
खलंगा, २७ मंसिर–छ महिना अघि नेपाल टेलिकमको स्काइ मोबाइलको टावरले काम गर्न छोडेपछि बैतडीको पुरचौडी क्षेत्रका एक दर्जन गाविस फोन सम्पर्कविहीन भएका छन् । जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको पुरचौडीमा सबैभन्दा प्रभावकारी सञ्चारका साधनका रुपमा रहेको स्काइ मोबाइलले काम गर्न छोडेपछि समस्या भएको हो ।
पुरचौडी क्षेत्रका हाट, मल्लादेही, कोटपेटरा, रुद्रेश्वर, महादेवस्थान, कोटिला, भुमिराजलगायत १२ गाविसमा स्काइ फोनले काम नगर्दा हजारौँ सेवाग्राही फोनविहीन भएको मल्लादेहीमा डम्बर बोहराले जानकारी दिए ।
नेपाल टेलिकमको बैतडी शाखामा सम्पर्क गर्दा दार्चुलाको सिप्टी गाविसको टावरको समस्याका कारण बैतडीको पुरचौडीमा स्काइ मोबाइलले काम नगरेको बताएको छ ।
टेलिकमका बैतडी शाखा प्रमुख श्याम विष्टले आफूले प्रशासनिक काम मात्रै गर्ने भएकाले प्राविधिक जिम्मेवारी अत्तरियास्थित टेलिकमको क्षेत्रीय कार्यालयको भएको बताए ।
फोन सेवाका लागि पटकपटक टेलिकमसँग गुहार माग्दै आएका स्थानीयका स्काइ मोबाइल र सिडिएमए फोन छ महिनादेखि स्वीच अफ भएका छन् । मोबाइलले काम नगर्दा बैतडीका सञ्चारकर्मीलाई पनि पुरचौडी क्षेत्रको समाचार सङ्कलनमा बाधा सिर्जना भएको छ । बारम्बार बैतडीका सञ्चारकर्मीले फोन सेवाको समस्याबारे समाचार सम्प्रेषण गर्दै आएपनि हालसम्म टेलिकमले कुनै चासो देखाएको छैन । रासस