वर्ष २०१३ – एसियाली अन्तरिक्ष वर्षका प्रशंसा र चिन्ता

काठमाण्डु टुडे २०७० पुष १० गते ९:५७ मा प्रकाशित

काठमाण्डु, १० पुस– गत १२ महिनालाई एसियाका आर्थिक शक्तिमुलुकहरूले अन्तरिक्षयात्रा गर्ने मुलुकहरूको समूहमा आफूलाई जबर्जस्ती घुसाएको वर्षको रूपमा सम्झिइने छ ।

फ्रान्सेली समाचार संस्था एएफपीका रिचर्ड इङ्घमको भनाइअनुसार यस अवधिमा दक्षिण कोरियाले आफ्नो पहिलो भूउपग्रह पृथ्वीको कक्षमा स्थापना गर्‍यो । जापानले तीन चरणको नयाँ रकेट प्रक्षेपण गर्‍यो ।

भारतले मङ्गलग्रहतर्फ आफ्नो पहिलो अन्तरिक्षयान पठाएर आफ्नो आँखा रातोग्रहमा अडाएको छ । सन् २०१३ को यस समूहमा अग्र पङ्क्तिमा चीन रहेको छ । उसले सन् २०२० सम्म अन्तरिक्ष केन्द्र स्थापना गर्ने पूर्वाधारको रूपमा अर्को मानवयुक्त यात्रा सम्पन्न गरेको छ ।

उसले सन् २०१५ सम्म पृथ्वीको कक्षमा अन्तरिक्ष अनुसन्धानशाला स्थापना गर्ने योजना बनाएको घोषणा गरेको छ, चन्द्रमामा गाडी पठाएको छ र मानवको इतिहासमा गत ३७ वर्षमा पहिलोपटक उक्त गाडी चन्द्रमामा सरल रूपमा अवतरण भएको छ ।

विश्लेषकहरूले यी उपलब्धिले एसियाका अग्रपङ्क्तिमा रहेका आर्थिक शक्तिहरूको बढ्दो आर्थिक लक्ष्य तथा सीपको प्रदर्शन गर्ने ठानेका छन् । उनीहरूले यसप्रति सावधानीको टिप्पणी पनि दिएका छन् । यसले रकमको अभाव भोगिरहेका अन्तरिक्षशक्तिहरूका लागि सजग बनाउने घण्टी बजाएको छ र अन्तरिक्षमा अन्तर–एसियाली डरलाग्दो प्रतिस्पर्धा आरम्भ हुने सङ्केत दिएको छ ।

उनीहरूका अनुसार यहाँ क्षतिपुगेको इज्जत वा घाइते भएको घमण्ड भन्दा पनि अन्तरिक्षको सैनिकीकरण नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको छ । अस्ट्रियाको भियनास्थित युरोपली अन्तरिक्ष नीति संस्था (ईएसपीआई)का मार्को अलिबर्टी खेलको अवस्थामा हाल देखिएको परिवर्तनले रसिया तथा अमेरिकालाई चिन्तित बनाएको बताउँछन् ।

उनी विशेष गरी उनीहरू चीन अन्तरिक्ष शक्तिको रूपमा उदाएको र यसले उनीहरूको अवस्था तथा विश्वव्यापी सुरक्षामा पार्ने प्रभावका विषयमा चिन्तित भएको धारणा व्यक्त गर्छन् । गर्नुहुन्छ । अलिबर्टीले एक इमेलमा आरम्भका चरणमा चीनको अन्तरिक्ष कार्यक्रममा सघाएको रसियाले अहिले चीनलाई सम्भावित चुनौतीको रूपमा लिन थालेको उल्लेख गरेका छन् ।

बिजेताको इतिहास प्राप्त गरेको अमेरिका अन्तरिक्षमा उसको वर्तमान स्थानमा कुनै पनि सम्भावित चुनौतीप्रति निकै संवेदनशील रहेको छ र उसको सुरक्षाको लेखाजोखामा चीनले पूर्व सोभियत सङ्घलाई प्रतिस्थापन गरेको देखिएको उनको धारणा छ ।

रसियाली विश्लेषक भादिम लुकासेभिकले चीनको अन्तरिक्ष कार्यक्रमको विकासमा एक दशकभन्दा बढी वर्ष सहयोग गर्ने रसियाले चिनियाँ कार्यक्रमलाई निकै कम आँकलन गरेको बताउँछन् ।

रसियाली विशेषज्ञहरूले चीनले आफूलाई सोभियत गौरवपूर्ण आधा शताब्दीको युगको प्रतिलिपि बनाएको हाँसो गर्ने गरेको देखिएको छ । लुकासेभिकका अनुसार चीनको नयाँ रकेट प्रक्षेपण तथा प्रत्येक नयाँ उडान एउटा निकै ठूलो अग्रगामी पाइला हुनेगरेको देखिएको छ ।

