
काठमाण्डु, पुस– संविधानसभा निर्वाचन गराउन गठन गरिएको सरकारले आफ्नो मुख्य जिम्मेवारी पुरा गरिसकेको छ ।
चुनाव सकिएसँगै सरकार अहिले कामचलाउको हैसियतमा पुगेको सरकारकै कतिपय मन्त्रीले सार्वजनिक रुपमै भन्दै पनि आइरहेका छन् ।
चुनाव सकिएपछि मन्त्रीहरु घुमफिरमा व्यस्त छन् भने सरकार दैनिक प्रशासन चलाउने जस्तो मात्रै देखिन्छ । त्यसो त गैर राजनीतिक नाम दिइएको यो सरकार गठन भएपछि अघिल्ला सरकारको पालामा जस्तो सिंहदरबारमा काम लिएर जाने सर्वसाधारणको संख्यामा पनि कमी आएको छ ।
के गर्दैछन् त अहिलेका मन्त्रीहरु ?
सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेल अहिले मध्य पश्चिम र सुदूर पश्चिमको भ्रमणबाट फर्किएका छन् । शान्ति स्थापना सम्बन्धि नेपाल टेलिभिजन र रेडियो नेपालको कार्यक्रमका लागि मन्त्री पौडेले सञ्चार मन्त्रालयका टोलसहित पश्चिम भ्रमणमा गएका हुन् ।
रोल्पामा नेपाल टेलिभिजन र दिपायलमा रेडियो नेपालको कार्यक्रम सकेर मन्त्रीसहतिको टोली बुधबार काठमाडौं फर्किएको छ । मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्ला घुमेर टोली काठमाण्डु फर्किएको हो ।
टोलीमा सञ्चार मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्मा, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, मन्त्री पौडेलका प्रेस सल्लाहकार मातृका पौडेल लगायतको टोली पश्चिम नेपाल भ्रमणममा गएको हा ।
शिक्षामन्त्री र सरकारका प्रवक्ता समेत रहेका पौडेल विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेका पनि देखिन्छन् ।
वर्तमान सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ अचेल मन्त्रालयका सामान्य काममै व्यस्त छन् ।
अघिल्लो साता लुम्बिनी पुगेर फर्किएका श्रेष्ठ विहीबार चितवनतर्फ लागेका छन् ।
चितवनमा हात्ती दौड प्रतियोगिता उद्घाटन गरेर केही दिन घुमफिर गरेपछि राजधानी फर्कने योजना रहेको उनले बताए ।
‘काठमाण्डुमा भएको बेला दिनको एक पटक मन्त्रालय जान्छु, नयाँ काम खासै छैन,’ श्रेष्ठले भने, ‘पुराना कामहरुको निरन्तरता र भेटघाट मात्रै हो ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पौडेल दैनिक मन्त्रालय पुग्छन् । उनी अचेल मन्त्रालयकै काममा व्यस्त छन् ।
वर्तमान सरकारले दूरगामी प्रभाव पार्ने निर्णय नगर्ने भएकाले गर्नैपर्ने काममात्रै गर्ने गरेको उनी बताउँछन् ।
नयाँ सरकारको पर्खाइमा बसेको बताउने पन्त चुनाव सम्पन्न गर्न सकेकोमा खुशी पनि छन् ।
मन्त्रालयकै काममा व्यस्त रहेको बताउने मन्त्री पौडेल केही समय अघि नवलपरासी र पोखरामा भएका विभिन्न कार्यक्रममा सहभागी भएर काठमाण्डु फर्किएका हुन् ।
नगइ नहुने कार्यक्रममा मात्र जाने गरेको उनी बताउँछन् । ‘निम्ता त धेरै तिरबाट आउँछन् तर नगइ नहुने कार्यक्रममा मात्रै जान्छु,’ पन्तले काठमाण्डु टुडेसँग भने, ‘देश त चलाउनै पर्यो नी ।’
त्यसो त मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी पनि विभिन्न मठ मन्दिर भ्रमण तथा सामान्य काममै हिँडिरहेका छन् । हालै मात्रै पूर्वको पाथिभरा भन्दिर पुगेर आएका रेग्मी त्यस अघि पाल्पाको तानसेन नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्न पाल्पा पुगे । दिनको एक पटक सिंहदरबार पुग्छन् ।
विदेशी कुटनीतिक नियोगका अधिकारीसँग पनि उनको कहिलेकाँही भेट हुन्छ । सरकारका अरु मन्त्रीहरु पनि सिंहदरबार जाने र दैनिक कार्यसम्पादनमै अलमलिरहेका छन् ।