
त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ती यः
ब्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग ब्यूसा काय् बुई छग ब्यूसा म्ह्याय् बुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु उकी दुने चाकु
व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी
धान्य पूर्णिमा अर्थात यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घर आँगनमा मिठासपूर्ण लोकलयमा यस्तो गीत गाएर यःमरी माग्ने चलन छ । पूर्णिमाको साँझ टोल टोलमा तिहारमा देउसी भैलो खेले झैँ केटाकेटी, युवायुवती जम्मा भई यःमरी माग्ने चलन अब भनाइमा मात्र सीमित रहने अवस्था देखापर्न थालेको छ ।
यःमरी एक प्रकारको नेवारी परम्परागत रोटी हो । सबैलाई मनपर्ने भएर नै यसको नाम यःमरी अर्थात मनपर्ने रोटी भएको हो । चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, मास, मुगी राखी अंजिर अथवा त्रिकोण आकार गरी दुई किसिमबाट बनाई पानीको बाफमा पकाउने गरिन्छ ।
यःमरी माग्ने चलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो हो । अचेल यो महत्वपूर्ण सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा अस्तित्व रक्षाका लागि सङ्र्घषरत छ ।
इतिहास तथा संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार मल्लकालदेखि नै यःमरी माग्ने चलन चल्दै आएको हो । उनका अनुसार मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्छ । यो यःमरी माग्ने गीतमा उल्लिखित शब्द केलाउँदा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्को पाइने उनी बताउँछन् ।
पछिल्लो समयमा प्रचारप्रसारको अभावमा यःमरी माग्ने प्रचलन हराउँदै गएको छ । देउसी भैलोमा जस्तै दक्षिणाका रुपमा पैसा नपाउने भएकाले युवावर्गको यःमरी माग्ने संस्कृतिप्रति रुचि नभएको देखिन्छ । लोकलाजकै कारणले पनि युवा वर्ग यस संस्कृतिबाट टाढिँदै गएको हुनसक्ने उनको भनाइ छ ।
यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाबाट नयाँ पुस्तालाई शिक्षा दिनुपर्ने खाँचो रहेको औँल्याउँदै संस्कृतिविद् धौभडेलले यस्ता सांस्कृतिक महत्व बोकेका परम्परागत चाडपर्वहरुको जगेर्नाका लागि व्यापक प्रचारप्रसार गनुपर्ने बताए ।
यःमरीलाई कुबेर र गणेशका प्रतीकका रुपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानका भकारीलगायतमा चढाइने गरिन्छ । यसरी चढाइएको यःमरी चारदिन पछिमात्र प्रसादका रुपमा बाँडेर खाने चलन छ । यःमरीलाई धानका भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ ।
ऐतिहासिक कथनअनुसार पाँचाल देशमा (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्दथे । ऊ र उनकी पत्नी भगवान् विष्णुका परम भक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुबेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुबेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाए ।
उनको सत्कार देखी प्रशन्न भएर कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति वृद्धि भयो र यःमरी खाएका कारण शरीरसमेत हृष्टपुष्ट हुन थाल्यो । विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् ।
धनसम्पत्ति वृद्धि र धनधान्य हुने विश्वासले नेवार समुदायमा यःमरी पूर्णिमाका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गर्दछन् । तर दान गर्ने इच्छा भए तापनि यःमरी माग्ने प्रचलन लोप हुँदै जाँदा यःमरी दान गर्न नसक्ने अवस्था आएको छ ।
संस्कृतिविद् धौभडेलले भन्छन्, ‘यसमा सम्बन्धित सबैको ध्यान जानु जरुरी छ । स्थानीय कला, संस्कृति, परम्परा र रीतिथितिलाई जीवित राख्न नयाँ पुस्तालाई यसबारे जानकारी दिन जरुरी भइसकेको छ ।’ रासस