
सुन्दरता मानिसको सम्पत्ति नै हो । संसारमा सुन्दर देखिन नचाहने मानिस सायदै होलान् । आफ्नो सुन्दरतालाई अझै बढाउन चाहनेहरुका लागि ऐश्वर्या रायको टिप्स छ ।
उनले हालै मुम्बइमा आयोजित एक कार्यक्रममा भनेकी छिन्, ‘मेरो सुन्दरताको सम्पूर्ण श्रेय आमाबुबालाई दिन चाहन्छु, सुन्दरता मलाई पैतृक सम्पत्तिको रुपमा प्राप्त भएको हो । यसमा मेरै कुनै योगदान छैन ।’ उनले अझ थपिन् ‘जसले मसँग सुन्दरताको टिप्स माग्नुहुन्छ म उहाँहरुलाई भन्छु, ‘परिवारजन र आफन्तप्रति इमान्दार रहनुहोस्, ठूलाको इज्जत गर्नुहोस्, मनमा सकारात्मक सोच ल्याउनुहोस् अनुहारमा चमक आपसेआप आउने छ ।’
ऐश्वर्याले थपिन् ‘म सुन्दरताका लागि कुनैपनि किसिमको सर्जरी आवश्यक देख्दिन प्राकृतिक सुन्दरतामा विश्वास गर्दछु ।’ साथै उनले आफू छोरी आराध्यासँग एकदमै खुसीका साथ जीवन बिताइरहेको बताएकी छिन् ।
आमा बनेपछि पारिवारिक जीवन बिताइरहेकी ऐश्वर्या सन २०१० मा रिलिज भएको गुजारिश फिल्मपछि ठूलो पर्दामा देखिएकी छैनन् । कार्यक्रममा ऐश्वर्या पर्फेक्ट फिटनेसमा देखिएकी थिइन् ।