प्रहरीद्वारा ७५० विपक्षी कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०७० पुष १३ गते १६:२२ मा प्रकाशित

ढाका, १३ पुस–बङ्गलादेशका विपक्षी दलहरुले आगामी निर्वाचनको विरोधमा प्रतिबन्ध लगाउने गरी आइतबार गर्न लागेको व्यापक विरोध प्रदर्शनको पूर्व सन्ध्यामा त्यहाँको प्रहरीले ठूलो मात्रामा विपक्षी दलका कार्यकर्ता पक्राउ गरेको छ ।
बङ्गलादेशको सरकारले गरेको निर्वाचनको घोषणाका विरुद्धमा विपक्षीहरुले विरोध प्रदर्शन जारी नै राखेका छन् । तर सरकारले भने सो निर्वाचन गरेरै छोड्ने भन्दै विरोधमा आउने कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।
वर्तमान प्रधानमन्त्री शेख हसिनाले राजिनामा नदिएसम्म प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी तथा उसका १७ सहयोगी दलले निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।
शनिबार प्राप्त समाचारमा उक्त विपक्षी समूहका करिब ७५० जना कार्यकर्ता पक्राउ गरेको छ । विगत दुई दिनदेखि प्रहरीले विपक्षी दलका कार्यकर्ता पक्राउ गर्न थालेको छ ।
तर सत्ताधारी अवामी लिग भने निर्वाचन गराउने दृढतामा रहेको छ । उसले कुनै पनि हालतमा नयाँ निर्वाचन गराउने बताएको छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ र गत शुक्रबारदेखि नै उम्मेदवारी दर्ताको काम पनि सुरु भएको छ ।
प्रहरीका अनुसार बङ्गलादेशका विभिन्न स्थानमा गोली लागेर २५ जनाको मृत्यु भएको छ । जसका कारण बङ्गलादेशमा थप राजनीतिक अस्थिरता उत्पन्न हुने जनाइएको छ । प्रहरीले विरोध प्रदर्शनमाथि हस्तक्षेप गर्ने गरेको छ ।
सन् १९७१ मा बङ््गलादेशमा स्वतन्त्रताको आन्दोलनमा भएको क्रान्तिमा युद्ध अपराध गरेको आरोप प्रमाणित भएपछि ती नेतालाई मृत्युदण्ड दिइएको हो । अरु पनि केही नेतालाई त्यस्तो कारबाही हुनसक्ने बताइएको छ ।
सो समयमा तत्कालीन पाकिस्तानी सेनासँग मिलेर हजारौँ निर्दाेष नागरिकको हत्या गरिएको बताइएको छ । सोही आरोपमा केहीवर्षमात्र अघि स्थापना गरिएको युद्ध अपराध अदालतमा केही नेताहरुको अनुसन्धान जारी राखिएको छ ।
सोही कारबाहीपछि बङ्गलादेशको विपक्षीले आन्दोलन सुरु गरेको हो । आन्दोलनकै क्रममा सरकारले आगामी फेब्रुअरीमा नयाँ निर्वाचनको घोषणा गरेको छ ।
तरकारी बजारमा हवाई आक्रमण हुँदा २० जनाको हत्या
उता सिरियाको विद्रोही पक्षको बाहुल्यता रहेको भनिएको सहर अलेपोमा शनिबार गरिएको हवाई आक्रमणमा परी कम्तीमा पनि २० जनाको हत्या भएको छ । सो आक्रमण तरकारी बजारमा गरिएको पाइएको छ । साथै उक्त बजारको नजिकै अस्पताल पनि परेको बताइएको छ । हवाई आक्रमणमा परेका व्यक्तिहरुलाई सोही अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
हालैका केही दिनयता सरकारी सेनाले विद्रोही लडाकू रहेको आरोपमा सो हमला गरेको बताइएको छ । उक्त आक्रमणमा परी केही बालबालिका पनि मारिएका समाचारमा उल्लेख गरिएको छ । सिरियाली विद्रोहीहरूले गत जुलाई महिनादेखि नै उक्त सहरका अधिकांश क्षेत्रलाई आफ्नो कब्जामा लिएको बताएका थिए । त्यसपछि सरकारी सेनाले बारम्बार यस्तो आक्रमण गर्दैआएको छ । केही दिनयतादेखि निरन्तर रूपमा सिरियाली सैनिकले कयौँ लडाकू विमानमार्फत सो क्षेत्रमा हमला गरेको थियो । मारिएका सबैजना सर्वसाधारण रहेका र त्यहाँ विद्रोही लडाकू नपरेको स्थानीय नागरिकको भनाई छ ।
सिरियामा सन् २०११ को मार्च महिनालेखि नै सरकार विरोधी आन्दोलन जारी छ । वितेका करिब दुई वर्षयतादेखि नै यस आन्दोलनले हिंसात्मक रूप लिने गरेको छ ।
उक्त हिंसामा परी आजसम्ममा एक लाख २० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । साथै हजारौँ नागरिक अङ्गभङ्ग भएका छन् भने लाखौँ लाखले विदेशमा शरण लिइरहेका बताइन्छ ।

