अमेरिकी चालकरहित विमानले १७ जना मार्‍यो

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ११:४० मा प्रकाशित

साना, २८ मंसिर– अमेरिकी चालकरहित विमानको कडा आलोचना भइरहेको यस बखतमा  यमनमा  पुनः बिहीबार चालकरहित विमान आक्रमण भएको छ । उक्त जानकारी चिकित्सक र प्रहरी स्रोतले शुक्रबार दिएका छन् ।

बिहीबार गरिएको सो आक्रमण  विवाहको जन्ती बोकेको एक गाडीलाई लक्ष्यगरी गरिएको प्रहरी स्रोतले जनाएको छ । यमनको मध्य सहर रड्डाआनजिकै संदिग्ध अलकायदा सदस्यहरूलाई लक्षितगरी गरिएको जनाइएको छ । तर केही व्यक्ति बाहेक सबै सर्वसाधारण रहेका र ती व्यक्तिहरूको अलकाउदा  सञ्जालसँग कुनै सम्बन्ध नरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

रातभरी गरिएको दुईवटा क्षेप्यास्त्र आक्रमणमा १७ जनाको मृत्यु भएको चिकित्सकस्रोतले एएफपी समाचार समितिलाई बताएको छ । सो आक्रमणमा मारिएका मध्ये दुईजनाको परिचय खुलेको पनि सो स्रोतले प्रष्ट पारेको छ  । विवाहका जन्तीको लागि लगिएका त्यस सवारीसाधनमा १० जना यात्रु रहेका बताइएको छ । अमेरिकी चालकरहित विमान आक्रमणबाट यसमा अल–कायदासँग आवद्ध दर्जनौँ आतङ्ककारीहरू मारिएका छन् ।

तर सो चालकरहित विमान आक्रमणबाट निर्दोष नागरिकको हत्या हुने भएको हुनाले नागरिक समाजलगायत सरकारपक्षले पनि यसको आलोचना गर्दै आएको छ । यमनमा भएको अमेरिका चालकरहित विमान आक्रमणमा मारिएका व्यक्तिको  सङ्ख्या हालसम्म प्रष्ट नभएको र अनुमानित मात्र भएको पनि समाचारमा बताइएको  छ ।

तर गत नोभेम्बरमा वासिङ्टनसँग आवद्ध ‘न्यु अमेरिकी फाउन्डेसन’ले  गरेको एक अनुसन्धानको अनुमानित तथ्याङ्गअनुसार सन् २००२ यता यमनमा ९३ वटा हवाई आक्रमण भएका छन् । सो आक्रमणमा करिब  ८९० व्यक्ति मारिएका  अनुमान गरिएको थियो  भने, तीमध्ये ६६ जना नागरिक रहेको उक्त फाउन्डेसनले  जनाइएको  थियो  । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us