कामदार पाइनै छाडे, चिया किसान मर्कामा

काठमाण्डु टुडे २०७० पुष १५ गते ३:१६ मा प्रकाशित

tea-picking

मङ्गलवारे, १५ पुस–वैदेशिक रोजगारमा बढ्दो आकर्षण र चिया बगान थपिने क्रमले चिया क्षेत्रमा काम गर्ने मजदुर अभाव हुन थालेको छ । एक दशक अघिसम्म सहजरूपमा मजदुर पाइँदै गरेकामा अहिले स्थानीयस्तरमा कामदार पाइन छाडेको हो ।

चिया किसानहरु राम्ररी काम गर्ने हो भने यहाँका बगानमा काम गरेर मासिक १० हजारभन्दा बढी कमाउन सकिने बताउँछन् ।

विशेषगरी जिल्लाका पूर्वी क्षेत्रका घरघरमा चिया बगान हुन थालेपछि श्रमिकको अभाव टड्कारो बन्दै गएको हो । ‘पहिले–पहिले परिवारसहितको मजदुरलाई खान, बस्न दिएर पनि राखिन्थ्यो तर अहिले त्यति व्यवस्था गरिदिएर उचित पारिश्रमिक दिँदासमेत पाइँदैन,’ कन्यामका नेत्र पोखरेल भन्छन् ।

चिया रोप्नेदेखि टिप्ने र काँटछाँटका लागि पर्याप्त जनशक्तिकोे आवश्यकता हुन्छ । चिया टिप्ने बेला अझ श्रमिकको तानातान हुन्छ । किसानले महँगो रकम दिएर ‘बिघा’ (हरियो चियापत्ती टिपेको तौलाई अनुसार पारिश्रमिक दिइने चलन) मा चिया टिपाउँछन् । ‘त्यति गर्दा पनि भनेका बेला मान्छे पाइँदैन,’ कन्यामका काजिमान कागते भन्छन् । यसबेला काम नपाए ‘काम नपाए पूर्व जानु’ भन्ने नारा नै चलाएर पूर्वी गाउँका किसानले आकर्षक पारिश्रमिकसहित कामदार खोज्ने गरेका छन् ।

फिक्कलकी शर्मिला राई आफ्नो बगानको काम सकेर बिघा गर्न निस्किन्छन् । ‘धेरै तिरबाट बोलावट हुन्छ तर सबैतिर पुग्नै भ्याइँदैन,’ उनी भन्छिन् । पञ्चकन्याकी ज्ञानु राई आजभोलि मजदुर नपाएपछि आफै काम गर्न निस्किन्छन् । उनको ५० रोपनी जग्गामा चिया खेती छ ।

अहिले जिल्लामा आठ हजार धेरै चिया किसान छन् ।

निजी बगानमा मात्र हैन नेपाल चिया विकास निगमअन्तर्गत इलाम र झापाका गरी सातवटा बगानमा पनि चिया श्रमिकको संख्या घट्दो छ । २०५७ सालमा त्रिवेणी सङ्घाई ग्रुपले ती बगान भाडामा लिँदा दुई हजार ३४० जना स्थायी चिया श्रमिक रहेकामा अहिले त्यो सङ्ख्या घटेर एक हजार ४० पुगेको छ ।

यहा“को कृषि प्रणाली निर्वाहमुखी मात्र भएकाले कृषि पेसामा श्रमिकको समस्या भएको कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डा“गी बताउँछन् । ‘व्यावसायिक कृषि प्रणाली हुने हो भने श्रमिकको रोजगारीको ग्यारेन्टी, क्षमता वृद्धि लगायतमा समस्या हुँदैन,’ उनले भने ।

श्रमिकको आत्मसम्मान, रोजागारीको प्रत्याभूति, बा“च्न पुग्ने पारिश्रमिक र राज्यले निर्वाह गर्नुपर्ने भूमिकाको अभावलगायतका कारण कृषिमा श्रमिकको आकर्षण घटेको सरोकारवाला बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us