
काठमाण्डु-अभिनेता भुवन केसीले एमालेले एमालेले आफूलाई सभासद नबनाएपनि आफूले पार्टी नछोड्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर केसीले आफू सभासद नभएपनि एमालेमै रहने प्रतिबद्धता जनाए ।
केसीले आफू पद प्राप्तीका लागि भन्दा पनि एमालेको सिद्धान्त मन परेकाले राजनीतिमा लागेको भन्दै पार्टी र सिद्धान्तप्रति प्रतिवद्ध रहेको समेत बताए ।
केसीले आफू सभासद नभएकोमा सिंगो चलचित्र क्षेत्र नै निराश बनेको उनको भनाइ थियो । उनले एमाले दोस्रो पार्टी बनेकोमा भने आफूलाई गर्व लागेको बताए ।
एमालेले केसीलाई पहिले काठमाण्डु १ बाट उम्मेदवार बनाउने भने पनि अन्तिम समयमा केसीको टिकट खोसेर विद्या न्यौपानेलाई दिएको थियो ।
एमाले स्थायी कमिटीले तयार पारेर निर्वाचन आयोगमा बुझाएको सूचीप्रति एमालेकै धेरै नेता असन्तुष्ट छन् । समानुपातिक सभासदको सूचीमा दोस्रो जनआन्दोलनमा सकृय रामकुमारी झाँक्री, राजेन्द्र राई र ठाकुर गैरेजस्ता यूवा नेताहरु परेका छैनन् ।
अनेरास्ववियूकी पूर्व अध्यक्ष झाँक्रीले सामाजिक सन्जाल फेसबुकमार्फत् आफ्ना असन्तुष्टि पोख्दै आएकी छन् । देश र जनताको लागि रगत दिनेलाई भन्दा पार्टीले पैसा दिनेहरुलाई सभासद बनाएको उनको टिप्पणी छ ।