
विराटनगर, १७ पुस– विराटनगर भन्सार कार्यालयले नेपाल–भारत सीमा जोगवनी नाकाबाट नेपाल भित्रिने मालबाहक सवारी साधनको क्षमता निर्धारण गरेको छ ।
साथै तोकिएभन्दा बढी क्षमता बोकी नेपाल प्रवेश गर्ने मालवाहक सवारी साधनलाई यही पुस २५ गतेदेखि अनिवार्यरूपमा भन्सार बिन्दुबाट नियन्त्रणमा लिने विराटनगर भन्सार कार्यालय रानीले जनाएको छ ।
भन्सार विभागद्वारा पठाइएको पत्रको आधारमा मालवाहक सवारी साधनको क्षमता निर्धारण गरिएको हो । निर्धारण गरिएको मालवाहक सवारीहरूमा दुई एक्सेल ६ चक्के सवारी साधनको कुलभार १६ हजार २ सय किलो छ भने सामानको भार नौ हजार ६ सय केजी तोकिएको छ ।
एक्सेल ३ को १० चक्के सवारी साधनमा कुलभार २५ हजार केजी र सामानको भार १६ हजार ५०० केजी निर्धारण गरिएको छ ।
यस्तै ४ एक्सेल १२ चक्के सवारी साधनमा कुलभार ३१ हजार केजी र सामानको भार २१ हजार केजी तोकिएको छ भने ट्रयाक्टर र ट्रेलर ४ एक्सेलको १४ चक्के सवारी साधनमा कुलभार ४० हजार २०० केजी र सामानको भार ३० हजार २०० केजी निर्धारण गरिएको छ । रासस