
काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली जनताले नयाँ शक्तिमाथि भन्दा पुरानै खराब शक्तिहरुसँग चित्त बुझाएको बतएका छन् ।
आफ्नो फेसबुक पेजमा शुक्रबार स्टाटस पोष्ट गर्दै डा. भट्टराईले आफू गम्भीर आत्मसमीक्षाको क्रममा रहेको उल्लेख गर्दै आफू र आफ्नो पार्टी विद्यमान शक्ति र नेताहरुभन्दा तात्विक रुपले भिन्न हुन नसकेको स्वीकारेका हुन् ।
फेसबुकमा आफ्नो प्रारम्भिक निश्कर्षमा सुझाव माग्दै उनले लेखेका छन्, ‘माओवादी आन्दोलन उन्नत र वैकल्पिक राज्यसत्ता, समाज र संस्क्रिति निर्माण गर्ने महाभियान थियो । तर समयक्रममा हामी विद्यमान राजनीतिक शक्ति र नेताहरू भन्दा तात्विक रुपले भिन्न हुन र देखिन सकेनौं । जनताले उस्तै अर्को एउटा नयाँ शक्तिमाथि जोखिम उठाउनु भन्दा पुरानै खराब शक्तिहरूसंग चित्त बुझाउनु श्रेयस्कर ठाने ।’
संकटा नलगाएर आफूले जीवनमा ठूलो गल्ती गरेको निश्कर्ष निकाल्दै उनले विपक्षीहरुको अतिरिक्त सहकर्मीहरुको खवाव खेप्न नसकेर आफूले संकटकाल घोषणा गर्न नसकेको उनको दावी छ ।
उनले फेसबुकमा प्रकाशित गरेको स्टाटस जस्ताको तस्तैः
हालैको पार्टीको नराम्रो चुनावी पराजय पछि थालेको गम्भीर आत्मसमीक्षाको क्रममा म केही प्रारम्भिक निष्कर्षमा पुगेको छु, त्यसलाई पूर्ण बनाउन सबै शुभेच्छुकहरुको सहयोग र सुझावको अपेक्षा गर्दछु:
० माओवादी आन्दोलन उन्नत र वैकल्पिक राज्यसत्ता, समाज र संस्क्रिति निर्माण गर्ने महाभियान थियो । तर समयक्रममा हामी विद्यमान राजनीतिक शक्ति र नेताहरू भन्दा तात्विक रुपले भिन्न हुन र देखिन सकेनौं । जनताले उस्तै अर्को एउटा नयाँ शक्तिमाथि जोखिम उठाउनु भन्दा पुरानै खराब शक्तिहरूसंग चित्त बुझाउनु श्रेयस्कर ठाने ।
० व्यक्तिगत रुपमा समय समयमा मैले सापेक्ष रुपले सही सोंच राखें र सही कुरा पनि उठाएँ । त्यसनिम्ति मबाट जनताले धेरै आशा राखे र ममाथि भरोसा पनि गरे । तर मसंग आफ्नै सोंच र प्रतिबध्दतालाई लागू गर्ने आवश्यक इच्छाशक्ति र संगठनात्मक तागत भएन । उदाहरणार्थ, २०६९ जेठ १४ गते राति अन्तिम विकल्पको रुपमा म आफैले कलंकको टीका लगाएर भए पनि संकटकाल घोषणा गर्छु र संविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोंच बनाएर त्यसको उद्घोष पनि गरें तर अरु विपक्षीहरूका अतिरिक्त आफ्नै नेता र सहकर्मीहरुको दवाव खेप्न नसकेर पछि हटें । यो मेरो जीवनको सबभन्दा ठुलो गल्ती साबित भयो, जुन म विनम्रतापूर्वक स्वीकार्दछु ।
० आगामी दिनमा मेरा तीन प्रमुख प्रतिबध्दता रहनेछन्: १. राष्ट्रिय स्वाधीनता र समावेसी राष्ट्रियता( National Independence & Inclusive Nationalism) , २ समावेसी लोकतन्त्र ( Inclusive Democracy) र ३. समावेसी विकास( Inclusive Development) ।
० यसकानिम्ति म आफ्नो पार्टी अतिरिक्त समान सोंच भएका अन्य पार्टी भित्रका र गैर-पार्टी व्यक्ति तथा संस्थासंग सहकार्य गरेर अघि बढ्नेछु ।