काठमाण्डुमा अन्तराष्ट्रिय फिल्म महोत्सव जारी

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ४:०६ मा प्रकाशित

Kimffकाठमाण्डु मंसिर–काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) बुधबारदेखि सुरु भएको छ ।  हिमाल एसोसिएसनको आयोजनामा भएको उक्त महोत्सव ‘इन्द्रेणी खोज्दै जाँदा’ भन्ने चलचित्रको सुरुवातसँगै प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको हो ।
    महोत्सवमा २० मुलुकका ४७ वटा फिल्म (डुकमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म) प्रदर्शनी गरिने जनाएको छ ।
    पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा सहभागी चलचित्रबीच अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने र उत्कृष्ट हुने तीन चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पुरस्कारको व्यवस्था रहेका किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिए ।
    प्रदर्शन गरिएको ‘इन्द्रनी खोज्दै जाँदा’ चलचित्रमा आफ्नो सपना पूरा गर्न काठमाण्डु  आएका तीन दाजुबहिनीले झेलेका कष्ट र परीक्षालाई फिल्मले चित्रण गरेको छ ।
    हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरु प्रदर्शन गर्दै आइरहेको र ती चलचित्रहरुमा साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैङ्गीकता र बसाइसराइजस्ता विषय समेट्ने गरेको महोत्सव समितिका निर्देशक रम्यता लिम्बूले जानकारी दिइन ।
    महोत्सवमा नेपाल पानोरामा सेक्सनमा उत्कृष्ट वृत्तचित्रलाई रु २५ हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि रु २५ हजार पुरस्कार दिइने पनि व्यवस्था छ. । महोत्सव यही मंसिर ३० गतेसम्म हुनेछ । किम्फको समापन भने क्याप्टेन जोहन नोयलको डकुमेन्ट्री ‘द इपिक अफ एभरेस्ट’ को विशेष प्रदर्शनीबाट गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us