
काठमाण्डु, २३ पुस – एमाओवादीका नेता डा बाबुराम भट्टराईले आफूलाई संसदीय दलको नेता बनाउन अध्यक्ष पुष्पकमल दाहालसमक्ष प्रस्ताव गरेका छन्।
भट्टराईले आफूलाई संसदीय दलको नेता बनाउन दाहाल तयार नभए उनले पनि अध्यक्ष पद छोड्नुपर्ने प्रस्ताव राखेका हुन्। स्रोतका अनुसार भट्टराईलाई दलको नेता बन्न रोकेर आफैं वा कृष्णबहादुर महरालाई बनाउने योजनामा दाहाल छन्।
दाहालको योजना चाल पाएपछि भट्टराई पनि दाहाललाई अध्यक्ष छोड्न बाध्य पार्ने रणनीतिमा छन्।चुनाउमा हारपछि पनि दाहालले पार्टीको नेतृत्व गरिरहने हो भने आफूले संसदीय दलको नेताको जिम्मेवारी पाउनुपर्ने अडानमा भट्टराई छन् ।
उनले आफ्नो यो प्रस्ताव दाहालसमक्ष भेटेरै राखेका थिए। ‘संसदीय मोर्चामा म जान्छु, तपार्इं पार्टी चलाउनुस्’, भट्टराईले दाहालसँग राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसो होइन भने हामी दुवैजना नेतृत्वबाट अलग भएर बसौं। संसदीय दलमा दोस्रो पुस्तालाई पठाउने हो भने पार्टी नेतृत्व पनि दोस्रो पुस्तालाई हस्तान्तरण गरौं।’ भट्टराईको प्रस्ताव दाहालले अस्वीकार गरेका छन्।
दाहालले नमानेपछि शनिबार कांग्रेस-एमालेसँग भएको बैठक र आइतबार एमालेसँगको छलफलमा भट्टराई सहभागी भएनन्। संसदीय दलको नेता बन्न भट्टराईले समानुपातिक सूची छनोट गर्दा आफू अनुकूलका केही सभासद् छान्न चाहेका थिए।
भट्टराई र श्रेष्ठले तोकिएको मितिमा समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाउनबाट रोक्न प्रयत्न पनि गरेका थिए। दाहाल निकट एक नेताले भने ,’उहाँहरू (भट्टराई र श्रेष्ठ) ले १५ गते निर्वाचन आयोगमा सूची बुझाउन रोक्ने र अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउने योजना बनाउनुभएको थियो।’ आयोगमा छुट्टै सूची बुझाउन भट्टराईलाई दबाब दिनेमध्येका एक नेता टोपबहादुर रायमाझीले भने, ‘प्रचण्ड (दाहाल) लाई सर्वसत्तावादी राजा मानेर अरू रैती हुन सम्भव छैन। पद र जिम्मेवारी बाँडफाँट गर्नुपर्छ। विधि, प्रक्रिया र अनुशासन सबैले मान्नुपर्छ।’
भट्टराईले दाहालसमक्ष राखेको प्रस्तावका आधारमा उनी पक्षधर नेताले दाहाल र भट्टराई दुवै पार्टीमा अभिभावक बनेर नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्न थालेका छन्। भट्टराई निकट केन्द्रीय सदस्य हेमराज भण्डारीले भने, ‘दैनिक पार्टी सञ्चालनको जिम्मेवारी युवा पुस्तामा हस्तान्तरण गर्ने, केन्द्रीय कार्यालयमा रहेका चारैजना (दाहाल, भट्टराई, श्रेष्ठ र पोस्टबहादुर बोगटी) ले अभिभावकत्व ग्रहण गर्ने विषयमा मैले नेताहरूसँग छलफल गरेको छु।’ संविधानसभा निर्वाचनका लागि एमाओवादीले तयार पारेको प्रतिबद्धतापत्रमा ‘जसको नीति उसको नेतृत्व, राष्ट्रको नेता अध्यक्ष प्रचण्ड’ भन्ने नारा राखिएको थियो। चुनाउपछि दाहाल राष्ट्रपति र भट्टराई प्रधानमन्त्री बन्ने सहमति दुवै नेताबीच भएकै कारण प्रतिबद्वतापत्रमा उक्त नारा लेखिएको भट्टराई निकट एक नेताले बताए। तर चुनाउमा पार्टीले अपेक्षाअनुसार जित्न सकेन। प्रत्यक्षमा भट्टराईतर्फका उनी, रायमाझी, प्रभु साह र अशोक मण्डलले मात्रै जितेका छन्। श्रेष्ठ पक्षका गिरिराजमणि पोखरेल मात्र निर्वाचित भए। बाँकी २१ स्थानमा दाहाल पक्षधरले जिते। समानुपातिकतर्फ दाहाल पक्षका ३८, भट्टराई पक्षका १२ र श्रेष्ठ पक्षका चारजना सभासद् रहेको खबर अन्नपूर्णपोष्टले छापेको छ ।