
काठमाण्डु, २८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकलाई हानिनोक्सानी पुर्याभई भ्रष्टाचार गरेको अभियोगमा घरेलु तथा साना उद्योग विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष सीताराम प्रसाईंसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले हाल यती विकास बैंक बनेको घरेलु तथा साना उद्योग विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष प्रसाईंसँगै, तत्कालीन महाप्रबन्धक भागवत श्रेष्ठ, तत्कालीन वरिष्ठ प्रवन्धक सुनिल गुरुङ, खोसी मार्केटिङ प्रालिका प्रोपाइटर केशवलाल खोसी श्रेष्ठ, निजका वारिस सुनिल प्रधान र मालपोत कार्यालय सुनसरीका तत्कालीन खरिदार दिव्यराज घिमिरेविरुद्ध मुद्धा दायर गरेको हो ।
उनीहरुले जग्गाको अत्यधिक मूल्यांकन गरी कर्जा प्रवाह गरेर गैरकानुनी लाभ लिएको अख्तियारको अभियोग छ । दुई लाख पनि नपर्ने जग्गालाई बढी मुल्यांकन गर्दै बैंक ठगी गरेको भन्दै १ करोड ५८ लाख ४ हजार ७ सय ५२ रुपैयाँ जरिवाना भराउनुपर्ने मागसहित मुद्धा दायर भएको हो ।