्रेजीलगायका विषय यहाँका बालबालिकाले अध्ययन गर्न पाएका छन् ।
संस्कृतिप्रति चाख भएकालाई आश्रमले संस्कृति तथा कला विद्या पनि पढाएको छ । भरतनाट्यमसँगको साझेदारीमा यहाँका बालबालिकाले कला सिकेका हुन् । आश्रममा जैविक तरकारीखेती र अन्नबाली उत्पादन हुने गर्छ ।
गुल्मीको पुर्कोटमा जन्मेर भारतको मन्दिर र आश्रममा अङ्गेजी पढेका दास ज्ञानलाई ठूलो सम्पत्ति मान्छन् ।
कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले यहाँको अवस्थाका बारेमा सबैलाई जानकारी गराउन र सिक्न लायक भएको बताए । मन्त्रालयको समूहसहित गाई फार्म हेर्न आएका सचिव खनालले समाजको विकास र नैतिकवान बनाउने काममा आश्रम लागेको भन्दै प्रशंसा गरे ।