माओको उपलब्धिले उनका गल्तीलाई मेटाए

काठमाण्डु टुडे २०७० पुष १० गते १६:०६ मा प्रकाशित

बेइजिङ, १० पुस-चीनमा सरकारी पत्रिका ग्लोबल टाइम्सले गरेको एक सर्वेक्षणमा भाग लिने ८५ प्रतिशत व्यक्तिले माओ जेदोङका उपलब्धिले उनका गल्तीलाई मेटेको बताएका छन् । मुलुक माओको १२० औँ जन्मोत्सव मनाउने तयारीमा रहेको छ ।
माओले स्थापना गरेको परम्परा चीनमा मिश्रित छ । सन् १९४९ मा जनगणतन्त्र स्थापना गर्ने कार्यका लागि उनीप्रति सम्मान गरिन्छ । अधिकारीहरूले भने उनको जन्मोत्सव मनाउने कार्यमा संयम अपनाउन आग्रह गरेका छन् । mao
‘महान अग्रगामी फड्को’ र ‘सांस्कृतिक क्रान्ति’पछि दशौँ लाख व्यक्तिको मृत्युका लागि उनीमाथि दोष लगाइने गरिन्छ ।
सन् १९७६ मा उनको देहावसानपछि चिनियाँ कम्युनिस्ट पार्टीले उनी ७० प्रतिशत सही तथा ३० प्रतिशत गलत भएको आधिकारिक धारणा राखेको छ ।
सत्ताधारी दलसँग नजिक ठानिएको ग्लोबल टाइम्सले सोमबार तथा मङ्गलबार गरेको सर्वेक्षणमा सहभागी माओप्रति बढी सकारात्मक देखिएका छन् ।
‘के तपाईं माओ जेदोङका उपलब्धि उनको गल्तीभन्दा अधिक छन् भन्ने कुरा मान्नुहुन्छ ?’ भनी सोधिएको प्रश्नमा ७८.३ प्रतिशतले सकारात्मक उत्तर दिएका छन् । यस कुरालाई ६.८ प्रतिशतले बलियोसँग समर्थन गर्ने बताएका छन् भने ११.९ प्रतिशतले यस कुरालाई आफूले अस्वीकार गर्ने बताएका छन् । तीन प्रतिशतले आफूलाई यी कुरा थाहा नभएको बताएका छन् ।
सर्वेक्षणमा भाग लिने ९० प्रतिशतले माओको सबैभन्दा राम्रो पक्ष भनेको क्रान्तिद्वारा स्वतन्त्र मुलुकको स्थापना गर्नु रहेको बताएका छन् ।
चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले माओको २७ वर्षको शासनको लेखाजोखालाई गोप्य राखेको छ । उनको कामलाई मुलुकभित्र ऐतिहासिक रूपमा पूर्ण रूपमा स्वीकार गरिएको छैन ।
युवा तथा राम्रो शिक्षा प्राप्त गरेका व्यक्तिहरू माओको आलोचक रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । माध्यमिक शिक्षा लिएका वा पेशागत विद्यालय शिक्षा प्राप्त गरेका व्यक्तिहरूले उनीप्रति सम्मान गरेको देखिएको छ ।
पत्रिकाले हाल मुलुकमा रहेको सम्पत्तिको बढ्दो भिन्नताका कारण पाका तथा कम शिक्षा प्राप्त गरेका व्यक्तिमा माओप्रति बढी समर्थन रहेको हुनसक्न अनुमान गरेको छ ।
सामाजिक विज्ञानका लागि चिनियाँ प्रतिष्ठानका झाओ झिकुइले ग्लोबल टाइम्सलाई माओको समयमा सम्पत्तिको आजको जस्तो भिन्नता नभएकाले पनि उनीहरूले माओलाई मन पराएको हुनसक्ने बताए ।
यस पत्रिकाले बेइजिङ, साङ्घाइ, गुआङझाउ, चेङ्दु, सियान, चाङसा तथा सेनयानमा १८ वर्षमाथिका एक हजार ४५ व्यक्तिसँग प्रश्न सोधेको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us