इँटाभट्टामा बालबालिकाको ओइरो

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १०:४९ मा प्रकाशित

भक्तपुर, २५ मंसिर–  कापी, कलम बोकेर स्कुल जाने उमेरका कलिला बालबालिका पढाइ नै छाडेर गाउँगाउँ देखि इँटाभट्टामा काम गर्न आएका छन् ।

भक्तपुरका ६१ वटा इँटाभट्टामा इँटा बनाउने काम सुरु भएपछि कामको खोजी गर्दै विभिन्न जिल्लाका गरिब परिवारका बालबालिका काम गर्न पढाइ नै छाडेर परिवार तथा गाउँका अन्य व्यक्तिसँग इँटाभट्टामा आएका हुन् ।

छ महिना यता छ महिना उता

विशेष गरी मंसिर महिनादेखि जेठ महिनासम्म इँटाभट्टामा इँटा बनाउने काम गर्न आउने अधिकांश बालबालिका छ महिना भट्टामामा काम गर्ने र छ महिना गाउँमा फर्कने गर्छन् । गाउँमा पढ्दै गर्दा पढाइ नै छोडेर इँटाभट्टामा पैसाकै लागि आउने बालबालिकाको पढाइ छ महिना छुट्ने गरेको ती बालबालिका बताउँछन् ।

नङ्खेल गाविसको एक इँटाभट्टामा इँटा बनाउन परिवारसंगै दुईसाता अघि आएका काभ्रे भकुण्डेबेसीका आठ वर्षका कुलदेव लामा आफ्ना बाबुआमालाई काम सघाउने गरेको बताउँछन् । इँटा बनाउन आफूले सिक्दै गरेको बताउने उनले बाबुआमाले बनाएको इँटालाई पल्टाउने काम गर्ने गरेको बताउँछन् । अहिलेसम्म स्कुल नगएका उनी पढ्न मन लागेपनि पढ्न नपाएको गुनासो गर्छन् ।

bhaktapur itta bhatta

दिनमा २ सय इँटा

कक्षा ६ मा पढ्दापढ्दै पढाइ नै छाडेर रामेछाप मन्थलीबाट १० दिनअघि गाउँकै दाजुसंँगै नङ्खेलको इँटाभट्टामा आएका १४ वर्षका नविन भुजेल बिहानैदेखि इँटा बनाउने काममा व्यस्त रहने गरेको बताउँछन् । उनी भन्छन्—‘‘म भर्खंरै इँटा बनाउने काम सिक्दैछु, एक दिनमा २ सयदेखि ३ सयसम्म इँटा बनाउने गर्छु ।’’

गाउँमा भन्दा यतै रमाइलो लागेको बताउँदै भुजेलले भने– ‘‘मलाइँ पढ्न मन लाग्दैन, त्यसैले यहाँ आएको हुँ, यहाँ काम गरेर १५ हजार कमाउँछु होला, त्यो पैसाले राम्रो लुगा, जुत्ता किन्छु, मीठो खान्छु ।’’

भुजेल मात्रै होइन उनीसँगै काम गर्ने सिन्धुली छेल्पा गाविसका चेवन दाहालको रहर पनि उस्तै नै छ । कक्षा ९ मा पढ्दै गरेका उनी पढाइ नै छाडेर इँटाभट्टामा काम गर्न आएको बताउँछन् । उनी यसरी काम गर्न आएको यो पहिलो वर्ष भने होइन । विगत चार वर्षदेखि यसैगरी उनी छ महिना इँटाभट्टामा काम गर्ने र पैसा लिएर घर जाने गरेको बताउँछन् ।

मीठो खान र राम्रो लाउन

सिन्धुलीबाटै पढ्न मन नलागेर इँटाभट्टामा आइपुगेका १५ वर्षका पवन राई रमाइलो गर्न, मीठो खान र राम्रो लुगाजुत्ता लगाउने इच्छाले यहाँ काम गर्न आएको बताउँछन् । काठमाडाँै मै केही वर्षदेखि होटलमा काम गर्दै आएका रामेछाप मुगीटारका १३ वर्षका सरोज भुजेल भने यसवर्ष होटलको काम छाडेर इँटाभट्टामा काम गर्न आएको बताउँछन् ।

उनी भन्छन्—“विगत केही वर्षदेखि म गाउँ गएकै छैन, काठमाडाँै कै होटलमा भाडा माझ्ने काम गर्थें, होटल मालिकको सधैँको गालीबाट दिक्क भएर यहाँ काम गर्न  आएको हुँ ।” भुजेल भन्छन—“यहाँ गाउँबाट साथीहरु आएको थाहा पाएर काम गर्न आएको हुँ, दिनमा तीनसय भन्दा बढी इँटा बनाउँछु, कसैको गाली खानु पर्दैन, साथीहरुसँंग रमाइलो गर्दै स्वतन्त्र भएर काम गर्न पाइन्छ, कमाएको पैसाले रमाइलो गरिन्छ ।”

