तिम्ल्याहा छोरी बचाउन ‘देवता’लाई आर्थिक सङ्कट

काठमाण्डु टुडे २०७० पुष ७ गते १२:५२ मा प्रकाशित

भक्तपुर, ७ पुस– सानैदेखि कहिले महाकाली त कहिले ब्रम्हायणी बनेर नवदुर्गा भवानीका बिभिन्न रुपहरू धारण गरी नवदुर्गाको जात्रा सञ्चालन गर्दा सबैले पूज्ने गरेका ‘देवता’ अहिले तिम्ल्याहा छोरी जन्मिदा सङ्कटमा परेका छन् ।

भक्तपुर नगरपालिका वडा नं. ४ क्वाठण्डौका दिनेश बनमालाकी श्रीमती विष्णुमाया बनमालाले ११ दिनअघि तिम्ल्याहा छोरी जन्माएपछि उनीहरूको उपचारका लागि पैसा नहुँदा सकस परेको हो ।

दिनेशलाई कतिवर्षको उमेरमा देवी देवता बनेको थाहा छैन, तर बाबुबाजेले धान्दै आएको नवदुर्गा नाचमा देवगण बन्दै भक्तपुर, काभ्रे, काठमाण्डु लगायत बिभिन्न जिल्लामा देवीहरूको रुप धारण गरेर नाचेको मात्रै  याद छ ।

उनी भन्छन्, ‘उमेर मलाई थाहा छैन, तर मैले बुझ्ने भएदेखि नै म नवदुर्गा देवगण भएको हुँ, कहिले महाकाली त कहिले ब्रम्हायणी बनेर नाचिरहेँ तर आज पैसा नहुँदा तीनवटी छोरी अस्पतालमा छट्पटाई रहेको टुलुटुलु हेर्नु परिरहेको छ ।’

कक्षा ४ सम्म मात्र पढ्न पाएका २६ वर्षीय दिनेश भन्छन्, ‘मलाई पढ्न मन थियो, सांस्कृतिक परम्परा धान्दै नवदुर्गाको देवगण भएर घुम्नु परेकाले पढ्न नपाए पनि मलाई चिन्ता लागेको छैन, चिन्ता त अहिले भगवानले दिएको तिम्ल्याहा छोरीलाई कसरी बचाउने, कसरी हुर्काउने भन्नेमा लागेको छ ।’

गरिबीले गाँजेका बनमालाले श्रीमती गर्भवती हुँदा नियमित स्वास्थ्य परीक्षण नगराएकाले उनको गर्भमा कति बच्चा थिएभन्ने समेत थाहा नपाएको बताउँछिन् । पाँच वर्षअघि नै एउटी छोरीको बाबु बनिसकेका  बनमाला भन्नछन्, ‘अब एउटा सन्तान जन्माउन खोजेको हो, तर भगवानले तीनवटा दिनुभयो, खुसीले हात थाप्नै प¥यो तर अब पैसा छैन कसरी उपचार गरेर पालन पोषण गरुँ भन्ने चिन्ता छ ।’

समय पुग्नु अघि नै जन्मिएका नवजात शिशुहरूको तौल ज्यादै कम भएको र उनीहरूको आईसियूमा राखेर उपचार गर्नुपर्ने भएपछि भक्तपुर अस्पतालमा उपचार हुन नसकेर सोही दिन भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पतालमा सघन उपचार भईरहेको छ ।

एउटा शिशुको तौल एक किलो ३५० ग्राम र दुईवटा प्रत्येकको तौल एक किलो तीन सय ग्राम रहेको र एउटालाई जण्डिस समेत भएकाले उनीहरूको अबस्था जटिल बन्दै गएको अस्पतालका डा. गणेन्द्रभक्त रायले बताए ।

गर्भवती हुँदा आमाले पोषिलो खानेकुरा नखादा बच्चाको यो अवस्था भएको बताउँदै डा. रायले शिशुहरूलाई कम्तिमा पनि अझै दुईसाता नियमित उपचार गर्नसके बचाउन सकिने बताए ।

आमाको दूध समेत खान नसकेका शिशुहरूलाई अस्पतालले पाईपद्वारा नै अरु दूध खुवाएको छ भने आमालाई अस्पतालले निःशुल्क खाना खुवाईरहेको छ । अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले बनमालाको तिम्ल्याहा छोरीको उपचारमा अस्पतालले सक्दो सहयोग पु¥याईरहेको भएपनि उपचारमा भने पैसा अभावकै कारण समस्या आएको बताए ।

धौभडेलले भने, ‘विगत ११ दिनदेखि अस्पतालमा पचार भईरहेका तिम्ल्याहा शिशुको उपचारमा अस्पतालले भारी छुट गर्दापनि दैनिक १० हजार खर्च हुन्छ, तर उनले सबै पैसा दिनसकेका छैनन् र पनि उपचार रोकेका छैनांै, उनलाई आर्थिक रुपमा सहयोग गरिदिने दाता आईदिए, उपचारमा ठूलो सहयोग पुग्ने थियो ।’

अस्पतालले औषधिहरू पनि सकेसम्म निःशुल्क नै उपलब्ध गराइरहेकोे बताउँदै उहाँले उपचारमा लाखौं खर्च हुनेभएपछि पैसा नहुँदा समस्या आएको बताए । सम्पत्तिको नाममा चार दाजुभाईको सगोलमा रहेको एकरोपनी जग्गा बाहेक अरु नभएको बताउँदै बनमाला भन्छन्, ‘मलाई आर्थिक सहयोग गरिदिन अनुरोध गर्दछु, छोरीहरूको उपचार गराउन सके जति नै दुःख गरेर पनि म उनीहरूको पालन पोषण गर्छु, पढाउँछु, मेरा छोरीहरू बचाउन सहयोग गरिदिनुस् ।’

बनमालाको ५ वर्षकी छोरी दिपिका पनि सुस्त मनस्थितिकी छिन् । देवगणसँगै फुर्सदमा इँटाभट्टामा इँटा पार्ने र काठको काम गर्दै आएका बनमालाको आयस्रोत नहुँदा परिवार नै समस्यामा परेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us