‘अर्धविधवा’ लाई पुनः विवाह गर्न दिन धार्मिक आदेश

काठमाण्डु टुडे २०७० पुष १२ गते १४:४२ मा प्रकाशित

श्रीनगर (भारत), १२ पुस– कश्मीरमा लामो समयसम्म कायम द्वन्द्वकालमा वेपत्ता भएका पुरुषका श्रीमतीलाई उनीहरूका पति चारवर्ष भन्दा बढी अवधि हराएको देखिएमा पुनः विवाह गर्न अनुमति दिइनुपर्ने निर्णय इस्लामी धार्मिक विद्वानहरूले दिएका छन् ।

भारतको नियन्त्रणमा रहेका कश्मीरमा हजारौं महिलाका पति वेपत्ता भएका छन् उनीहरूको अवस्था कठिन देखिएको छ । ‘अर्धविधुवा’ भनिएका यी महिलाको कठिनाइ हटाउन बिहीबार यस प्रकारको धार्मिक आदेश दिइएको बताइएको छ ।

स्थानीय धार्मिक विद्वानहरूको एक समूहले जारी गरेको धार्मिक आदेशमा यी महिलाले आफ्ना श्रीमान्लाई चार वर्षसम्म पर्खनु पर्ने र उनीहरूले यस अविधिमा आफ्ना पतिका विषयमा कुनै पनि सूचना प्राप्त गर्न नसकेमा उनीहरू विवाहका लागि स्वतन्त्र हुने उल्लेख गरिएको छ ।

यस धार्मिक आदेशलाई धार्मिक नेताहरूले स्वीकृति दिन बाँकी छ र स्वीकृतिपछि यो बाध्यकारी धार्मिक फतवा हुने उक्त समूहका एक सदस्यले आफ्नो परिचय नदिने सर्तमा बताए ।

यस प्रकारका महिलाको सङ्ख्यामा सर्वेक्षण गर्ने नागरिक समाजको गठबन्धनका खुर्राम पर्वेजले यस निर्णयबाट करिब एक हजार पाँच सय ‘अर्धविधवा’लाई फाइदा पुग्ने बताए । उनीहरूको पति मरेको भनी आधिकारिक रूपमा स्वीकार गरिएको छैन ।

यी महिलाले आफैंले रासन कार्ड पाउँदैनन् र उनीहरूले आफ्ना पतिको बैंक खाता पनि चलाउन पाउँदैनन् । यसैले उनीहरू पतिका परिवारका अन्य सदस्यको भरपर्नुपर्छ ।

मुसलमान बाहुल्य रहेको कश्मीर क्षेत्रमा सन् १९८९ मा सशस्त्र विद्रोह आरम्भ भएपछि भारतीय सुरक्षा निकायबाट करिब आठ हजार व्यक्ति र प्रायः युवक वेपत्ता भएको आरोप मानवअधिकारवादी समूहहरूले लगाएका छन् ।

भारतीय सैनिक तथा कश्मीरका प्रहरीले यी व्यक्तिको हत्या नभएको बताएका छन् भने अधिकारीहरूले उनीहरू पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर गएको हुनसक्ने बताएका छन् ।

भारत तथा पाकिस्तान सन् १९४७ मा स्वतन्त्र भएपछि तीन पटक युद्धमा गएका छन् भने दुई पटक कश्मीरकै विषयमा उनीहरूबीच युद्ध भएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us