रेलमा आगो लाग्दा २६ जनाको मृत्यु

भारतको दक्षिणी भागमा रात्रिकालीन रेलमा आगो लाग्दा शनिबार २६ व्यक्तिको मृत्यु भएको छ । आगोले यात्रुहरु सुतिरहेको एक डब्बालाई प्रभावित बनाएको थियो । रेलमार्गमन्त्री मल्लिकार्जुन खड्गेले रेलको एक डब्बामा ‘एयर कन्डिस्निङ’ प्रणालीमा गडबडी हुँदा उक्त आगो लागेको विश्वास गरिएको बताए । उनले रेल बङ्गलोरबाट नाँडेदतर्फ जाँदै गरेको अवस्थामा बिहानको ३ः३० बजे आगो लागेको जानकारी दिए ।
टेलिभिजन समाचारमा यात्रुहरुले ज्यान जोगाउन उक्त डब्बाबाट फालहालेको उल्लेख गरिएको छ । अन्य यात्रु बाक्लो धुवाँबाट प्रभावित भएको बताइएको छ । मर्नेमा दुई बालबालिका रहेको बताइएको छ ।
मन्त्री खड्गेले २६ व्यक्तिको मृत्यु भएको र आठ व्यक्ति घाइते भएको एएफपीलाई पुष्टि गरे । उनले पाँच व्यक्तिको नजिककैको अस्पतालमा उपचार भइरहेको बताए । उनले घटनास्थल नाँडेदको बाहिरी भागमा अनुसन्धानका लागि एक समूह पठाइएको बताए । उनले रेलवे बोर्डका अध्यक्षको नेतृत्वमा एक छानबिन समूह गठन गरिएको पनि जानकारी दिए ।स्थानीय प्रहरी प्रमुखले एएफपीलाई रेलमा यात्रुको मृत्युभएको जानकारी दिँदै उद्धार कार्य भइरहेको बताए ।
हिन्दू समाचारपत्रलाई जानकारी दिँदै स्थानीय प्रहरी निरीक्षकले रेलका चालकले आगो देखेपछि रेल रोकेको बताए । रेलमार्ग प्रहरी निरीक्षक साइ प्रसादले आगो निभाइएको र धुवाँ हटेपछि शवहरु बाहिर ल्याइने बताए ।
उक्त डिब्बामा ६७ व्यक्ति यात्रा गरिरहेको मन्त्रीले बताए । उक्त डिब्बा पूर्णरुपमा आगोबाट नस्ट भएको र त्यसको प्रभाव नजिकको डब्बामा पनि परेको बताइएको छ ।
प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा आन्ध्र प्रदेशमा रेल दुर्घटनामा ज्यान गुमाएका व्यक्तिप्रति दुःख व्यक्त गरेका छन ।
एक विज्ञप्तिमा प्रधानमन्त्री सिंहले राज्य सरकारका अधिकारीहरुलाई पीडितलाई उद्धार गर्न तथा उद्धार कार्यमा सम्भव सबै सहयोग उपलब्ध गराउन आग्रह गरेका छन । रेलमार्ग मन्त्रीले यस घटनाबाट प्रभावित प्रति व्यक्तिका परिवारलाई रु. पाँच लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति दिइने बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us