उनले रसियाले चीनप्रतिको आफ्नो धारणा परिवर्तन नगरेमा आउँदो पाँच देखि १० वर्षको समयमा अन्तरिक्ष प्रतिस्पर्धामा बेइजिङ र वासिङटन मात्र देखिने र रसिया कतै पनि नरहने बताए । जर्ज वासिङ्टन विश्वविद्यालयका अन्तरिक्ष नीतिका विषयमा विशेषज्ञ तथा अवकाशप्राप्त प्राध्यापक जन लग्स्डनले चीनको अन्तरिक्षमा अधिक विजय हासिल गरिएको नागरिक क्रियाकलापबाट अमेरिकी क्रोध देखिएको बताउँछन् ।

सन् २००७ मा चीनले पुरानो भूउपग्रह पत्ता लगाई त्यसलाई नष्ट गर्ने हतियार परीक्षण गरेपछि अन्तरिक्षमा व्यापक रूपमा कवाडी जम्मा हुनसक्ने भनी ठूलै विरोध भएको थियो ।

अन्तरिक्षसम्बन्धी विषयका निकै वेबसाइटहरूमा चीनले यस वर्ष मे महिनामा भूउपग्रह भेदक नयाँ क्षेप्यास्त्र परीक्षण गरेको समाचार राखिएका छन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षा अन्तरीक्ष प्रणालीलाई कुनै पनि हस्तक्षेपबाट मुक्त भएर सञ्चालन गर्ने कुरामा चीनले चुनौती दिनसक्ने भएकाले वासिङटन बेइजिङको बढ्दो सैनिक क्षमताबाट निकै चिन्तत भएको लग्स्डनले बताए ।

उनले युरोप तथा रसियाको पनि यस्तै चिन्ता भएको आफूले ठानेको उल्लेख गरे । यी मुलुकमात्र चीनप्रति चिन्तत भएका भने होइनन् । अष्ट्रेलियामा स्वतन्त्र अन्तरिक्ष अनुसन्धाकर्ता मोरिस जोन्सले चीनले एसियामा पनि प्रमुख अन्तरिक्ष दौडलाई उक्साएको धारणा व्यक्त गरेका छन् ।

चीनले के गरिरहेको छ भन्ने कुरा भारतले पनि सावधानीपूर्वक हेरिरहेको र दक्षिण कोरियाले पनि आफ्नो कार्यक्रमलाई अगाडि बढाइरहेको देखिएको उहाँले बताउनुभयो ।

भारतको अब्जरभर रिसर्च फाउन्डेसनका राजेश्वरी पिल्लाई राजागोपालनले चीनको भूउपग्रहभेदक हतियारको प्रदर्शनले स्थापित मुलुकलाई विस्थापित गर्न खोजेको विषयमा नयाँ दिल्लीले प्रतिक्रिया व्यक्त गर्न खोजेको बताएका छन् ।

उनले भारतले अन्तरिक्षमा हतियारीकरणको विरोध गर्ने नीतिलाई पुनः जोड दिएको र उसले आफ्नो छिमेकमा अन्तरिक्ष क्षमताको बढदो सैनिकीकरणको प्रकृतिसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

उनले अगस्त महिनामा भारतले आफ्नो नौसेनाका लागि भूउपग्रह प्रक्षेपण गरेको बताए । अर्कोतिर विशेषज्ञहरूले अन्तरिक्षमा प्रभुत्व जमाउने मुलुकहरूको तुलनामा एसियाली मुलुकहरू वर्तमान दरमा दशकौँ र निकै पर रहेको बताएका छन् ।

यहाँ दीगो हुन नसक्ने निकै खर्चिलो हतियारको होडबाजी अन्त्य गर्न भएको प्रयास पनि देखिएको छ । रसिया तथा चीनले सन् २००८ मा संयुक्त राष्ट्र सङ्घको निशस्त्रीकरण सम्मेलनमा अन्तरिक्षमा हतियारीकरणमा प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त रूपमा प्रस्तुत गरेका थिए ।

अन्तरिक्षमा कार्यक्रम सञ्चालन गर्न निकै ठूलो खर्च हुने भएकाले मुलुकहरूलाई मिलेर काम गर्न अभिप्रेरित गर्ने धारणा विशेषज्ञहरूले व्यक्त गरेका छन् । यस्ता कार्यक्रममा अन्तरिक्ष केन्द्र, चन्द्रमामा वस्ती तथा मङ्गलको यात्रा पर्नसक्ने अनुमान गरिएको छ ।

अलिबर्टीले अन्तरिक्षमा सहयोगले अन्तत मुलुकबीच सम्बन्ध विकास हुने, आपसी समझदारी प्रवर्धन हुने तथा विश्वासको वातावरण बन्ने बताए ।

अन्त्यमा इङ्घमले अलिबर्टीको भनाइलाई यसरी प्रस्तुत गरेका छन्, ‘अन्तरिक्ष एउटा महत्वपूर्ण विदेशनीतिको औजार हो जसलाई एसियाली तथा पश्चिमी मुलुकले वातावरण संरक्षण तथा मौसम परिवर्तनका विषयका साथमा सुरक्षासम्बन्धी चिन्तालाई सम्बोधन गर्न उपयोग गर्नसक्छन् ।’

रासस/एएफपी (संयोजन : सुरेन्द्रबहादुर नेपाली)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us