
मनिला, २ पुस– अमेरिकी विदेशमन्त्री जोन केरीले मंगलबार चीनलाई उत्तर चीन जल क्षेत्रमा झैं दक्षिण चीन जल क्षेत्रमाथि हवाइ प्रतिरक्षा क्षेत्र लागु नगर्न चेतावनी दिएका छन् ।
मनिलामा एक पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री केरीले उक्त चेतावनी दिएको हो । चीनले गत महिना पूर्वी चीन जल क्षेत्रमाथि हवाइ प्रतिरक्षा पहिचान क्षेत्र घोषणा गरेपछि यस्तै क्षेत्रको घोषणा दक्षिण चीन जल क्षेत्रमाथि पनि गर्नसक्ने चेतावनी फिलिपिन्सले दिएको थियो ।
यस्तो क्षेत्र स्वीकार नगर्ने
दक्षिण चीन जल क्षेत्रको रणनीतिक रूपमा महत्वपूर्ण र स्रोतको सम्भावित भण्डारयुक्त क्षेत्रमा फिलिपिन्स, चीन, भियतनाम, बु्रनाइ तथा ताइवानको दाबी रहेको छ ।
विदेशमन्त्री केरीले मनिलामा फिलिपिन्सका विदेशमन्त्री अल्बर्ट डेल रोजारियोसँगको छलफलमा चीनले पूर्वी चीन जल क्षेत्रमा हवाइ प्रतिरक्षा पहिचान क्षेत्र घोषणा गरेकोमा आफूले चिन्ता व्यक्त गरेको र अमेरिकाले यस्तो क्षेत्रलाई पहिचान नगर्ने र स्वीकार पनि नगर्ने बताए ।
बेइजिङले पूर्वी चीन जल क्षेत्र भएर जाने विमानहरूले आफ्नो राष्ट्रियता तथा उडान योजना बारेमा जानकारी दिनुपर्ने र दुईतर्फी रेडियो सञ्चार कायम गर्नुपर्ने घोषणा गरेको थियो । यसो नभएमा यस्तो विमानले आपत्कालीन प्रतिरक्षा उपाय भोग्नुपर्ने चेतावनी दिइएको थियो । रासस/एएफपी