
काठमाण्डु, ४ पुस– इजिप्टका अपदस्थ राष्ट्रपति मोहमद मोर्सिलाई विदेशी संगठनहरुसँग मिलेर आतंकवादी गतिविधिमा सहयोग गरेको आरोपमा मुद्दा दायर गरिएको छ । प्यालेस्टीनी लडाकु समूह हमास र लेबनानको हिजबुल्लासँग मिलेमतो गरेको आरोपमा मोर्सिविरुद्ध मुद्दा दायर गरिएको हो ।
मोर्सिबाहेक मुस्लिम ब्रदरहुडका नेता सहित ३५ जनालाई पनि आतंकवादी गतिविधि गरेको आरोपमा सरकारले मुद्दा चलाएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उनीहरुलाई आतंकवादलाई प्रश्रय दिएको, देशको गोपनीयता विदेशीसँग खोलेको, देशको स्थायित्व तथा स्वतन्त्रतामा आँच आउने गरी सैनिक प्रशिक्षण चलाएको आरोप लगाइएको छ ।
मोर्सिलाई गत जुलाइमा सेनाले अपदस्थ गरी सत्ता हातमा लिएको थियो । उनलाई यसअघि नै हत्या हिंसा र भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएको छ ।
नयाँ अभियोग देशकै ठूलो षडयन्त्रको मामिला भएको सरकारी वकीलहरुले बताएका छन् । नयाँ अभियोग प्रमाणित भए मोर्सिलाई मृत्युदण्ड हुनसक्ने अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।