
काठमाण्डू ६ असार– सरकार इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा जुटेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेहरुलाई उद्धार गर्ने तयारीमा जुटेको बताएकी छन ।
आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा. राणाले यस्तो बताएकी हुन । उनले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारी बारेमा छलफलका क्रममा सो जानकारी गराएकी छन ।
परराष्ट्रमन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूताबासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको बताइन् ।
जिटुजी प्रक्रिया अन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व भएको उनले बताइन् ।
त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ ।