माओवादी बैठकमा किराँतीको यस्तो प्रस्ताव

काठमाण्डु टुडे २०७० पुष ११ गते १४:४० मा प्रकाशित

Gopal_Kiratiकाठमाण्डु, ११ पुस– एकीकृत माओवादी नेता गोपाल किराँती आफ्ना अभिव्यक्ति र गतिविधिका कारण बेला बेलामा चर्चामा आइरहन्छन् ।

बिहीबार काठमाण्डुमा बसेको एकीकृत माओवादीको पूर्वपोलिटब्युरो बैठकमा पनि  किराँतीले नयाँ कुरा गरेर बैठकमा सहाभागी नेताहरुको ध्यान आफूतिर तान्ने काम गरे ।

उनले समानुपातिकतर्फको सभासद चयनबारे अनौठो प्रस्ताव अघि सारे । पार्टीलाई समानुपातिकमा जम्मा ५४ सिट प्राप्त भएको र समानुपातिक सूचीमा रहेका ३ सय ३२ जना सबै आकांक्षी रहेकाले नाम छान्न अप्ठेरो परेको भन्दै उनले आलोपालो प्रणालीमा सभासद बनाउने प्रस्ताव गरेका हुन् ।

सूचीमा रहेका ३ सय ३२ जनानै योग्य र क्षमतावान रहेको भन्दै उनले नपर्नेले चित्त दुखाउने भएकाले सबैलाई पालैपालो संविधान सभामा पठाउनुपर्ने बताए ।

‘समानुपातिकमा पार्टीले पाउने जम्मा ५४ सिट हो, ३ सय ३२ बाट ५४ छान्दा बाँकी सबै रिसाउँछन्,’ किराँतीले भने, ‘सबैजना योग्य र क्षमतावान रहेकाले सबैलाई पालैपालो संविधानसभामा पठाऔं ।’

त्यसरी पठाउँदा संविधान सभाको कार्यकाल एक वर्ष हुँदा दुई महिना र चार वर्ष हुँदा ८ महिना सभासद हुने उनको भनाइ थियो ।

बैठकमा किराँतीले निर्वाचनमा पराजय भएपछि पार्टीभित्र पहिचान सहितको संघीयताबारे अनुदार सोच राख्ने नेताहरुको मनोवल बढेको भन्दै उनीहरुलाई ठाउँ दिन छुट्टै खसान राज्य वा प्रगतिशील खसान मोर्चा बनाउनुपर्ने प्रस्ताव अघि सारे ।

‘नेवा, ताम्सालिङ, मगरात र किराँत भनेजस्तै खसान पनि एउटा राज्य हुनसक्छ,’ किराँतीले भने, ‘बाहुन, क्षेत्री र सन्यासीहरुलाई पनि संघीयतामा अपनत्व हुनेगरी खसान राज्य वा प्रगतिशील खसान मोर्चा बनाउनुपर्छ ।’

रुसमा लेनिनले उत्पीडित जातिको मुक्ति गरे पनि सोभियत संघको १५ मध्ये एक राज्य रुसी शासकहरुको रुस गणराज्य बनाए जस्तै नेपालमा पनि खसान राज्य बनाउनुपर्ने किराँतीको तर्क छ । उनले गत माघमा सम्पन्न पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा सोही प्रकृतिको लिखित प्रस्ताव पेश गरेका थिए ।

लेनिनको व्यवहार नपच्छ्याए पार्टी कसरी लेनिनवादी हुनसक्छ भन्दै उनले अन्यथा खस ब्राम्हणले उत्पीडनमा परेका अन्यलाई स्वायत्तता नदिने बताए ।

‘मलाई बाहुन समुदायमा बाहुन क्षेत्री विरोधी चित्रित गर्ने गरिएको छ, तर यो किराँती उनीहरुको छुट्टै राज्य हुनुपर्छ भन्ने वकालत गरिरहेको छ,’ उनले भने ।

चुनाव लड्दा ऋण लाग्यो

बैठकमा बोल्ने अधिकांश नेताले चुनावमा लागेको भन्दै उक्त ऋण पार्टीले ब्यहोर्नुपर्ने माग गरेका थिए । उनीहरुले चुनाव महँगो भएको भन्दै अहिलेको चुनाव लड्दा ऋण लागेको र आफूले त्यो ऋण तिर्न नसक्ने भन्दै पार्टीले नै तिरिदिनुपर्ने माग गरे ।

बैठकमा बोल्दै नेता लीलबहादुर थापाले जीवन राजनीतिमै बितेको र सबै सम्पत्ति पार्टीमा बुझाएको भन्दै पार्टीले नै ऋण तिरिदिनुपर्ने माग गरे । ‘कि पार्टीले तिरिदिनु पर्‍यो कि आफैं तिर भन्नुपर्‍यो,’ थापाले भने ।

हिन्दी गीतको टुक्का पनि बैठकमा

माओवादी बैठकमा नेता दिलाराम आचार्यले हिन्दी गीतको एक टुक्का सुनाउँदै अहिले माओवादी पनि त्यही अवस्थामा पुगेको बताएका थिए । उनले बैठकमा पार्टी ‘तस्बिर बनाता हूँ लेकिन तस्बिर नही बनती’ भनेजस्तै भएको बताए ।

उनले सर्वहारा वर्गले रुसमा एउटा चित्र बनाउन खोज्दा त्यहाँ असफल भएको भन्दै अहिले माओवादीमा पनि त्यस्तै अवस्था आएको बताए ।

‘लेनिनले रुसमा बनाउनन खोजे त्यहाँ असफल भयो, माओले चीनमा बनाउन खोजे त्यहाँ पनि असफल भए, गोन्जालोले पेरुमा बनाउन खोजे त्यहाँ पनि असफल भए’ उनले भने, ‘नेपालमा पनि माओवादीले त्यस्तो तस्बिर बनाउन खोज्यो सफल भएन ।’ माओवादीको कार्यनीतिको समीक्षा पनि उनले माग गरे ।

नेतृत्वको विकल्प छैन

माओवादीले नेताहरुले बैठकमा नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका थिए । पूर्व उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्षले पदत्याग गर्नुपर्ने बताइरहेका बेला बैठकमा बोल्ने नेताहरुले नेतृत्वमा प्रचण्डको विकल्प नभएको बताएका थिए ।

बैठकमा नेता लीलामणि पोखरेलले अहिले नेतृत्व परिवर्तनको कुरा उठाउने बेला नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us