पढाइ र स्वास्थ्यमा असर

भक्तपुरका इँटाभट्टा सञ्चालकले एकहजार इँटा बनाएको ज्याला रु ७ सय सम्म दिने गरेका छन् । बालबालिकालाई एक हजार इँटा बनाउन चार देखि पाँच दिन लाग्छ । दैनिक करिब रु १ सय ५०  कमाउने यस्ता बालबालिकाको पढाइ मात्रै बिग्रेको होइन, उनीहरुको स्वास्थ्यमा समेत नराम्रो असर पर्ने गरेको छ ।

इँटाभट्टामा काम गर्न आउने अधिकांश बालबालिकाको इच्छा भनेको पढ्ने होइन, मीठो खाने, राम्रो लगाउने र गाउँ जाँदा ठाँटिएर जाने नै हो । त्यसैका लागि उनीहरु आउने गर्दछन् । मङ्सिरको १५ गते पछि पुस महिनाभरि नै जिल्लाका विभिन्न इँटाभट्टामा काम गर्न परिवार र गाउँका साथीभाइसँंगै बालबालिका आउने गर्दछन् । यसरी इँटाभट्टामा बालबालिका आउने क्रम अहिले पनि जारी नै रहेको छ ।

हरेक वर्ष भक्तपुरका ६१ वटा इँटाभट्टामा काम गर्न ६ देखि १५ वर्ष उमेरका पाँच हजारभन्दा बढी बालबालिका आउने गरेको इँटाभट्टाका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बालविकास केन्द्रले जनाएको छ । यहाँ काम गर्न आएका बालबालिका इँटा पार्नेदेखि कोइला कुट्नेसमेत काम गर्दा शिक्षा र स्वास्थ्यप्रतिको न्यूनतम आधारभूत अधिकारबाट समेत वञ्चित भएका पाइन्छन् ।

bhaktapur itta bhatta 1

विभिन्न जिल्लाबाट भक्तपुरमा

इँटा पार्ने तथा बोक्ने कामका लागि विशेष गरी रामेछाप, काभ्रे, सिन्धुपाल्चोक रोल्पा, रुकुम, मकवानपुर, दाङ, नुवाकोट, धादिङ, बाँके, धनुषा, पर्सा, सर्लाही, बारालगायत विभिन्न जिल्लाबाट बालबालिका आउने गरेका छन् ।

भक्तपुरको ताथली, सुडाल, बागेश्वरी, दुवाकोट, झौखेल, सिपाडोल र चित्तपोल गाउँ विकास समितिका इँटाभट्टामा कार्यरत बालबालिकाले इँटा पार्ने, इँटा उठाउने, इँटा पल्टाउने, बालुवा ल्याउने, पानी ल्याउनेदेखि कोइला कुट्ने र खच्चर धपाउनेसमेत काम गर्दैआएका छन् ।

काममा नलगाएको व्यवसायीको दावी

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष विश्वराम कवांले भने इँटाभट्टामा बालबालिकालाई काममा नलगाएको दाबी गर्नुभयो । विगतका केही वर्षमा बालबालिकाले काम गर्ने भए पनि गत वर्षदेखि यसमा न्यूनीकरण आएको र यस वर्ष बालबालिकालाई काममा नलगाउन भट्टा सञ्चालकलाई निर्देशन दिएको बताउनुभयो ।

उनले भने—‘‘इँटाभट्टा सञ्चालकले बालबालिकालाई काममा लगाउँदैनन्, अभिभावकसँगै आएका बालबालिकालाई उनीहरुकै अभिभावकले काममा लगाउने हुन्, त्यो पनि नगर्न यस वर्षदेखि कडाइ गरेका छौँ ।’’ भट्टामा आउने बालबालिकाका लागि पढाउने व्यवस्था, शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याएको र स्वास्थ्य शिविरको व्यवस्था समेत गरेको उनले बताए ।

सरकारले १६ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाउने कानुन बनाए पनि त्यसको कार्यान्वयन नहुँदा बालबालिका जोखिममा पर्दैआएका बालविकास समाजका कार्यक्रम संयोजक युवराज रोक्काले बताए । इँटाभट्टामा काम गर्ने बालबालिकाका लागि केही वर्षयता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएपनि सबैमा यसको पहँुच नपुगेको उनको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us