कम पारिश्रमिक दिने कुटनीतिज्ञ अमेरिकी तलासीमा,नेपाली घरेलु कामदार भारतीय शोषणमा

काठमाण्डु टुडे २०७० पुष ६ गते १६:४१ मा प्रकाशित

मुम्बई, पुस–एक भारतीय कूटनीतिज्ञको घरमा काम गर्ने महिलालाई प्रतिघण्टा ३.३१ अमेरिकी डलर पारिश्रमिक दिइएको आरोप लाग्दा अमेरिकी नागरिक स्तब्ध भए । तर मुम्बईमा यस्तै काम गर्ने महिला रूपा ठाकुरका लागि त यो सातोतिनो भाग्यकै कुरा हुन्छ ।
तीन सन्तानकी आमा ठाकुर भारतको वित्तीय राजधानीको बाहिरी भागमा प्रति महिना आठ हजार रूपैयाँ (अमेरिकी डलर १३०) पाउने गरी सातामा ६ दिन प्रतिदिन १३ घण्टा काम गर्छिन । यस पारिश्रमिकलाई घण्टामा विभाजन गर्ने हो भने प्रति घण्टा ३८ सेन्ट पर्न आउँछ ।
‘‘जीवन कठिन छ’’, ३९ वर्षीया ठाकुर भन्छिन् । उनी अशिक्षित बालिकाको रूपमा कामको खोजीमा नेपालबाट यस नगरमा आएकी हुन् ।
‘‘दैनिक खर्च तथा बालबालिकालाई विद्यालय तथा कलेजको शुल्क तिरेपछि म केबल दुई हजार रूपैयाँ जोगाउन सक्छु । हरेक दिन हरेक कुरा महङ्गो हुँदै जाँदा हामी जस्तो मानिसको कठिनाइ बढेको छ’’, उनी भन्छिन् ।
एक भारतीय कूटनीतिज्ञले अमेरिकामा आफ्नो घरेलु कामदारलाई कम पारिश्रमिक दिएको आरोपमा उनलाई पक्राउ गरी नाङ्गो पारी खानतलासी गरेको समाचारले भारत क्रुद्ध भएको थियो । तर एक महिला कामदारले भारतमा निकै कम पारिश्रमिक पाएकी छन् भन्ने कथाले कमैलाई आकर्षित गर्छ । India-America
भारतको सहरी क्षेत्रमा घरेलु कामदारको सेवाले प्रमुखता पाउने गर्छ र घरमा काम गर्ने महिलाले परिवारलाई मध्यमवर्गीय हैसियत प्राप्त हुन्छ । यस्ता कामदार राख्नसक्ने परिवारले सवारी चालक, खाना पकाउने भान्से तथा केटाकेटी हेर्ने महिला पनि राख्नसक्छन् ।
यस्ता काम गर्ने व्यक्ति ठाकुर जस्तै युवा महिला वा बालिकाबाट काम आरम्भ गर्छन् । उनीहरू ग्रामीण क्षेत्रबाट आएर जीविका कमाउन र आफ्नो परिवारलाई सहयोग गर्न प्रयास गर्छन् । उनीहरूले निकै कम रकमका लागि निकै बढी घण्टा काम गर्नुपर्ने सामाजिक कार्यकर्ताहरूले बताएका छन् ।
न्यु योर्कमा तल्लो तहको कामदारले पनि प्रतिघण्टा अमेरिकी डलर ७.२५ भन्दा कम नपावस् भन्ने कुरा सुनिश्चित गर्ने कानुन कडाइका साथ पालना हुन्छ । भारतमा घरेलु कामदारका लागि यस्ता कानुनको अभाव देखिन्छ ।
मुम्बईमा यस विषयमा अभियान सञ्चालन गर्ने सामाजिक कार्यकर्ता अभिषा कुलकर्नीले यस्ता कामका लागि वेतनमान निर्धारण गर्नु आवश्यक रहेको बताउँछिन् ।
भारतमा धनी रोजगारदाताले घरेलु नोकरलाई दुव्र्यवहार गरेको समाचारहरू आइरहन्छन् । नोभेम्बर महिनामा नयाँ दिल्लीको एक अदालतले एक सांसद तथा उनका पत्नीले आफ्नो घरमा महिला घरेलु कामदारलाई यातना दिएर हत्या गरेको आरोपमा निजहरूलाई पक्राउ गर्न आदेश दिएको थियो ।
एक नवयुवती घरेलु कामदारलाई दिल्लीको अर्को स्थानबाट प्रहरी तथा सामाजिक अधिकारवादी कार्यकर्ताहरूले उद्धार गरेपछि यो कुरा अगाडि आएको हो । यी कामदारको शरीरमा चक्कुले काटिएको र निजलाई कुकुरबाट टोकाइएको आरोप लगाइएको छ ।
अक्टोबर महिनामा प्रकाशित विश्वव्यापी दासत्व सूचकाङ्क (द ग्लोबल स्लेभरी इन्डेक्स) ले भारतमा एक करोड ३९ लाख ५० हजार जनतालाई बलपूर्वक श्रम गर्न बाध्य बनाइएको उल्लेख गरेको छ । यो सङ्ख्या विश्वको दास जनसङ्ख्याको आधा हो । हाल घरेलु सेवा प्रमुख चिन्ताको विषय बनेको छ ।
