
काठमाण्डु, १ पुस– अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको एनसेल कप फुटबल प्रतियोगिताको उपाधिको लागि मनाङ मस्र्याङ्दी क्लब र ब्वाइज युनियन क्लब भिड्ने भएका छन् ।
दशरथ रङ्गशालामा भोलि साँझ ५ बजेपछि यी दुई टिमबीच खेल हुनेछ । गत वर्षको एनसेल कप विजेता मनाङ मस्र्याङ्दीले सङ्कटा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
यस्तै त्रिपुरेश्वरको ब्वाइज युनियन भने ३२ वर्षपछि ए डिभिजन स्तरीय क्लबको सहभागितामा पहिलो पटक त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
यसअघि २०४० सालमा भएको बर्थ डे कप फुटबल प्रतियोगितामा ब्वाइज युनियनले गुवाहाटी स्पोर्ट्स क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।
नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको यो प्रतियोगितामा विजेता टिमले १५ लाख नगद प्राप्त गर्नेछन् भने उपविजेता टिमले सात लाख रुपैयाँ पाउने छन् ।
यस्तै सेमिफाइनलमा पुग्ने दुई टिमले जनही एक लाख ५० हजार रुपैयाँ पाउने छन् । यसका लागि त्रिभुवन आर्मी र सङ्कटा क्लब विजेताका भागिदार बनिसकेका छन् ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक घोषित हुनेले जनही ७५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने छ ।