
तपाईं टाउको दुख्यो भने के गर्नुहुन्छ ? सकेसम्म सहने, नसके नजिकको मेडिकल पसल वा अस्पताल गएर जाँच गराइ औषधी किनेर खाने, सबैको जवाफ यही आउँछ ।
चिनियाँ नागरिकहरुले भने टाउको दुखेको उपचार खुर्सानीबाट गर्छन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । यो कुरा सत्य हो । आजभन्दा दुई हजार बर्ष पहिले चिनियाँ नागरिकहरुले माइग्रेन जस्तो अति नै टाउको दुख्ने रोगको उपचार खुर्सानी जस्तै पिरो फलबाट गर्दथे भन्ने कुराको पत्ता लागेको छ । त्यतिमात्रै होइन उनीहरुले दुखाई कम गर्न गोरु वा साँढेको पिसाब पनि प्रयोग गर्दथे ।
चीनमा हालै एक निर्माण स्थलमा बाँसका केही टुक्रा फेला परेका छन् । त्यसमा त्यही कुराको संकेत गरिएको छ । बाँसमा कुँदिएका संकेत चिन्ह अध्ययन गरी अनुसन्धानकर्ताहरुले टाउको दुख्ने रोगमा पिरो फल र साँढेको पिसाबको प्रयोग हुने गरेको पत्ता लगाएका हुन् ।
चीनको ‘चाइना डेली’ पत्रिकाका अनुसार चेंगदू शहरको दक्षिण पश्चिम इलाकामा एक निर्माण स्थलमा फेला परेका ९२० वटा बाँसका टुक्रामा कुँदिएका संकेत चिन्ह अध्ययन गरी अनुसन्धानकर्ता यो निष्कर्षमा पुगेका हुन् । सो क्षेत्रमा पश्चिमी हान वंशका केही अवशेष पनि फेला परेका छन् । यो वंशको अस्तित्व ईसापूर्व २०६ मा रहेको मानिन्छ । प्राचीनकालमा बाँसको प्रयोग निकै हुने गर्दथ्यो ।