राष्ट्रपति पुटिनद्वारा आफ्ना एकजना विपक्षीलाई क्षमादान

काठमाण्डु टुडे २०७० पुष ५ गते १७:३१ मा प्रकाशित

रुसका एकजना भूतपूर्व अर्बपति मिखाइल खादरकोफ्स्कीलाई जेलबाट रिहा गरिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले मानवीय आधारमा आफ्ना भूतपूर्व राजनीतिक प्रतिद्वन्द्वीलाई क्षमादान दिने एउटा आदेशमा हस्ताक्षर गरेपछि उनी रिहा गरिएका हुन्।vladmir-putin

गएको दश वर्ष भन्दा बढी समयदेखि थुनामा रहेका खादरकोफ्स्की रिहा हुन केही महिनामात्र बाँकी थियो।उनले आफु विरुद्ध लगाईएका भ्रष्टाचार तथा रकम अपचलन संबन्धी अभियोगहरुमा आफु निर्दोष रहेको बताउँदै आएका थिए।

क्षमादान

बिहीबार राष्ट्रपति पुटिनले खादरकोफ्स्कीले आफ्नी आमा बिरामी भएकीले क्षमादान मागेको बताएका थिए। पुटिनले भने, “उनले दश बर्षभन्दा बढी समय थुनामा बिताइसकेका छन्। त्यो एउटा गम्भीर सजाय हो। अहिले उनले आफ्नी आमा बिरामी रहेको बताएका छन्, जुन एउटा मानवीय प्रकृतिको परिस्थिति हो, त्यसैले यसबारे एउटा निर्णय लिन संभव छ।”राष्ट्रपति पुटिनले यसअघि खादरकोफ्स्कीले कानुन बमोजिम क्षमादानकालागि अपील नगरेकाले पनि उनलाई क्षमादान नदिइएको बताए।

उनले भने, “जहाँसम्म खादरकोफ्स्कीको कुरा छ, मैले यस विषयमा कुरा गरिसकेको छु। उनले कानुन बमोजिम क्षमादानकालागि अपील गर्नुपर्थ्यो। उनले त्यसो गरेनन्। तर अहिले, भर्खरै, उनले त्यस्तो कागज लेखेर मसँग क्षमादानकालागि अपील गरेका छन्।” पक्राउ पर्ने बेला राजनीतिक महत्वाकांक्षा बोकेका तथा रुसी सरकारका कट्टर आलोचक खादरकोफ्स्की रुसका सबैभन्दा धनी व्यक्ति थिए।

अभियोग

युकोस तेल कम्पनीका मालिक खादरकोफ्स्कीले विपक्षी दलहरुलाई आर्थिक सहायता गरेपछि उनी विरुद्ध कर छली तथा कम्पनीको रकम अपचलन गरेको अभियोग लगाइएको थियो।

उनले ती आरोपहरुको खण्डन गर्दै आफु निर्दोष भएको बताउँदै आएका थिए।आफ्नो छोरालाई रिहा गरिन लागेको खबर सुनेर आफुले विश्वासै गर्न नसकेको उनकी आमाले बताइन्।

एउटा रुसी टेलिभिजनसँग कुरा गर्दै मरिना खादरकोफ्स्कीले भनिन्, “हेर्नोस, जतिसुकै आनन्द दिने खालको समाचार भएपनि त्यस्तो खुसी, त्यस्तो समाचारलाई विश्वास गर्न केही समय लाग्छ। मेरो मुटु यति बढी धडकी रहेको छ कि मैले आवश्यक भन्दा बढी औषधि लिएकी छु। वास्तवमा मेरो छोरालाई क्षमा दिइएला भन्ने मैले अपेक्षा गरेकी थिइनँ।”

सन् १९९१ मा तत्कालिन सोभियत संघको औपचारिक विघटन भएपछि मिखाइल खादरकोफ्स्कीले ठूलो रकम कमाए।उनले युकोस तेल कम्पनीबाट प्राप्त सम्पत्तीलाई शुरुमा पर्दा पछाडिबाट र पछि खुल्ला रुपमा राजनीतिमा प्रवेश गर्न प्रयोग गरे।

उनले शुरुमा आफुले सत्तामा पठाउन सहयोग गरेका पुटिनको पनि विरोध गर्न शुरु गरे।त्यसपछि बन्दूक देखाउँदै खादरकोफ्स्कीलाई गरिएको गिरफ्तारी र उनलाई लामो जेल सजाय दिइएको घटनालाई आफ्नो शक्तिमाथि चुनौती दिने जो कोही प्रति राष्ट्रपति पुटिन कतिसम्म निर्मम बन्न सक्छन् भन्ने उदाहरणको रुपमा पनि हेरिएको थियो।

रुसी संसद डुमाले ‌बुधबार पारित गरेको क्षमादान विधेयकले वातावरणवादी संस्था ग्रीनपिसका कार्यकर्ताहरु तथा पङ्क साँगीतिक समूह पुसी रायटका सदस्यहरु सहित झण्डै बीस हजार जना बन्दीहरुलाई आम माफी दिन प्रस्ताव गरेको थियो। BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us