हरियाणा राज्यको न्यु ट्रेड युनियन इनिसिएटिभका कार्यकारी परिषद्का सदस्य अनन्या भट्टाचारजीले केन्द्रीय सरकारले घरेलु कामदारको अवस्थालाई पूर्ण रूपमा ध्यान नदिएको बताइन ।
‘‘यो भारतको सामन्ती परम्पराको एक भाग हो । यहाँ घरेलु कामदारलाई सँधै परिवारको एक भागको रूपमा लिइन्छ तर उनीहरूलाई कामदारको रूपमा व्यवहार गर्न खोजिन्छ’’, उनी भन्छिन् । यसो भए पनि यो उद्योगमा पनि परिवर्तनको सङ्केत देखिएको छ ।
उनले माग बढी भए पनि निकै थोरै महिलाले घरमै बसेर काम गर्न रुचाउने र हाल उनीहरूले धेरै घरमा भाडा माझ्ने वा लुगा धुने जस्ता एकै प्रकारका काम गरी प्रत्येक कामको ज्याला लिन चाहने गरेको जानकारी दिइन् ।
उनले बाँच्ने खर्च तथा स्तर बढ्दै गएको बताउँदै घरेलु कामदार महिलाले पनि आफ्ना बालबालिकाका लागि उच्च आकाँक्षा राख्न थालेको र उनीहरूलाई राम्रोसँग बढाउन चाहेको बताइन् ।
यो घटना मुम्बईमा घरेलु काम गर्ने महिला पुष्पा खुडेको हो जसले आफ्ना दुई बालबालिकालाई कलेज सम्मको खर्च जुटाइन र उनको एउटा छोरो अहिले एक बैङ्कमा व्यवस्थापक छ ।
पैँतालीस वर्षीया खुडे हाल धेरै घरको सफाइ गर्छिन् र खाना पकाउँछिन् । यसबाट उनी प्रति महिना २४ हजार कमाउँछिन् । उनीजस्ता कामदारका लागि यो रकम तुलनात्मक रूपमा बढी हो । उनले ६ वर्षको उमेरमा भारतीय सिनेउद्योग बलिउडका एक कलाकारको घरमा विरुवामा पानी हाल्ने काम थालेकी थिइन् ।
उनी अहिले विदेशीको घरमा मात्र काम गर्न रुचाउँछिन् र भारतीय रोजगारदाता मन पराउँदिनन् । ‘‘म पनि भारतीय हुँ तर भारतीयहरूले हामीलाई सम्मान तथा अन्य जिम्मेवारी नदिने भएकाले म दिक्क छु’’, उनी भन्छिन् । ‘‘उनीहरू हामीलाई नराम्रो व्यवहार गर्छन् र हामीलाई विश्वास पनि गर्दैनन् र विदा पनि दिँदैनन्’’, उनी थप्छिन् ।
खोब्रागडेको पक्राउका प्रक्रियामा काम गर्ने अमेरिकी न्यायाधीवक्ता प्रीत भरारा महिला घरेलु कामदार तथा उनीहरूको परिवारको विषयमा भारतमा किन कम चिन्ता भएको भनी अचम्म मान्छन् ।
‘‘यस्ता दुव्र्यवहार गर्ने भारतीय नागरिकमाथि गरिएको व्यवहारका विषयमा किन यत्तिको क्रोध तथा भारतीय पीडित तथा उनका परिवारप्रति गरिएको व्यवहार प्रति किन कम क्रोध भन्ने कुराले कसैलाई पनि अचम्म पार्छ,’’ उनले यसै साता टिप्पणी गरे ।
ह्युमन राइट्स वाचमा दक्षिण एसियाका निर्देशक मीनाक्षी गाङ्गुलीले दशौँ लाख महिला तथा बालिकाले विश्वभर घरेलु सहयोगीको रूपमा यस्तो काम गरी उनीहरूको रोजगारदातालाई आफ्नो रोजगारी बलियो बनाउन सहयोग गरेको बताउछिन् ।
भारत तथा अन्यत्र यस्ता कामदारको अधिकार सुधार्न सन् २०११ मा अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर भए पनि उनीहरू प्रायः शोषित भएको बताइन् ।
उनले घरेलु कामदारलाई सङ्गठित हुन दिने तथा उनीहरूमाथि हुने यौनजन्य दुव्र्यव्यहारको विषयमा गुनासो गर्न उनीहरूलाई सक्षम बनाउने तथा यस्ता समस्या तत्कालै समाधान गर्ने अधिकारक्त घरेलु कामदार महासन्धिमा भारतले हस्ताक्षर गर्नुपर्ने बताइन् ।
प्रायः घरेलु कामदार आफूमाथि बदलाको कारवाही हुनसक्ने भनी गुनासो गर्न नआउने गरेकाले साक्षीको उचित सुरक्षाको पनि व्यवस्था हुनुपर्ने पनि उनले उल्लेख गरिन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us