व्यावसायिक रूपमा राँगापालन गर्दै किसान

काठमाण्डु टुडे २०७० पुष १८ गते ११:५२ मा प्रकाशित

वीरगन्ज, १८ पुस– दुई वर्षअघिसम्म पर्सा महुवनका नीरराज गिरी कृषि पेसामा संलग्न थिए । आफूले गर्दै आएको परम्परागत कृषि पेसाबाट राम्रो आम्दानी हुने सम्भावना नदेखेपछि अहिले उनले ‘व्यावसायिक रूपमा राँगापालन व्यवसाय’ सुरु गरेका छन् ।

महुवन गाविसका पूर्व अध्यक्षसमेत रहेका गिरीले अरूको जग्गा भाडामा लिई आठ महिनायता १ सय १० वटा राँगापालन सुरु गरेका हुन् । ‘पहिला कृषि पेसाबाट केही गर्न सकिएन्, मासु प्रयोजनका लागि बिक्री गर्ने योजनासहित आफूले अहिले रा“गापालन व्यवसाय सञ्चालन गरेको छु,’ उनी भन्छन्, ‘परम्परागत कृषि पेसाको तुलनामा यस व्यवसायबाट चार गुणाभन्दा बढी आम्दानी गर्न सकिन्छ । खसी र कुखुरासँगै रा“गाको मासुको बजार दिनहु“ बढ्दो छ ।’

बजारको मागलाई दृष्टिगत गरेर व्यवसायकै रूपमा रा“गापालन सुरु गरेको उनले बताए । रा“गापालनका लागि उनले व्यवस्थित गोठ बनाएका छन् भने रा“गाको रेखदेख र स्यारसुसारका लागि चार जनालाई रोजगारीसमेत दिएका छन् ।

स्थानीय किसानकै घरबाट दुईदेखि साढे तीन वर्षसम्मका रा“गा किनेर पाल्न थालेको बताउ“दै उनले भने, ‘हालसम्म यो व्यवसायमा झन्डै ११ लाख खर्च भइसकेको छ ।’ राँगा बेचेर सात महिनामा करिब एक लाख ५० हजार आम्दानी गरेको उनको अनुमान छ ।

बाराको जितपुरस्थित भैँसी बजारलगायतका आसपासका बजारमा राँगा सहजै बिक्री हुने गरेकाले आफूलाई बजारको कमी नभएको उनको भनाइ छ ।

जितपुर भैँसी बजारमा खरिद हुने राँगाको मुख्य बजार काठमाडौं र पोखरा हो । हालसम्म यो बजारबाट मासु प्रयोजनका लागि सबैभन्दा बढी भैँसी बिक्री हुने गरेका छन् ।

राँगाको उपचार र पोषणयुक्त खानालगायतका विषयमा प्राविधिक सल्लाह माग्न जाँदा पनि जिल्ला पशुसेवा कार्यालयका प्राविधिकहरूले कुनै चासो नदेखाएको उनले गुनासो गरे । जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा उदयप्रताप सिंहले किसानलाई प्रतिस्पर्धात्मक क्षमता बढाउन आवश्यक सीप र वैज्ञानिक तरिकाबाट पशुपालन गर्ने कार्ययोजना बनाई त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us