शिक्षकको अन्तर्वार्ता स्थगित

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:३० मा प्रकाशित

Shik6ya-Sewa-aayogकाठमाण्डु–१२ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि शिक्षक सेवा आयोगले शुक्रबारदेखि लिने तयारी गरेको माध्यमिक तहका शिक्षकको अन्तर्वार्ता स्थगन गरेको छ ।

लिखित परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अन्तर्वार्ता रोक्न बुधबार निर्देशन दिएको थियो ।

एकाएक अन्तर्वार्ता रोकिएपछि विभिन्न क्षेत्रीय शिक्षा निर्देशनालयमा परीक्षा गराउन खटिएका कर्मचारीहरु काठमाडौँ फर्कन थालेको शिक्षक सेवा आयोगका उपसचिव नारायण भट्टराईले जानकारी दिए । शुक्रवार सुदूरपश्चिमाञ्चल र शनिवारदेखि मध्यपश्चिमाञ्चल विकास क्षेत्रका माध्यमिक तहका शिक्षकको अन्तर्वार्ता निर्धारण गरिएको थियो ।

तर कतिपय शिक्षक संघसंगठनले परीक्षामा हालसम्म धाँधली भएको नपाइएकाले कुनै खास जिल्ला वा परीक्षार्थीको उजुरीका आधारमा सबै ठाउँमा अन्तर्वार्ता रोक्का गर्न नमिल्ने बताइआएका छन् ।

अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले अख्तियारलाई यसबारे ध्यानाकर्षण गराइएको बताए । उनले परीक्षा रोक्न राजनीतिक हस्तक्षेप भएको आरोप पनि लगाए ।

प्राथमिक तहको लिखित परीक्षाको नतिजा भने प्रकाशन भइसकेको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us